ओलीको देश बनाउने सपनाहरु समयसापेक्ष छन् की छैनन् ?- प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ जेठ ७ गते २०:५१ मा प्रकाशित

prakash

सपना देख्नु राम्रो कुरा हो त्यसमा पनि सकारात्मक सपनाहरु त गन्तव्यमा पुग्ने मार्गनिर्देशननै बन्न सक्छन् । दुनियाँमा असम्भव भन्ने केही छैन, आँट र हिम्मतले असाधारण कामहरु पनि भएका छन् । वास्तवमा मानिसमा अन्य प्राणीको भन्दा कल्पना शक्ती अत्यान्तै बढि भएरनै हो, संसारमा अपत्यारिला आविस्कारहरु र कामहरु भएकाछन् र हुँदैछन् । हिजो सम्म सपनाको संसार भनिने अमेरिकामा सामान्य व्यक्तीहरु आउने कल्पना गर्नु अपत्यारिलो हुन्थ्यो र संभव पनि कमै थियो तर आज सामान्य खाडी मुलुक जान तयार भएको व्यक्ति पनि अनेक तरिका अपनाएर अाएको छ । २५-३० बर्ष पहिला साउदीमा काम गर्ने व्यक्तीलाई गाउँमा देख्दा निकै सम्मान गरेर हेरिन्थ्यो र उसलाई छोरी दिन पाएकोमा छोरी दिने व्यक्ती निकै गौरभ गर्थे ।

आज अमेरिका, वेलायत, जापानमै गएको व्यक्तीलाई झटपट्ट छोरी दिन तयार हुँदैनन् किनकी सबैले थाहाँ भईसकेकी जहाँ गएपनि काम नगरि हुँदैन र ती देशहरु पनि कुनै छुट्टै ग्रहको चमत्कारिक ठाउँ हैन । भौतिक विकासमा सम्पन्न भएको मुलुकमा सबै सुख पाईन्छ भन्ने केही ग्यारेन्टी छैन । त्यसैले समय अनुसार मानिसको सोच र व्यवहार बदलिदै जान्छ र गएको पनि छ । आज अचम्म लाग्ने चिज भोली केही जस्तो पनि लाग्दैन । हिजो सम्म मोवाईल फोन र फेस टु फेस भिडियो कल अचम्मको लाग्थ्यो, अहिले सबैलाई सामान्य लाग्छ । विदेशमा पहिलो चोटी सेन्सरयुक्त धाराको पानी प्रयोग गर्दा, बाटोमा हिड्दा बत्ती आफै बल्दा, सपिंग मलका गेट आफै खुल्दा, चुलोमा ग्याँस सिलिण्डर विना आगो बाल्दा अनौठो लाग्थ्यो तर अहिले केही जस्तो लाग्दैन ।

अहिले त नेपालमा समेत ठुला-ठुला डिपार्टमेन्ट स्टोरहरुमा विभिन्न सुविधाहरु विकसित देशहरुमा झै पाईन्छ । त्यही कुरा केही बर्ष पहिले नौलो थियो । अमेरिका लगायत विकसित देशमा क्रेडिट कार्डको प्रयोग हुन्छ रे भन्दा नेपालमा छदाँ रनभुल परिन्थियो र पछि विदेश आएपछि थाहाँ पाईयो । हुँदा-हुँदा नेपालमा समेत बैकहरुले डेविट र क्रेडिट कार्ड सुविधा दिन शुरु गरिसकेका छन् र यस बारे शहर-बजारमा बस्नेहरु जानकार छन् । तसर्थ प्रविधीले हाम्रा आनीबानी, चलनचल्ती धेरै परिवर्तन भएकोछ । ईन्टरनेटको पहुँचले सबैलाई धेरै कुरा थाहाँ पाउने मौका मिलेको छ ।

नेपालीहरुको सामाजिक संजालहरुमा पनि पहुँच बढ्दैछ । राजनैतिक नेता, कार्यकर्ताहरु विचमानै सुचना र जानकारीहरु आदानप्रदान हुन थालेको छ । सरकारको गतिविधी तुरुन्तै सर्वसाधारण जनताहरुले देशविदेशमा समेत थाहाँ पाउने र आवस्यक प्रतिकृया दिन सक्ने अवस्था रहेको छ । यसरी हेर्दा जनचेतनाको लहर पनि बढिरहेको छ । हाम्रा राजनैतिक नेताहरुको सोचको दायरा र चेतनाको स्तरमा पनि केही वृद्दि भएको हो की भन्ने आधार पाईएको छ । पछिल्ला दिनहरुमा केपी ओली प्रधानमन्त्री भईसकेपछि केही प्रगतिशिल विकासका कुराहरु पनि उठाईएका छन् । जसले गर्दा झन् सामाजिक संजाल र मिडियाहरुमा चर्चा परिचर्चा बढिरहेका छन् ।

घर-घरमा पाईप बाट खाना पकाउने ग्याँस पुर्याउने, शहरी क्षेत्रहरुमा रेल गुडाउने, लोडसेडिङ मुक्त पार्ने, दुई बर्षै भित्र नेपालमै पेट्रोलियम पदार्थ उत्खनन गर्ने, चीन र भारतको बन्दरगाहमा नेपाली पानाजहाजको व्यवस्था गर्ने लगायतका कुराहरु प्रधानमन्त्री ओलीबाट व्यक्त भएका छन् जुन अहिले चर्चाको विषय बनेको छ । एकातिर भुकम्प पिडितहरुले छाना मुनि बसेर मानो खान नपाएको कुराहरु सुन्नमा आएको छ । विदेशी दातृराष्ट्रले तत्काल राहतका लागी दिएको खाद्यान्न पिडितलाई नबाँडी सडाएर खाल्टो खनेर पुरेको दृश्य पनि टेलिभिजनबाट देखिएको छ । स्कुलको छाना नभएर खुल्ला आकाशमा बालबालिकाहरुले पढिरहेको पनि देखिएको छ । त्यस्तै जताजतै खुलेआम कालोबजारी गरेको, भ्रष्टचार मौलाएको, बालुवाटारमा दैनिकजसो भोजभतेर गरेर करोडौ खर्च गरिरहेको पनि खवर सुनिरहेकै छौ ।

सांसद र मन्त्रीहरुले आफु खुशी योजना आ-आफ्ना गाउँमा लैजाने र कार्यकर्तालाई ठेक्कापट्टा दिएर अघोषित भ्रष्टचारलाई प्रशय दिएको पनि खवरहरु आउने गरेका छन् । त्यस्तै भुकम्प पिडितहरुको लगत लिदा समेत राजनैतिक आस्थाका आधारमा हेरेर विभेदपुर्ण व्यवहार गरिएको भनि पिडितबाटै गुनासाहरु आएका छन् । आफ्ना कार्यकर्ताहरुलाई भरणपोषण गर्न नयाँ तुरुप फाल्नको लागी शैक्षिक प्रमाणपत्रको आधारमा व्यवसायिक कर्जा दिने निती सरकारले ल्याएको भनि आरोप पनि सुनिएको छ । त्यस्तै तराई, मधेसको समस्या झनै जटिल बन्दै गएको छ ।

यस्तै थुप्रै समस्याहरु देशमा देखा परिरहेको अवस्थामा कुन कुन आधार र नयाँ सुधारिएको संयन्त्रको आधारमा अहिलेको लागी महात्वकांक्षी देखिने नयाँ सपना वा योजना कसरी पुरा हुन सक्लान् र हरेक हप्ता जस्तो आउँदै गरेका नयाँ योजनाहरु र सपनाहरु पुरा गर्न के कस्तो नयाँ तौरतरिका, राज्यको मेकानिजम बनेको छ, बन्दैछ त्यसबारे पनि सरकार र सरकारका प्रमुखले जनताहरुलाई जानकारी दिनु आवस्यक हुन्छ की ? केवल नयाँ सपना बाँडेर मात्र मिडिया र सामाजिक संजालमा अति प्रसंशा र अति आलोचना पाउने कामले कुनै अर्थ दीर्घकालीन रुपमा राख्ला जस्तो लाग्दैन । बोलेको, गर्न खोजेको हो तर विपक्षीले दिएनन् भनेर पछि आत्मरती गर्नुले कुनै अर्थ राख्दैन किनकी ओलीले बोलेका जस्ता सुविधाहरु बारे नेपालीहरु सबैजसो जानकार छन् ।

सुचना र संचारको पहुँचमा आएको वृद्धी र सबैजसो नेपालीको प्रत्येक परिवारका एक न एक व्यक्ती विदेशमा कार्यरत छन् र यस्ता सुविधा दैनिक उपभोग गरिरहेकै छन्, तिनका लागी कुनै नौलो कुरा होईन तर नेपालका अधिकांश दुरदराजका जनताहरु भोक, रोग, विभिन्न समस्याहरुसँग दैनिक जुधिरहेका छन् । स्कुल पढ्ने वेलामा मजदुरी गरेर बुढा आमा बाबुलाई पाल्नु पर्ने बाध्यता छ । स्वास्थ्य, सरसफाई र खानेपानीको समस्या कहालिलाग्दो छ । खोले र सिस्नो खाएर एकमुठ्ठी सास धान्नु पर्ने कतिपय दुर्गम बस्तीहरु छन् न त्यहाँ राज्य पुगेको छ न त NGO, INGO हरुनै कुनै कार्यक्रमहरु लिएर पुगेका छन् ।

यस्ता आधारभुत समस्याहरु नपाएर जनताहरु निकै पिडादायक जिवन व्यतित गरिरहेका छन् तर तिनीहरुको समस्या समाधानमा राज्य बर्षौ देखि मौन छ । तर नेताहरु विदेशमा घुमफीर गरेर विभिन्न भौतिक विकास देखेर तिनकै आडमा विना पुर्वाधार ठुला ठुला सपना बाँडेर मात्र खासै अर्थ देखिदैन । यस्ता सपना देख्नुको साथै राज्यको निती निर्माण तह, कर्मचारीतन्त्र, योजना आयोगको संरचना, योजना तर्जुमा र कार्यान्वयन प्रकृया जस्ता सबै राज्यका निकायहरुमा आवस्यक सुधार, नयाँपन ल्याउने, भ्रस्टचार हुन सक्ने राज्यका सबै प्वालहरु टाल्ने, कर निती र कर प्रणालीमा सुधार ल्याउने जस्ता तमाम क्षेत्रमा आवस्यक सुधार नल्याई पुरानै शैली र राज्यका मेकानिजमबाट अवका दिनमा न त जनताका आधारभुत समस्या समाधान गर्न सकिन्छ न त नयाँ योजना र सपनाहरु पुरा हुन नै सक्छन् ।

तसर्थ नयाँ सपना र योजना बुन्न खोज्नु भन्दा पहिले जनताको विद्यमान समस्याहरु पुरा गर्ने तर्फ राज्यका संयन्त्र क्रियाशिल बनुन र विकासित देशको मार्गमा पुग्ने सपना देख्दै ती सपना पुरा गर्ने विभिन्न नयाँ आयामहरु पनि विकसित गरिउन । यसो हुनसकेमा पक्कै पनि ओलीको बोलीमा दम हुनेछ अन्यथा टेलिभिजनका हास्य शिरियलका बोलीहरु जस्तै हुनेछ । यति भनिरहदाँ भारत र चीन सँग गरिएका व्यापारिक एवं पारवहन लगायतका संझौताहरुमा ओलीले देखाएको परिपक्कतालाई भने प्रसंशा गर्नुनै पर्छ । भारतको ईशारामा देश संचालन हुन्छ भन्ने जुन आरोपहरु विगतका प्रधानमन्त्रीहरुमा लाग्दै आएकोमा ओली भने त्यो आरोपबाट मुक्त हुनसके छन् यसलाई सहरानिय मान्नु पर्छ र आउँदा प्रधानमन्त्रीहरुले पनि यसलाई आत्मसात गर्न सक्नु पर्छ ।

अन्तमा ओलीको बोली सँगै काम गर्ने र कार्यान्वयन गर्ने स्पस्ट आधार र मार्गचित्र तयार हुनु पनि जरुरी हुन्छ जसले गर्दा बोलीमा विस्वास र दम हुन सक्छ । अर्को कुरा गरिवको सपना बेचेर कुर्चीलाई जोगाई रहने प्रवृतीलाई परिवर्तन गरेर गरिवका यथार्थ समस्यालाई फिल्डमै गएर संवोधन गर्ने र समाधान गर्ने संस्कार बसाल्नु पर्ने देखिन्छ ।
बाल्टिमोर, अमेरिका

प्रतिक्रिया