शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०५:१८
वासिङटन डिसी 19:33

प्रतिकूल मौसमले दुई दिनदेखि सगरमाथाको आरोहण भएन, पर्यटक शिविरमै रोकिए

इनेप्लिज २०७३ जेठ ५ गते १२:३५ मा प्रकाशित

DSC08101

काठमाडौँ, ५ जेठ । प्रतिकूल मौसम भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही रोकिएका छन् । मौसममा उतारचढाव आएपछि आरोहीले चुचुरो चुम्नलाई नसकिरहेका पर्यटन विभागले जनाएको छ । सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण मङ्गलबार र बुधबार कुनै आरोहण नभएको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धेरै आरोही क्याम्प दुई, तीन र चारमा छन् । उनीहरु बिहीबार, शुक्रबार र शनिबार चुचुरोमा पुग्नेछन् ।

केही आरोही भने अहिले आधार शिविरमै रहेका छन् । उनीहरु पनि उँभोतिर लाग्ने तयारीमा रहेको श्रेष्ठले बताए । वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको सगरमाथा आरोहण निरन्तर छ दिनसम्म अर्थात् जेठ ३ गतेसम्म चलेको थियो । सगरमाथा आरोहणको छ दिनको अवधिमा ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । विभागको अनुमानअनुसार आज ५८ नेपाली र ४१ विदेशी गरी ९९ आरोही चुचुरोमा पुग्ने योजनामा थिए । तर आज कुनै आरोहण भएन । त्यसैगरी बिहीबार ११० नेपाली ८७ विदेशी, शुक्रबार ७० नेपाली र ५६ विदेशी तथा शनिबार २१ नेपाली र २१ विदेशी गरी जम्मा ४६४ आरोही सगरमाथाको चुचुरोमा पुग्ने अनुमान गरिएको थियो । प्राकृतिक विपत्तिका कारण सन् २०१४ र २०१५ मा सगरमाथा र अन्य हिमालको आरोहण रोकिएको थियो । सन् २०१६ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहणले विश्वको ध्यान केन्द्रित गरिरहेको छ । पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् । रासस –

प्रतिक्रिया