आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १२:४१
वासिङटन डिसी 02:56

बजेट पारित भएसँगै राष्ट्रिय सहमतिले मूर्त रुप लिन्छ : पुष्पकमल दाहाल

इनेप्लिज २०७३ जेठ २४ गते १७:३८ मा प्रकाशित

Prachanda1

पोखरा, २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारितसँगै राष्ट्रिय सहमतिले मूर्त रुप लिने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, विद्यमान समस्याको समाधान, पुनःनिर्माण आदिका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभयो ।

राष्ट्रिय सहमतिमा नै आफूले जोड दिँदै आएको चर्चा गर्दै अध्यक्ष दाहालले नेकपा (एमाले)सँग पनि नीति तथा कार्यक्रम र बजेट पारित भएपछि राष्ट्रिय सहमतिको सरकार बनाउने कुरामा सहमति भएको बताउनुभयो ।

नौ बुँदे सहमति भएको सबैलाई थाहा भए पनि त्यसभित्र सरकार परिवर्तनको विषय रहेको कुरा पनि अहिले चर्चाको विषय बनेको उल्लेख गर्दै उहाँले भद्र सहमतिको कार्यान्वयन एकापसको समझदारीका आधारमा हुने बताउनुभयो ।

‘जेन्टलमेन्ट एग्रिमेन्ट जेन्टलमेन’हरुबीच हुने उल्लेख गर्दै उहाँले भन्नुभयो – “जेन्टलमेन्ट एग्रिमेन्ट सम्बन्धमा म जेन्टलमेन नै छु, केपीजी पनि जेन्टलमेन नै रहनुहुन्छ भन्ने मेरो विश्वास हो ।”

आफूलाई बहुमतीय प्रधानमन्त्री बन्ने हतारो नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सहमति जसका नाममा जुट्छ उसैले सरकारको नेतृत्व गर्ने धारणा राख्नुभयो ।

संविधानको कार्यान्वयन चुनौतीपूर्ण रहेको र मधेस आन्दोलनलगायतका समस्याको समाधानका लागि राष्ट्रिय सहमतिको विकल्प नभएको बताउनुभयो ।

माओवादी पार्टीबीचको एकतासँगै पार्टी अझै सशक्त भएर जाने बताउँदै उहाँले अन्य नेता तथा दलबीच पनि एकता गर्दै पार्टीलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो ।

“विगतमा पनि आफूले राष्ट्रिय सहमति र एकताका लागि जोड दिँदै आएको छु”, उहाँले भन्नुभयो – “दलहरुबीच समझदारी भएमा जसले नेतृत्व गरे पनि त्यसमा हामी तयार छौँ ।”

प्रेस सेन्टर नेपाल कास्कीका संयोजक दीपक परियारको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

प्रतिक्रिया