‘नेपाल परेड डे’ सहभागी नहुने जनसम्पर्क समिति अमेरिकाको निर्णय (विज्ञप्तिसहित)

इनेप्लिज २०७३ जेठ ७ गते ३:५९ मा प्रकाशित

२० मे, २०१६, क्यालिफोर्निया ।
अमेरिकामा हुन लागेको ‘नेपाल परेड डे’ मा नेपाली जनसम्पर्क समिति अमेरिकाले संस्थागत रुपमा सहभागिता नजनाउने स्पष्ट पारेको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीलगायत कार्य समितिका १० जनाले आज संयुक्त विज्ञप्ति निकालेर जनसम्पर्क समिति भित्रै कार्यसमितिमा परेड डे कार्यक्रममा सहभागी हुने विषयमा अहिलेसम्म कुनै औपचारिक निर्णय समेत नभएको भन्दै यथास्थितिमा संस्थागत रुपमा आफूहरु कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेका हुन् ।

उनीहरुले विज्ञप्ति निकालेर जनसम्पर्क समितिको मूल नेतृत्वले सिँगो कार्यसमितिसँग यस्तो गम्भीर महत्वका विषयमा छलफल नै नगरी आफूखुसी निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै यस्तो क्रियाकलापले आफ्नो माउ पार्टीको छबि नै धुमिल पार्ने ठहर गरेका छन् । यही विषयमा काँचो निर्णय गर्दा केही समय अघि संगठनको छवि नै विवादित बनेकोतर्फ विज्ञप्तिमा सबैलाई सचेत गराईको छ । जनसम्पर्क समितिभित्र मात्रै नभै यो विषयमा नेपाली डास्फोरा समेत बिभाजित बनेको अवस्थामा जर्वजस्ती संस्थाको तर्फबाट परेड डेमा सहभागी हुँदा भोलीका दिनमा उत्पन्न हुनसक्ने परिस्थितिको संगठन र काँग्रेसले जवाफ दिनुपर्ने खतरा रहेको भन्दै यसतर्फ सबैलाई सचेत बन्न पनि आग्रह गरिएको छ ।

हेर्नोस् विज्ञप्ति जस्ताको तस्तै :

आदरणीय साथिहरू,
जय नेपाल !
राष्ट्र र राष्ट्रियता गाँसिएको “नेपाल परेड डे”संग हाम्रो मातृ पार्टी नेपाली काँग्रेसको पनि छवि जोडिएको छ ।
त्यसैले यस बारेमा खेलेको संगठनको भुनिकाले काँग्रेसको छविमा प्रत्यक्ष असर पार्ने भएका कारण यस प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ । यस्तो गम्भिर बिषय माथि नेतृत्वले कार्यसमिति र आफन्त माँझ सामान्य छलफल नै नगरी पराईको ईन्जार बाँध्न पुग्नाले सिंगो संगठन र काँग्रेसको छविमा आँच पुर्याएको छ । जसका कारण केहि दिन अघि मात्र संगठन विवादित बनेको कुरा सबैलाई जगजाहेर छ । यि कुरालाई वेवास्ता गर्दै, काँचो र फितलो प्रस्तुतिका कारण किनारामा पुगेको नेतृत्वले पराई माँझ संगठन कमजोर भएको सावित गराउँदै, संगठनलाई पुन: विवाद तिर धकेलेकोले खबरदारी गर्न बाध्य भएको कुरा यहाँहरू माझ राख्न चाँहन्छौ ।

आदरणीय साथिहरू “नेपाल परेड डे “मा भाग लिने सम्बन्धमा कार्यसमितिले कुनै आधिकारिक निर्णय गरेको छैन । यस बारेमा नेपाली डास्फोरा बिभाजित बनि विविध किसिमका यावद प्रश्नहरू उठाएका छन् । भोली हाम्रो संगठन र काँग्रेसले त्यस्तो जवाफ दिनुपर्ने हुन्छ । यो संग काँग्रेसको छवि गाँसिएको छ । त्यसैले “नेपाल परेड डे” को बारेमा नेपाली काँग्रेस केन्द्रीय कार्यालय बाट आधिकारिक निर्देशन नआउँदा सम्म र कार्यसमितिमा भाग लिने बारेमा आधिकारीक निर्णय नभएका कारण नेपाली जनसंपर्क समिति अमेरिकाले “नेपाल परेड डे” मा संस्थागत रूपमा सहभागिता नहुने कुराको पनि यसै सुचना मार्फत सबैलाई अनुरोधका साथ जानकारीका गराउँदछौ ।

प्रतिक्रिया