आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १७:१९
वासिङटन डिसी 07:34

जनसम्पर्क समिती अमेरिकाका साथीहरु गोत्र हँसाउने काम नगर -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ जेठ ८ गते ३:२० मा प्रकाशित

prakash

देश वा प्रदेश जहाँ जस्तो अवस्थामा रहे पनि सबैको कुनै न कुनै तवरबाट राजनैतिक आस्था भैनै हाल्छ चाहे सकृयरुपमा होस् वा निस्कृयरुपमा समर्थन मात्रै किन नहोस् । तसर्थ अराजनितीक प्राणी भएर हामी जस्ता नेपालीहरु बाँच्नै सक्दैनौ किनकी हाम्रो रौ-रौ र नशा-नशामा राजनिती तरंगित भएकै हुन्छ । “आई हेट पोल्टिक्स”,”पोल्टिक्स ईज अ डर्टी गेम” भनेर कसैले भन्छ भने पनि उसमा केही न केही राजनितीले नछोईकन त्यसो भन्ने आँट गरेको हुँदैन अर्थात् उ राजनितीको बारेमा जानकार हुन्छ तर राजनितिज्ञहरुको व्यवहार देखेर असन्तुष्ट छ भन्ने अभिव्यक्ती मात्र हो । यसरी सामान्य तवरबाट हेर्ने हो भने पनि जो कोही नेपालीहरु कुनै न कुनै रुपमा राजनितीक एटाच्मेन्ट भएकै हुन्छन्, मात्र फरक व्यक्त वा अव्यक्तरुपमा मात्रै प्रस्तुत हुने हो । आजको प्रसंग प्रवासमा देखिने राजनिती सँग रहेको छ त्यसमा पनि नेपाली काँग्रेसको प्रवासमा रहेको भातृसंगठनको रुपमा रहेको ” नेपाली जनसम्पर्क समिती अमेरिका” सँग सम्बन्धित रहेको छ ।

जसरी नेपालमा नेपाली काँग्रेस पार्टी भित्र गुटवन्दीको राजनितीले काँग्रेसलाई तहसनहस बनाई रहेको छ त्यसै गरि विदेशमा समेत त्यसको भातृसंगठनहरुमा गुट, उपगुटको प्रभाव रहेको छ । त्यसको ज्वालन्त उदाहरण अमेरिकामा विगत देखि नै “नेपाली जनसम्पर्क समिती अमेरिका” मा देखिदै आएको विवाद र विवादले बाहिरीरुपमा देखिएको लज्जासपद व्यवहार हो । जनसम्पर्क समितीको मुल समिती देखि विभिन्न राज्यका च्याप्टर समितीहरुमा समेत आपसमा मतमतान्तरहरु बाहिरी रुपमानै छताछुल्ल हुनु, आपसमा पानी बारबारको स्थिती देखिनु अत्यान्त अशोभनिय देखिएको जो कोहीले महशुष गर्न सक्छ ।
पुरानै विवादहरुलाई साम्य पार्ने उद्देश्यका साथ सम्पन्न अधिवेशनबाट निर्वाचित भएको आनन्द विस्टको नेतृत्वको समितीले पनि सबैलाई मिलाएर लैजानुको सट्टा नेपालका आफु निकटका नेताहरुलाई खुशी पार्ने काममै यतिका समय व्यतित गरेको देखिन्छ । अहिले सम्म एकदमै तारिफ गर्नु पर्ने उल्लेखनिय काम गरेको केही पाईएन बरु नेपालबाट नेताहरु आउँदा खाँदाको भारीनै बोकेर एरपोर्टमा जाने, कोठे अन्तरकृया गर्ने, विभिन्न ठाउँहरुमा घुमाएर जाने बेलामा खुशी पार्न विभिन्न उपहार साथमा दिएर पठाउने काम बढि देखियो । अझै काँगेसको केन्द्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधीहरु छान्दा समेत महाभारत देखाईयो त्यस्तै समितीको अध्यक्षले समितीका केही पदाधिकारी र सदस्यहरुलाई निलम्बन गर्ने र समितीका केही पदाधिकारी र सदस्यहरु मिलेर अध्यक्ष र केही पदाधिकारी र सदस्यहरुलाईनै निलम्बन गर्ने क्रम पनि चल्यो ।

त्यसपछि केही समय पहिला महामन्त्री डा. सशांक कोईराला आएर टुटफुट नभएको एकजुट भएको घोषणा गरिदिए र केही समय मिले जस्तो पनि गरे तर फुटेको घैटोलाई टालटुल पारेको लेपन लामो समय टिक्न सकेन पुन: घैटो फुटेर पानी छताछुल्ल हुन थाल्यो जसको फलस्वरूप सतहमै त्यसको परिणाम देखिन थाल्यो । जसको पछिल्लो घटना यही आउँदो MAY 22 तारिकका दिन न्युयोर्कको म्यानहाटनमा आयोजन हुँदै गरेको “नेपाल डे परेड” मा “जनसम्पर्क समिती अमेरिका “आयोजकको रुपमा सहभागित जनाउने सन्दर्भमा अध्यक्ष आनन्द विष्ट र वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह के.सी. विचमा मतएेक्यता देखिएन ।

अध्यक्षले नेपाल डे परेडलाई भव्यताका साथ सहभागी हुन सबैलाई आव्हान गरिरहेको अवस्थामा अर्को तर्फ वरिष्ठ उपाध्यक्ष के.सी. ले भने उक्त कार्यक्रममा आधिकारिक रुपमा सहभागी हुने कुनै निर्णय समितीमा नभएकोले जनसम्पर्क समितीले संस्थागतरुपमा नेपाली काँग्रस केन्द्रिय समितीको अाधिकारिक निर्देशन नभएसम्म सहभागिता नजनाउने भन्दै विज्ञप्ति समेत जारी गरेका छन् । नेपाल परेड डे मा के कति कारणले सहभागी हुन नहुने हो र कसरी माउ पार्टी काँग्रेसको छवीमा धुमिल पार्ने हो त्यसबारे स्पस्ट पारिएको भने छैन अर्को तर्फ अध्यक्षबाट जारी विज्ञप्तिमा नेपाली भेषभुषा, कला, संस्कृतीको प्रवर्धन गरि विश्वसमुदाय समक्ष नेपाललाई चिनाउने पवित्र उद्देश्य प्राप्तीका लागी आयोजना गरिएको नेपाल परेड डे मा सबै नेपालीहरुको सहभागिताको लागी अनुरोध गरेको आफुहरु आयोजकहरु मध्येको महत्वपुर्ण हिस्सा रहेको समेत व्यक्त गरिरहेका छन् ।

यसरी एउटा जिम्मेवार पोस्टमा बसेकोले आधिकारिकरुपमा सहभागी हुने भन्छ, अर्को जिम्मेवार पोस्टमै बसेकोले आधिकारिकरुपमा सहभागी नहुने भन्छ । यसकिसिमको विवादास्पद कुराहरु मिडियामा समेत आएकोले यसमा सर्वसाधारणहरु अन्यौल र आश्चर्यचकित बनिरहेका छन् । तसर्थ यो रमिते बनेर दुनियाँ गोत्र हसाउँने काम नगरि सबैको चासो र सबैको हितको लागी भनि आयोजना गरिएको ” नेपाल डे परेड ” मा सहभागिता जनाउ । यसमा कुनै राजनैतिक नाफा घाटाले नहेरौ, कसले पहिला यो “नेपाल डे परेड” को अवधारणा ल्याएर कार्यक्रम गर्ने सोच बन्यो र कार्यक्रम तय गरियो भन्ने कुरा गौण कुरा हो, मुख्य कुरा नेपाली समुदायको हित हुने कार्यक्रम हो भने सबैको सहभागिता हुनु जरुरी हुन्छ ।

यसलाई राजनितीक फाईदाको लागी कुनै पार्टी विशेषको भातृसंगठनले प्रयोग गरेर क्रेडिट लिन खोज्छ भने त्यो कार्य पनि क्षम्य हुन सक्दैन । तसर्थ सबैको सहकार्यमा हुन थालेको कार्यक्रमको क्रेडिट सबैलाई नै जाने हुन्छ यसमा कुनै किसिमको भ्रमहरु नछरिकन सबै सहभागी हुन हरतरहले लागी पर्नु जरुरी देखिन्छ । नेपाल र नेपालीलाई चिनाउने यस्ता महत्वपुर्ण कामहरुमा राजनितीक जोड घटाउ र फाईदा घाटाको कुराहरु अघि सार्ने काम आगामी दिनहरुमा समेत कहिकतै बाट नहोस् ।

अत: नेपाली जनसम्पर्क अमेरिकालाई सबैको साझा संस्थाको रुपमा विकास गरौ र आपसमा गुटवन्दीको घेरा भन्दा बाहिर राखेर नेपाली समुदायको हितमा समर्पित भएर अगाडी बढौ, यसैमा सबैको हित हुनेछ ।

बाल्टिमोर, अमेरिका

प्रतिक्रिया