अमेरिकामा डलरको रुख हुन्न हजुर .

इनेप्लिज २०७३ जेठ २८ गते १८:१४ मा प्रकाशित

SARGAM

सामाजिक मिडियामा केहि लेख्यो कि अमेरिका बसेर नेपालको बारेमा अनर्थमा बोलेको भनेर सत्ते श्राप गर्छन मान्छेहरु अचेल । तर आफू जन्मेको, खेलेको र झेलेको मेरो देशको बारेमा मैले लेख्न र देख्न किन नपाउने पनि कसरी हुन्थ्यो र ? त्यसैले झन लेखिरहन मन लाग्छ ।

हो ! अरब भासिऊन या अमेरिका , युरोप उडून या अष्ट्रेलिया धेरै मान्छेको विवशता हो , कोहि पनि बिना मजबुरी आफ्नो घर परिवार र माटो छोडेर बिदेशिदैन । हो , कसैले देशमा लुटेर बिदेशमा पैसा थुपार्छ भने म त्यसको प्रतिनिधित्व गर्दिन , जवाफ कसरी दिऊँ र ?

अमेरिकामा आईफोनको रुख़ नभएजस्तै हरियों डलरको पनि खेती हुदैन । टप टप डलर टिप्न पनि पाईदैन । अमेरिका बसेर कसैको कुरा काटेर डलर फल्दैन, यहाँ त पाखुरा बजाउनु पर्छ , मेहनत गर्नुपर्छ , रात या दिन भन्न पाईदैन । यहाँ नेताको चाकरी गरेर डलर फल्दैन, दादागिरी र डन गिरी गरेर डलर फल्दैन ।

बिदेश पलायन भएर राष्ट्रियता र आदर्शका कुरा गर्यो भन्नेलाई अलि रुखो जवाफ दिन मन लाग्यो : नेपालमा पनि जो मेहनतले काम गर्छन , तिनीहरुलाई कसैको आलोचना गर्न फ़ुर्सद छैन , जो सत्कर्ममा समाजसेवा गर्छन तिनीहरु पनि कसैको आलोचना गर्दैनन, आलोचना गर्ने त तिनीहरु हुन जो बेकामे र अल्छी छन , भ्रष्ट नेताका बल्छी छन र राज्यको नून खाएर कार्यालयमा हाई काढेर जनताको काम नगरी फेसबुक चलाउँदै अमेरिका युरोप र अष्ट्रेलिया बसेर फलानाले यति डलर छाप्यो होला भनेर डाहको आहालमा डुब्नेहरु हुन् र अरुको मेहनत देख्न नसक्ने बिषबृक्षहरु हुन् , किनकी बिदेशमा बस्नेहरु मेहनत गर्छन , टाट र भाटको राजनीति गर्दैनन् , सहिलाई सहि भन्छन् र गलतलाई गलत भन्छन् ।

अझ घरमा थालमा खाएर थालमै चुठेर चौतारोमा बसेर बिदेशमा बस्नेले आदर्शको कुरा गर्यो भनेर कुरा काट्नेलाई के थाहा अमेरिकाको हरियो डलर कमाउन ज्यान कति निलो बनाउनुपर्छ भन्ने कुरा ! अमेरिका त एउटा उदाहरण हो युरोप, अष्ट्रेलिया जापान कोरिया र अरब जता गए पनि पाखुरा बजार्नै पर्छ । हिजो अमेरिका छिरेर खुब आदर्शको कुरा गर्यो भन्नेहरु पनि रातदिन अमेरिकाको सपना देख्दा देख्दै सेताम्मे भएको पनि देखेकै हो ! तर ज्यान जहाँ भएपनि दिनरात मन नेपालमै बिछ्याउनेलाई मान्छेहरु किन सत्ते सराप गर्छन् कुन्नि ? बिदेशमा श्रम गर्नेले बेईमानीको मानो खादैनन् भन्ने चेत कहिले खुल्ने होला ? हामीले पठाएका गिफ़्ट चैँ प्यारा हुने हाम्रा बिचार चैँ किन दुत्कारेका होलान ?

अमेरिका/ युरोपमा कसैको भनसुन चल्दैन , कालोलाई सेतो बनाउन यहाँ फलामको च्युरा चपाउनु सरह हो तर नेपालमा मिल्ने काम गराउन पनि भनसुन चाहिन्छ , नमिल्ने काम पनि पहूँचवालाले सजिलै गर्छन । कर्मचारी भ्रष्ट छन् , कार्यकर्ता भ्रष्ट छन पत्रकार भ्रष्ट छन्, नेता महाभ्रष्ट छन् । त्यसैले ईमान भएकाहरु जता गए पनि लुटिन्छन् ठगिन्छन् अनि अमेरिका नभासिएर के गर्ने त ? सक्नेहरु युरोप, अष्ट्रेलिया र नसक्नेहरु खाडी नपसेर के गरून् ?

हामी कहाँ राजनीति गर्नेहरु ठूला घरानाका ब्यापारीहरु भन्दा धनी र सुकिलाहरु छन , कर्मचारीहरु अकुत सम्पत्तिका मालिक छन , ग़ैर सरकारी संस्थाका कर्मचारीहरु अघोषित ब्यापारी जस्ता छन, अनि दुर दराजका मान्छे चै उस्तै ग़रीब र बेरोज़गार ।

दिनमा आधा भन्दा बढि समय लोडशेडिंग हुन्छ, पानी , ग्याँसको हाहाकार , बन्द हड़ताल पार्टीको शान, बन्दमा आफ्नो हातमुख जोर्न काम गर्नेहरु नव एलिटका भिजिलान्ते घोषित हुन्छन् । बाटोघाटो अस्तब्यस्त छ , भनसुन बिना केहि नसुनिने अनि शिक्षित बेरोज़गारी , अनि देशमा काम नपाएपछि बिदेस नभासिएर के गर्ने ?

अमेरिका, युरोप र अष्ट्रेलियामा मात्र हैन नेपालीकै श्रमले बनेका अरबहरुमा समेत प्रबिधि छ , शुसासन छ , लोडशेडिंग हुदैन , सड़क कसैले छुदैन , त्यसैले अमेरिकनलाई कुनै देश भासिनु पर्दैन । वेलायत ,स्विट्ज़रलैंडका मान्छेहरु लाहुरे बन्दैनन् । हाम्रो देशमा कि त गफ गर्नेहरु छन् कि त गफलाई बिफल गराउन कस्सिनेहरु छन् ।

बिदेसिने अरबमा गएका हुन या अमेरिका गएका हुन सबैको कोमल मन हुन्छ , कसैले आफ्ना सारा बाल बच्चा , नातागोता र डाँडाकाँडा बोकेर बिदेसिदैन । ज्यान बिदेशमा भएपनि मन चाहिँ हरेक क्षण नेपालमै हुन्छ । परदेशीलाई देश दुखिरहन्छ तर देशको बोझ भएर देशभित्रै बस्दैमा हरर हुदैन, लेख्नेहरुले बिदेशबाटै लेखे हुन्छ , दुख देख्नेहरुले बिदेशबाटै देखे हुन्छ । लेखेकै छन , देखेकै छन । नेपालका भ्रष्टहरुले आफ्नै भकारी भरिरहेको बेला बिदेशमा श्रम हाड़ छाला घोटेर श्रम गर्नेहरुको बलले धुर्मुस सुन्तलीहरुले पुरै बस्ती बनाँउदै छन्, भुईचालो, बाढी, पहिरो जस्ता बिपत्तीमा परदेशीहरुले दिल खोलेरै सहयोग गरेकै छन् । देशका धनाढ़्यहरु त अक्तियारलाई धरौटी राख्ने रकम जुटाउन मात्र जानेका छन् ।

बिदेसकै रेमिट्यान्सले अर्थतन्त्र अडाएको छ , बिदेशकै रेमिट्यान्सले जनताको चुल्हो बलेको छ , सरकारहरु निकम्मा प्राय : छन , अनि युवाहरु देशमै बसेर टायर बालेर भ्रष्टहरुलाई धुरी चढाउन ठिक कि परदेश भासिन ठिक ?

हो आफ्नो प्यारो देश छाडेर अरुको लागि पसिना बगाउनु पटक्कै राम्रो होईन तर अफ़सोस पचास लाख बेरोज़गार थेग्ने देशमा क्षमता छैन, अनि राजनीतिक कार्यकर्ताको हनुमान बनेर कताबाट लुट्न , धुत्न पाईन्छ भनेर पुच्छर बनेको ठिक कि अमेरिका युरोप तथा अरब भासिएको ठिक ?

बिदेशिएका नब्बे प्रतिशत भन्दा बढि मान्छेले शारीरिक श्रम गर्छन , मज़दूरको जस्तो जिन्दगी हुन्छ उनीहरुको , काम गर्यो पैसा हुन्छ गरेन हुदैन तर पनि परोपकार गरेकै छन् , यहाँ कसैलाई कसैको कुरा काट्ने फ़ुर्सद हुदैन , बर्षमा एक दुई दिन सार्वजनिक रुपमा भेला हुन्छन, रमाईलो भन्दा बढि फोटो शेसन गर्छन । फेसबुक , ट्विटर र ईन्स्ट्राग्राममा पोष्ट गर्छन ।

यत्ति गरेपछि नेपालमा एउटा कुरा भाईरल हुन्छ : बिदेशमा मोज गरेको छ यार फलानाले ! तर आफन्तको माया नपाएर बिरक्तिएको बेलाको फोटो कसले पोष्ट गर्छ र ? कसले भिजेको सिरानी अंगालो हालेर फोटो पोष्ट गर्छ र ? चाडबाडमा मन अमिलो पारी पारी काममा गएको देख्ने को हुन्छ र ?

बिदेशमा त आईफ़ोन र डलरको पनि रुखै हुन्छ भन्छन् मान्छेहरु । नेपालमा करोडौको पुर्ख्यौली जग्गा हुनेहरु, सानदार गाडी चंढ्नेहरुले पनि बिदेशमा मरिमरि कमाएर बैंकमा राखेको दुई चार लाख पनि सित्तैमा चलाउन खोज्छन, बिचरा जसको एउटा ओत लगाउने घर नभएर जहान केटा केटी भाडामा बस्छन् ! बिदेश बसेको भनेपछि जग्गा दलालले ठग्ने, बैंकले ठग्ने, ब्यापारीले ठग्ने, आफन्तले ठग्ने, अझ कोशेली नपाएको झोकमा ठुस्स पर्ने सबैको बारेमा त के लेख्नु र खोई ? ल्यापटप र आईफोनको भन्दा सानो माग हुँदैन माग्नेहरुको तर यहाँ हरियों डलरको खेती कतै भेटिएन । सबैलाई त चकलेट सम्म त पुर्याउन सकिदैन ल्यापटप, आईफ़ोन कुन खानीबाट निकाल्नु !

यसो भन्दैमा नेपाल भन्दा अमेरिका, अष्ट्रेलिया, युरोप ठिक भन्ने भान पर्ला तर देशले युवा थेग्न नसक्ने, कर्मचारी र नेताले केहि गर्न नसक्ने भएपछि मान्छेहरु बिदेश नभाँसिएर के गर्नु र ? देश बनाउने कर्मचारीले हो, राजनीतिज्ञले हो तर तिनीहरु आफै कि त घुसखोरी कालाबाज़ारी कि त रक्सी बियर कि त डि. भी. पि. आर. मा छन् ।

फेरि बिदेशिने युवाहरु देश लुटेर बिदेशिएका होईनन् दुखेर बिदेशिएका हुन भन्ने कुरा कहिले बुझ्ने होलान् मान्छेहरु…? बरु देश बनाउन बिदेशबाटै भए पनि लेख्न सक्नेले लेख्दै गरौँ, देख्न सक्नेले सहयोग गरौ, देशमा बस्नेले रेमिट्यांसको सदुपयोग गरौँ, पेशा ब्यवसाय गरौँ, राम्रा मान्छेले राजनीति गरौँ । बरु बिदेशमा बस्नेले नेपालमा डन र गुन्डा नपालौँ, भ्रष्ट नेताको सपोर्ट मात्रै गरेर ईज्जत नफालौँ । देश समृद्द भएपछि कोहि पनि बिदेश जाँदैन, बस्दैन । अमेरिकनहरु अरु देशमा बसाई सरेको देख्नु भएको छ र ? बरु देशलाई अमेरिका बनाउन पो के गर्ने हो भनेर सोच्ने कि बिदेशिएका लाई सत्ते श्राप गर्ने ?

प्रतिक्रिया