संविधानमा समाजवाद !!

इनेप्लिज २०७३ जेठ ७ गते १:३८ मा प्रकाशित

sarbagya waagle

संविधानमा समाजवाद भन्नाले समाजमा रहेको आर्थिक विषमता हटाइ समता ल्याउनु पर्छ भन्ने बुझिन्छ । देशको सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिन सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्त्ताका साधनमा समाजको साझा अधिकार हुनुपर्छ भन्ने राजनीतिक सिद्धान्त समाजवाद हो भन्दा फरक नपर्ला । समाजवाद लागु गर्ने व्यक्ति समाजवादी हुन्छ । जो होचो उसको मुखाँ घोचो भन्छन् । हाम्रा अगुवाले समाजलाई रुचाउने समाजवादको अनुयायी बन्ने र समाजवादलाई आत्मसात गर्ने कुरोको चुरो समात्न, संविधानको घेरोमा फेरो र समाबेशीमा डेरो जमाउने ठूलो निर्णय भयो । त्यो महान निर्णयले राज्य, राष्ट्र, अथवा कुनै उच्च संस्था आदिको सङ्गठन सञ्चालन स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान अथवा भनौ भने देशको भकारीको धान, कानुनको मान सम्मान गरियो ।

यसमा संविधानलाई समाजवाद बनाउने र त्यहाँ जनवाद अटाउने भनौभने नेपालभित्र अमेरिका, स्विजरल्याड, चिन, जापान, भारत, रुस, चेकोस्लाभिया र नेपालको सबै जातजातिले भात खाने थाल बनाउने र बसी बसी खाने दुखै गर्नु नपर्ने संविधान बनाउने दौडमा नेपालले लामो दौड कायम गर्दा पनि पटक्कै नथाकेको हो।

अब कुरो आयो संविधानको समय माघ आठ पनि चाँडो आयो । चाँडै गयो । वास्तवमै नेताहरूलाई समय कम छ । किनभने नेपालमा धेरै देश अटाउने, धेरै भाषा अटाउने सबै खुशी हुने कोही कतै दुखी नहुने संविधान र समाजवाद ल्याउनु छ । अब संविधानको कुरो त पछि गरौँला यो जाडोमा आगो ताप्न बाटो तताएर यो जाडो चाँडो छिचोल्ने काम गर्नुछ । संविधानको कुरो चुलो बनाई रोटी तरकारी, दालभात, गुन्द्रुक ढिँडो मिठोसँग खाउँला । जसरी पनि जनताद्वारा जनताका लागि जनताले गर्ने शासन प्रणाली त हो नि, नेताहरूले ल्याइ दिएका छन, पकाउने, खाने र बनाउने त घरकाले पो ! देश स्वतन्त्र भयो त्यो मुख्य कुरो हो । देशमा लोकतन्त्र आउनु भनेको देश जीवन्त हुनु हो । देशमा तानाशाह हुनु भनेको , अवशरवादी नेता हुनु भनेको देशलाई लास बनाउनु हो । किनकि मान्छे मरेपछि जुम्राले पनि छोडेर जान्छ । त्यस्तै देशलाई नेता सबैले सब बनाउने अथवा भनौ भने लाश वनाउने धृष्टता गरियो भने सबै युवाले चरान गर्न परान धान्न बिदेश लाग्नु पर्ने हुन्छ । तर देश स्वाधिन, सुशासन, सुव्यवस्था भयो भने देश शिव हुन्छ । सबै देशभक्तको आस हो देश स्वाधिन बनोस शिव बनोस्, बुद्ध बनोस्, सबै सबै देवता बनाउने चाहना हो ।

आज त्यही चाहनाले गतिलो संविधान ल्याउन र त्यहाँ भित्र संसारको संविधान अटाउन संसारका समाज अटाउन स्वाधिन देश बनाउन शिव जस्तो महान देवतालाई संविधानमा राख्ने कोशिस बन्दैछ त्यो कुरो महान हो । संविधान र समाजवादमा संसार अटाउदा शिव नटाउने पनि कुरै भएन । तर शिवलाई यदि हामीले विषभाङ धतुरो खाने झगड्या, गँजड्यालाई पुज्दै जाँदा भाङ र धतुरोलाई प्रसाद मान्न थाल्यौँ भने उनका नजिक साँढे बनेर मडारिँदै तिखा सिङले हान्दै हिँडने साँढेलाई मान्ने अनि भएन भनेर विष ओकल्ने साँपलाई जम्मा गरेर थुपार्यौँ र पूजा गर्यौँ भने के समाजवादी संविधान बन्ला र ? के नानाभाँतीले चिच्याउने भीष माग्न प्रयोग गर्ने डमरू बजाएर मानवलाइ साँडे र विषदहन गर्ने साँपको डसाइले लास बनाएर तिनका खप्पराँ पोप्रोगण्डा रूपी डमरू बजाउदै गरिव देशलाई झन गरीब बनाउदै माग्दै हिँडन थाले भने हामी निरिह प्राणिले के गर्न सक्छौ र ?

तिनै शिव रुपी देवताका नन्दी-भ्रिङ्गी गणले दक्षप्रजापतिको यज्ञ विध्वंश गरिदिए झै नेपाल लोकमा पनि गरे भने कसरी देशमा शान्ति आउला त ? कसरी विकासको मूल फुटला विकास जुटला ? यदि विध्वंशलाई क्रान्ति भन्ने हो भने परिवर्तनलाइ के भन्ने होला ? अब कुरो आयो समाजवादको । हाम्रो देशमा पूँजीवाद भन्दा पहिला समाजवाद ल्याउन ठुलो दौड हुँदैछ । किसान, मजदुर गरिव र निरिह कामदारलाई काम्माँ र कर्तव्यबोधाँ जागरण र उजागरण नगराइकन समाजवादका संवाहकले समाजवादका जागरणवोध, सभा सोसाइटी, कन्फ्रेसन देश, विदेश र पाँचतारे होटेलमा गराइ रहेका छन् । समाजवाद ल्याउन समाजले नै सामुहिक पुँजीलाई, लगान गराई, उधोग र धन्दा लाई बन्द गराएर समाजवाद ल्याउने होकी बाह्रैमास चलाएर, उधोगधन्दा अन्धाधुन्धा, खेती किसान मसानघाट पुर्याउने, बन्द व्यापार, सबैलाई बढाएर समाजवाद आउने हो कि बन्द गरेर अन्धाधुन्ध समाजवाद बुलन्द बोलाउने हो ? समाजवादको संवाहकले समाजवाद हाँक्ने हो ? जनवादको संवाहकले कस्तो संविधान ल्याउने हो ? त्यो कुरो चाहिँ पहिला जनतालाई, मजदुरलाई, शिवका वाहन तिखा तिखा सिङ भएका असनमा ढलपल गर्दै बेच्न राखेको तरकारी खाँदै हिंडने साँडे, फ्वाँ फ्वाँ गर्दै फँडा तेसार्ने काली नाग, कोब्रा साँप र करेट गोबन, धामिन साँप, अजिङ्गर जो बसी बसी खसी खान्छ पचाउँछ पनि त्यसैले पचाओवादी संविधान ।

समाजवाद र जनवाद कहिले मान्छ ! कहिले खान्छ ! कहिले सासले तान्छ ! खर्लप्पै भित्र लान्छ ! सबैलाई जनतासँग राखेर जनता हुन सिकाउने समावेसी संविधान समाजवाद र जनवाद बुझाउनु पर्यो र मिलाउनु पर्यो र समावेसी बनाउनु पर्यो । नत्रभने नेपालीले पजेरो चढ्ने समाजवादका सम्वाहक भएपछि पजेरोवादी समाजवाद, जनवादी संविधान, शिव र उनका नन्दी भ्रिङ्गी, साँप र साँडेवादी समाजवादी, जनवादी संविधान एयर कन्डिसन महलवादी समाजवादी जनवादी संसारिक संविधान, कमिसन र कालो बजारवादी राजा महाराजावादी नयाँ नयाँ एयर कंडिसनमा शैर गर्ने संविधान समाजवादी संविधान र देश, विदेश र संसाराँ हुने कन्फ्रेन्स समाजवादी संविधान ! र देश बिदेशको कन्फ्रेन्समा सप्लाई गर्ने मानव सप्लाई अन्तर्राष्ट्रिय समन्वयवादी संविधान । किन भने जुन मनिसलाई गरिबी थाहै छैन । जसले गरिबी नजिकबाट देखेको छैन । जसले गरिव र गरिबीको दुखलाई आत्मसात गर्नै जान्दैन । जसको घरको कुकुर र बिरालो बिरामी भयो भने राजाकीय स्तर र सम्मानमा औषधी उपचार गरिन्छ त्यस्तो समाजवादी, जनवादी र समावेशीवादी संविधान बनाउने दौडमा गौड़ सोच्नु अस्वभाविक हो।

नेपालको तीन करोड जनता जुन अधिक अनपढ छन्, अशिक्षित छन् । अनकन्टार बिकट ठाउँमा बस्छन । जुम्ला, हुम्ला, कालिकोट, कर्णाली मुगु, मुसीकोट जस्तो ठाउँमा जन्मेर दु:ख, गरिबी बाहेक जीवननै जान्दैनन् कतै सोच्ने फुर्सतै छैन । त्यस्ता जनताको वर्गभेद गर्ने तिनै जनतासँग टाढा बस्ने गरीब जनताको नजिक जान नचाहने, छिछी र दुरदुर गर्ने महान ब्यक्त्तिहरूले के समावेशी संविधान बनाउलान् ? के समाजवादी जनवादी समावेशी लोकतान्त्रिक संविधानको कुरा गर्ने हो ! यो महान क्रान्ति पश्चात तीन करोड जनतालाई समावेशी गर्ने कोरा कागजलाई संविधान समाजवाद जनवाद र समाबेशीका पत्र बोकेर दौडेका छन् । र तीन करोड कन्फ्रेन्स भत्ता सत्ता र लेक्चरमा अरबौ खर्च गर्ने सुअवसर देशले पाएको छ । टिभी र एफएमले काम पाएकै छन् । पत्रपत्रिका पुलिस र प्रशासनले काम पाएकै छन् । जनताले त्यो कन्फ्रेन्स र लेक्चर हेरेर र सुनेर अघाएकै छन् । यसैलाई भन्छ समाबेशी लोकतन्त्रवादी,गणतंत्रवादी, समाजवादी संविधान हैन र हजुर ?

प्रतिक्रिया