जापानवासी नेपालीको ‘धन्यवाद जापान र नेपाल भ्रमणको निम्तो’

इनेप्लिज २०७३ जेठ ८ गते १३:४८ मा प्रकाशित

japan

टोकियो(जापान), ७ जेठ । गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्पपीडितलाई सहयोग गर्ने जापान सरकार र नागरिककोे सम्मानको अवसरमा जापानवासी नेपालीले ‘धन्यवाद जापान’ र ‘नेपाल भ्रमणमा तपाईलाई निम्तो’ नामक ३० हजार पोस्टकार्ड एकैपटक जापानका ५० स्थानबाट वितरण गर्ने भएका छन् ।

नेपाली राजदूतावास, पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घसहित जापानवासी नेपालीको संयुक्त आयोजनामा यही जेठ अर्थात मे २९ आइतबार जापानभर ‘धन्यवाद जापान’ र ‘नेपाल भ्रमणको निम्तो’ दिने कार्यक्रम गरिने भएको हो ।

जापान सरकार र नागरिकले गरेको सहयोगको सम्मानका लागि जापानभर भएका करिब ६० हजार नेपालीले आइतबार ३ बजेदेखि ४ बजेको समयमा शिर झुकाएर धन्यावाद जापान भन्दै ‘आरिगातोउ निहोन’ कार्ड वितरण गरिने कार्यक्रम रहेको छ । कार्यबाहक नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले भन्नुभयो, “एक÷पटक नेपाल हेर्न जानोस् भन्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।”

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष्ँ सुदन थापाले भोलिका दिनमा पर्नसक्ने समस्यामा सहयोगको अपेक्षासहित जापान सरकार र नागरिकको सम्मानमा धन्यावाद जापान र नेपाल भ्रमणको निम्तो दिँदै नेपालीमा समेत जिम्मेवारी बोध हुने बताउनुभयो ।

अबको ९ दिनपछि गरिने ‘धन्यवाद जापान’ नाम कार्डमा अधिकांशले अनुमान गरेभन्दा फरकशैलीको मनास्लु हिमाल अङ्कित छ । सबै कार्डमा ‘नेपाल भ्रमणमा तपाईको स्वागतमा नेपाली कुरिराखेका छन्’ लेखिएको छ ।

नेपाल जापान सम्बन्धको ६० औँ वर्ष पुगेको अवस्थालाई मध्यनजर गर्दै सर्वोच्च शिखर सगरमाथाको नभएर मनास्लु हिमालको तस्बिर राखिएको हो । कार्यबाहक राजदूत भण्डारीले अन्नपूर्ण र सगरमाथा नभई आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालले धेरै जापानी नागरिक लालायित भएकाले मनास्लु राखिएको बताउनुभयो ।

धन्यावाद जापान लेखिएका ५० ठूला ब्यानर ५० स्थानका लागि पठाइसकिएको छ । मे २९ पछि जापान सरकार तथा नागरिकले भूकम्पपछि आफ्नै परिवारका सदस्य सहर सम्झेर पीडितका लागि प्राप्त सहयोगले हरेक नेपालीको मनमा जापान सरकार र जापानी नागरिक रहेछौँं भन्ने सन्देश बुझ्ने छन् ।

टोकियोको सिबुया, सिन्जुकु, इकेबुकुरोसहित फुकुओका, ओकिनावा, होक्काइदो लगायतका स्थानमा ठूला ब्यानरसहित धन्यावाद ज्ञापन र निमन्त्रणा कार्ड वितरण तथा नेपालको वर्तमान अवस्थाबारे जानकारी गराईनेछ ।

यसअघि वैशाख १२ गते अर्थात् अप्रिल २५ तारिककै दिन तयगरिएको कार्यक्रम जापानको दक्षिण–पश्चिम क्षेत्र अन्तर्गतको कुमामोतोमा गएको शक्तिशाली भूकम्पका कारण स्थगित गरिएको थियो । कुमामोतो क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट प्रभावित नेपालीलाई समुदायले पनि खाना तथा पानीको वितरण गरेका थिए । रासस

प्रतिक्रिया