” अमेरिकामा नेपालका राजनैतिक दलका भातृसंगठन र सामाजिक संघ संस्थाहरुको विश्वासनियता र हैसियत कति छ ?”

इनेप्लिज २०७३ जेठ ११ गते ३:२४ मा प्रकाशित
prakash
अमेरिका विश्व जगतले विशेष चासोको रुपमा हेर्ने मुलुक हो । यो छोटो समयमै विकासको फड्को मारेको मुलुक र अन्तर्राष्ट्रिय सामाजिक, आर्थिक संस्थाहरुको प्रमुख मुख्यालय रहेको मुलुक पनि हो । यो ईतिहासका विभिन्न कालखण्डमा आफ्नो आणविक शक्ती प्रदर्शन गरि विश्वमै शक्तीशाली बनेको पुष्टी गर्न खोजेको मुलुक पनि हो । हुनत अहिले एशियाली मुलुक चीन र जापान पनि आर्थिक र आणविक क्षेत्रमा शक्तीसम्पन्न मुलुकमा गणना गरिन्छ तथापी अमेरिका प्रति विश्व जगतले हेर्दा अन्य मुलुक भन्दा शक्तिशाली र विश्वलाई आकर्षित पार्न सक्ने मुलुककै रुपमा हेर्ने गरिन्छ ।
वास्तवमा अमेरिकामा अन्य विकसित मुलुक र विकासोन्मुख वा अल्प विकसित मुलुकका नागरिकहरुको आकर्षक थलो समेत बनेको छ जसको फलस्वरूप विभिन्न मुलुकका नागरिकहरु अमेरिकामा आएर आफ्नो जीवनयापन गरिरहेका छन् । यसैले अहिले अमेरिका बहुभाषी, बहुसांस्कृतिक, बहुजातिय, बहुधार्मिक, बहुरितिरिवाजयुक्त मुलुकको रुपमा विकसित भएको छ । संसारका विभिन्न मुलुकका मानिसहरुलाई यस मुलुकमा भेट्न सकिन्छ ।
यसरी विभिन्न मुलुकका भिन्न संस्कार, भाषा, धर्म, परम्परा, रितिरिवाज, मुल्य, मान्यता, सोच, दृष्टिकोण भएका व्यक्तीहरु मिलेर बनेको अमेरिकामा कुनै किसिमको जातिय, धार्मिक, सांस्कृतिक, भाषागत कुरालाई आधार बनाएर आपसमा  वादविवाद र आन्दोलन चर्काएको पाईदैन । अमेरिकी पुराना रैथानेहरुले समेत नवआगन्तुकहरुलाई नराम्रो नजरले हेर्ने र अपाच्य व्यवहार गरेको पाईदैन बरु नयाँ आउनेहरुलाई पनि सम्मानजनक व्यवहार गरेको पाईन्छ । राजनितीको नाममा जनताहरु आपसमा लडेको, वादविवाद र लफडा मच्चाएको कहिकतै छरपस्ट देखिदैन, सुनिदैन । भद्र तरिकाले राजनिती गर्नेहरुले आफ्नो विचार र अभिमतलाई जनता सामु राखेको पाईन्छ ।
नेपालमा जस्तो अमेरिकामा कित्ताकाटको राजनिती गरेको पाईदैन तर बिडम्वना मान्नु पर्छ की नेपालबाट आएर बर्षौ देखि बसेका नेपालीहरु भने नेपालको विभिन्न राजनैतिक दलको भातृसंगठनको नाममा विभिन्न नामका सम्पर्क समितीहरु खोलेर नेपालकै पारामा राजनितिक गतिविधी सम्पन्न गर्न अग्रसर छन् ।
 एक त अमेरिकाको कानुन अनुसार विदेशी राजनितिक पार्टीका गतिविधी संचालन गर्न कानुनीरुपमा पाईदैन, अर्को कुरा नेपाली राजनितीक गतिविधी सात समुन्द्रपारी संचालन गरेर कुनै अर्थ पनि छैन । नेपालबाट नेताहरु बोलाएर बेफुर्सदी नेपाली समुदायका व्यक्तीहरु भेला गराएर बेतुकका राजनितिक गफहरु गरेर केही उपलब्धी देखिदैन । नेपाली समुदायको हित गर्ने नाममै भनेर खोलिएका यस्ता राजनैतिक दलका घोषित-अघोषित विभिन्न नामका सम्पर्क समिती जस्तै-नेपाली जनसम्पर्क समिती, प्रवासी नेपाली मंच, प्रवासी नेपाली एकता समाज आदीले अमेरिकामा रहेका नेपाली समुदायको हितमा खासै काम गरेको पाईदैन तर नेपाली राजनितीको वकालत गरेर आपसमा “पावर सो” गर्ने वादविवाद र छेडछाड गर्ने, आफ्नो रवाफ देखाउन खोज्ने , गैरआवासिय नेपाली संघ(NRN)मा आफ्नो गुटउपगुट खडा गरेर आफ्नो बर्चस्व कायम गर्न विभिन्न प्रोपोकाण्डा मच्चाउने लगायतका काममा सरिक हुने गरेको पाईन्छ ।
एकाध काम अमेरिकन नेपाली समुदायलाई हित हुने गरेपनि अधिकांश काम नेपालको राजनितीक दलको झण्डा मुनि रहेर आपसमा गुटवन्दी गर्ने, एकले अर्कोलाई होच्याउने, आफ्नै संगठन भित्र आपसमा अनावस्यक वैचारिक आधारहिन तरिकाले भिडन्त गर्ने साथै अन्य संगठनसँग पनि विना आधार र विना तर्कयुक्त भिडन्त गर्न खोज्ने, एकले अर्काको जरै ध्वस्त पार्ने गरि व्यवहार प्रदर्शित गर्ने काममा लागेको देखिन्छ । यसै प्रसंगमा यही ” मे २२ तारिक” का दिन न्युयोर्कमा सम्पन्न भएको ” नेपाल डे परेड” मा समेत आपसी विवाद रहेको र उक्त कार्यक्रमलाई समर्थन र असमर्थनका सम्बन्धमा प्रकट गरिएका वक्तव्यहरु समेत मिडियामा आएका थिए ।
वास्तवमा नेपाली समुदायको पहिचान र अस्तित्वलाई विश्वसामु जानकारी गराउने कार्यक्रममा समेत राजनैतिक रंगलाई आधार बनाई असहयोग गर्ने घोषणा कार्यक्रम आयोजना हुनु भन्दा दुई दिन पहिला गर्नुलाई समेत राजनैतिक अपरिपक्कताको पराकाष्ट मान्न सकिन्छ । यसैले सबै क्षेत्रमा नेपाली राजनितीको घिनलाग्दा गतिविधीको शिकार अमेरिका लगायत विभिन्न देशमा रहेका नेपाली समुदाय हुनु हुँदैन तर अझै सम्म हामी नेपाली विदेशमा जतिसुकै नयाँ कुरा देखेर, भोगेर अगाडी बढे पनि नेपाली राजनितिक दलहरुको अन्धभक्त बनेर आपसमा दोषारोपण गरेर चाहिदो-नचाहिदो विवाद गरिरहेका छौ र नेपालमा बस्नेहरु समेत आपसमा भिडुन भनेर सामाजिक संजाल र मिडियामा विभिन्न उत्तेजित भ्रमहरु छरेर बलेको आगोमा घ्यु थप्ने काम गरिरहेकाछौ । त्यस्तो काम किमार्थ उचित हुन सक्दैन ।
        आज बौद्धिक जगत अमेरिका, बेलायत, क्यानडा,  अस्ट्रेलिया लगायत विकसित देशहरुमा सदाको लागी स्थायीरुपमा पलायन हुने क्रम दिन प्रतिदिन बढिरहेको छ । हामीले शुक्ष्मरुपमा अध्ययन गरेऊ भने पत्ता लाग्ने छ अमेरिकामा मात्र सबै क्षेत्रका दिग्गज व्यक्तीहरु सधैका लागी अमेरिकन सिटिजनसिप लिएर बस्नेहरु र बस्न मुठ्ठी कस्नेहरुको संख्या अत्याधिक छ । नेपालमा नगण्यरुपमा फर्कने कुनै जमनाका चर्चित सेलिब्रेटीहरु कतिपयको कागजात नबनेर फर्केका छन् र कतिपय सिटिजनसिप लिएर अमेरिकामा वेनाम भएर हराएको महशुष गरि नाम कमाउन नेपाल गएका छन् तर आउने जाने गरिरहेकै छन् । यस्ता सेलिव्रेटीहरुले सामान्य व्यक्तीहरुको। आँखामा छारो हाल्न भने पछि परेका छैनन् किनकी उनीहरु कहिल्य पनि भन्दैनन् कि कागजात नबनेर फर्केको हो । त्यसको बिपरित उनीहरु त देशको माया र दर्शक-श्रोताहरुलाई भुल्न नसकेर फर्केको हो भन्ने एकोहोरो रटान रटेको पाईन्छ ।
त्यस्तै केही अमेरिकामा सरकारी उच्च पदमा काम गरेका व्यक्तीहरु सांसद, मन्त्रीहरुको अफर पाएरनै नेपाल गएका थिए र नेपाल गएर ब्रहम्मलुट पनि गरे भन्ने पनि गरिएको छ । उनीहरु पनि भन्ने बेलामा भन्नछन् की देशकै माया अत्यान्तै लागेर नेपाल फर्केको भनेर । तिनीहरु मात्र हैन सफेद झुट अमेरिकामा बसेर नेपाली राजनिती गर्ने विभिन्न नामका नेताहरु, पात्रहरु पनि बोलिरहेका हुन्छन् की हामी नेपालको मायाले ओतप्रोत भएर राजनितीमा लागेको हौ । तर यस्तो राजनिती गर्नेहरु अधिकांश अमेरिकन सिटिजनसिप लिएर घरगृहस्तीको बन्दोबस्त गरेर व्यवसाय, विभिन्न पेशामा संलग्न रहेर तीन पुस्ता पुग्ने गरि सम्पती थुपारेर बसेका व्यक्तीहरु हुन्छन् । सामान्य घण्टा हान्ने काम गर्ने व्यक्तीहरुलाई त्यस्तो राजनितीमा लाग्ने फुर्सदनै छैन । तरपनि एकाध व्यक्तीहरु तिनै हुनेखाने वर्गहरुले समालेको राजनितीक कर्मकाण्डमा फसेका पनि छन् र कतिपय पढेलेखेका व्यक्तीहरुलाई पनि आवस्यक पर्दा राजनितिक कारिन्दा बनाउन आफ्नो बसमा पारेर राजनितिक झोला बोक्ने बनाएका छन् ।
 यसरी हेर्दा अमेरिकामा राजनिती गर्ने मुख्य ध्येय भनेको नेपालमा जाँदा नेताहरुलाई आफ्नो प्रभावमा पार्नु र नेपालमा सरकारी तवरबाट लिन सकिने फाईदा लिन सजिलो माध्यम बनाउनु नै हो तत्कालको लागी तर भोलीका दिनमा राजनैतिक अधिकार सहितको नेपाली परिचयपत्र वा सिटिजनसिप पाएमा र मेसो मिलेमा राजनैतिक नियुक्ती लिन एवं सांसद, मन्त्री बन्न समेत बाटो बनाई राखेको मात्र हो भन्दा कुनै फरक पर्दैन । अर्को तर्फ नेपालमा रहेका राजनैतिक दलहरुलाई भने यसरी विदेशमा भातृसंगठन विस्तार गर्नुमा फाईदानै छ किनकी समय समयमा तिनीहरुलाई आवस्यक पर्दा आर्थिक सहयोग जुटाउन सजिलो हुने गर्दछ ।
अझै चुनावको समयमा सबैभन्दा राम्रो सहयोग विदेशबाटै उठाउन सकिने ती दलहरुको दावी पनि रहेको छ । त्यसमा पनि अमेरिकामा रहेका भातृसंगठनलाई दाँजेर हेर्ने हो भने यिनीहरुले भरपुररुपमा राजनैतिक दललाई आर्थिक सहयोग समय समयमा गर्छन् । विगतको संविधान सभाको चुनावमा सबैभन्दा बढी सहयोग एमालेले अमेरिकाबाटै उठाएको बताईएको थियो त्यस्तै कांग्रेस र राप्रपा नेपालले समेत ठुलो धनरासी उठाएर चुनावमा पठाएको सुन्नमा आएको थियो । यसले गर्दा पनि राजनैतिक दलहरु अमेरिका लगायत विभिन्न देशहरु जहाँ नेपालीहरुको बाहुल्यता छ त्यहाँ यस्ता सम्पर्क समिती वा विभिन्न नामबाट भातृसंगठन गठन गर्ने गरेको पाईन्छ । साथै ती दलहरुले केही सकृय पार्न र पदिय हैसियत छ भन्ने देखाउन राजनैतिक संगठनको जिम्मेवारी तोकेर पदहरु दिने महाधिवेशन लगायतका कार्यक्रममा सहभागी हुन बोलाउने गरेको पनि पाईन्छ ।
त्यस्तै नेताहरुलाई समेत विदेशयात्रा गर्दा सहजरुपमा बस्ने, खाने, घुम्ने देखि विविध कुरामा सहज पनि हुने कारण पनि ती देशका सम्बन्धित भातृसंगठनका उच्च पदमा आसिनहरु सँग व्यक्तीगत संचार सम्बन्ध पनि बेला बेलामा राखेको पाईन्छ । अत: समग्रमा नेपाली राजनितीको प्रभाव अमेरिका लगायत विभिन्न देशहरुमा परेको छ । तर यस्तो प्रभावले नेपाली समुदायको हितमा काम हुने वातावरण सृजना हुनु आवस्यक छ । आपसमा नेपालीहरुका विचमा दरार पैदा गर्ने किसिमका भातृसंगठन विदेशहरुमा खुलेर कुनै उपलव्धी सर्वसाधरणका लागी हुन सक्दैन । त्यस्तै विदेशमा खुलेका विभिन्न सामाजिक संघ संस्थाहरु समेत साँचोरुपमा नेपाली समुदायको हितमा लक्ष्यीत हुनु पर्छ तर विडम्वना केही औलामा गन्न मिल्ने संस्थाहरु बाहेक अधिकांश कमाउ खेतीको लागी खोलिएकोझै देखिन्छ ।
अमेरिकाको सन्दर्भमा भन्नुपर्दा अमेरिकामा थुप्रै सामाजिक संघ संस्था विभिन्न नामबाट खुलेर संचालित छन् तर तिनले त्यति धेरै उल्लेखनिय काम गरेर नेपाली समुदायलाई सहयोग गरेको देखिदैन तर केही संस्थाहरुले भने नेपाली समुदाय र नेपालमा समेत विभिन्न सामाजिक क्षेत्रलाई हित हुने गरि काम गरेको पाईन्छ । कतिपय संस्था त नेपालबाट विभिन्न बहानामा व्यक्तीहरु ओसार्न र कमाउ खेतीका लागी पनि केही चल्ता फुर्ता व्यक्तीहरुको नेतृत्वमा खोलेर संचालित भएका पनि छन् भन्ने सुन्नमा पाईन्छ । विभिन्न व्यापारिक प्रदर्शनी, सांगेतिक कार्यक्रम र सेमिनार एवं गोष्टीहरुको नाममा विभिन्न व्यक्तीहरु बोलाउने र तिनीहरुबाट निश्चितरुपमा पैसा अशुल्ने काम गर्ने कुरा पनि त्यति नौलो भने होईन । त्यसरी लाखौ पैसा तिरेर आएकाहरु यतै बसेर पैसा कमाउन खोज्नु नाजायज पनि हैन, लगानी गरेपछि अवस्य प्रतिफल पनि खोज्नु पर्यो ।
त्यसैले यस्ता अधिकांश संस्थाहरु केही व्यक्तीको फाईदाको लागी खोलिएका छन् । न त तिनीहरुको आर्थिक पारदर्शिता छ न त सामाजिक लेखा परिक्षण गर्ने चलननै चलाएका छन् । कुनै निश्चित कार्यक्रम मानौकी विशेष पर्वमा सांगेतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रममा टिकट विक्री गरेर व्यक्तीहरुलाई निश्चित स्थानमा भेला गरि सम्पन्न गर्ने, विभिन्न कार्यक्रमको नाममा चन्दा उठाउने तर के कति कसरी खर्च भयो कसैलाई सार्वजनिकरुपमा थाहाँ नदिने प्रवृती अधिकांश सामाजिक संस्थाहरुको कार्यशैलीनै बनेको छ । जसका कारण विस्तारै यस्ता सामाजिक संस्थाहरु प्रति सामान्य नेपालीहरुको विश्वास र आस्था समेत घट्दै गएको पाईन्छ । यसैले यस्ता संस्थाहरुमा आवद्ध व्यक्रीहरुले नेपाली समुदाय प्रति उत्तरदायी बनेर काम गर्नुपर्ने देखिन्छ ।
 कुनै आर्थिक प्रलोभनमा काम गर्नेहरु यस्ता सामाजिक संस्थाहरुमा आवद्ध नहुँदानै राम्रो हुन्छ किनकी सामाजिक सेवा भनेकै विना आर्थिक प्रलोभनमा गरिने निस्वार्थ भावको सेवा हो । यस्ता विभिन्न सामाजिक संस्थाहरुको समन्वयात्मक कार्य एकता पनि एकै स्थानहरुमा क्रियाशिल हुँदा समेत देखिदैन । कार्यक्षेत्र र लक्ष्यीत वर्ग समान भएपछि कार्यक्रम आयोजना गर्दा समेत आपसी समन्वयबाट गर्दानै उपयुक्त देखिन्छ तर यसो हुनसकेको देखिदैन । यसमा पनि सामाजिक संस्था संचालकहरुले ध्यान दिनु जरुरी छ ।
बाल्टिमोर, अमेरिका

प्रतिक्रिया