आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:५१
वासिङटन डिसी 15:06

लस एन्जलस, तारा दिदि र नेजाको पाँचौं अधिबेशन- Lekhnath Gautam

इनेप्लिज २०७३ वैशाख २९ गते २२:०३ मा प्रकाशित

lekhnath

नेपाल अमेरिका पत्रकार संघको गएको सप्ताहन्तमा पाँचौं अधिबेशन थियो । गौतम दाहालको अध्यक्षतामा निर्बाचित पुरानो कार्यसमितिको दुइ बर्षे अबधि समाप्ति संगै नयाँ कार्यसमिति चुन्नु थियो। त्यसको लागि अमेरिका भरिका करिब डेड सय पत्रकारहरु भेला भएका थिए । पर्यटकीय नगरी लस एञ्जलसमा उत्साह र उमंगका साथ् अमेरिकाका विभिन्न राज्य र शहरहरुबाट लस एञ्जलसको सानो तर धेरै समुदायको बसोबास रहेको शहर आर्टेसियामा उनीहरु भेला भएका थिए । त्यहि मेसोमा लस एञ्जलसको  बारेमा धेरै सुनेको तर प्रत्यक्ष अनुभव  गर्ने अवसर पाएको थिइन ।मलाई  यसपाली नेजाको अधिबेशनले त्यो अवसर प्रदान गर्यो । त्यो अवसर जुराइदिएकोमा नेजालाई साधुबाद ।

मैले नेजाको पहिलो पटक सदस्यता लिएको थिएँ । त्यसो त म मिडियामा धेरै पहिले देखि सक्रिय छु । मनमा लागेका कुरा देखि समाचार पनि लेख्ने गर्छु । अमेरिकामा सामान्य काम गर्छु । सप्ताहान्त र अन्य फुर्सदको समयमा नेपाली समुदायका कार्यक्रममा उपस्थित हुन्छु र त्यस्ता खबरलाई सम्प्रेषण गर्छु । समाचार असत्य नहोस भनेर सचेत हुन्छु । उपस्थित नभई सुनेर वा हचुवाको भरमा समाचार लेख्दिन । नभएको वा विस्वासिलो श्रोत बिना कसैको बारेमा नकारात्मक कुरा मलाई लेख्न मेरो धर्मले दिदैन।सकारात्मक समाचार, विचार प्रस्तुत गर्नु मेरो कर्तब्य हो । पक्कै पनि समाजमा भए गरेका नराम्रा खबरले कतिपयलाई सचेत् हुन मद्दत पुग्छ। तर त्यो जिम्मा म अरुलाई नै दिन्छु । परिवारको सदस्यको मृत्युबाट आहत परिवारलाइ अझै बिक्षिप्त बनाउन  सामाजिक संजाल र अनलाइनमा हेडलाइन बनाएर चर्चित हुन मलाई मन छैन । म मेरो आफ्नै आचार संहिताले चल्छु । युएस खबर पाक्षिकमा प्रधान सम्पादकको भूमिकामा छु । लेखन बाहेक मेरो आफ्नै काम छ । त्यहाँ घण्टा हान्न मैले जानै पर्छ नत्र मेरो रोजीरोटी चल्दैन।

नेजाको पाँचौं अधिबेशन मेरो लागि लामो समय सम्म ब्यबसायिक पत्रकारहरुसंग भेट्ने सुनौलो मौका साबित भयो । समयाभाव र विभिन्न परिस्थितिको कारण मैले व्यक्तिगत रुपमा धेरै संग चिनजान गर्न कठिन थियो । छोटो समयको यात्रा, औपचारिक कार्यक्रमको लर्को अनि अरु थुप्रै कारणले सबै संग भेटघाट हुन सकिन । तर पनि समग्रमा केहि असल व्यक्तिहरुसंगको चिनजानले मलाई आफ्नो उचाइ बढेको महशुश भएको छ । हाम्रो नेतृत्व चयनको प्रक्रियामा भए गरेका कामहरुमा मेरा केहि बिमतिहरु थिए। तर पनि  नेजाको अहिलेको कार्यसमिति राम्रो बनेको छ । यसमा केहि गर्न सक्ने पत्रकारहरुकै बाहुल्यता छ भन्नेमा म बिश्वस्त छु । म पनि त्यसको एउटा पाटो हुन पाउँदा मलाई हर्ष लागेको छ ।

डालसबाट जहाज चढ्दा मेरो अलि फरक सोचाइ थियो । नेजाको अधिबेशनको एउटा अंग हुन पाउँदा अत्यन्त उत्साहित थिएँ । अमेरिका भरिका पत्रकार साथीहरुसंग घुलमिल हुने मौका मलाई केहि क्षणमै प्राप्त हुँदै थियो। जहाजले लस एञ्जलसको भुमि छुँदै गर्दा मलाई आफु फरक ठाउं मात्र होइन फरक भूमिकामा उपस्थित भएको गर्ब महशुश भएको थियो । सोंचेको थिएँ, त्यहाँ अमेरिकामा नेपाली पत्रकारिताको बिषयमा गहन छलफल होला। त्यहाँ कसरि समुदायका खबरहरुलाई छिटो र  प्रभावकारी रुपमा प्रस्तुत गर्ने भन्ने बारे विचार बिमर्श होला । संगठनलाइ अझै मजबुत, जिम्मेवार र समाजमा इज्जतदार परिचय कसरि दिलाउन सकिन्छ भनेर मन्थन गरिएला । तर यसबारेमा खासै छलफल भएन। नेतृत्व चयनले नै सबै कुरा ओझेलमा  पार्यो। शायद छोटो अबधि भएकोले पनि यस्तो भएको हुनु पर्छ । लस एञ्जलस जस्तो प्रेम नगरीमा घुम्ने, मनोरंजन गर्ने सबैको धोको हुन्छ। काम र दौडधुपबाट वाक्क दिक्क पत्रकार साथीहरु एकदुई दिन छुट्टी पाउँदा त्यो समय भरपुर मनोरंजन लिएर बिताउने इच्छालाइ अन्यथा लिन मिल्दैन ।

मेरो लागि भने यो यात्रा अत्यन्त उत्साहप्रद  रह्यो । लस एञ्जलस, सानफ्रान्सिस्को वरिपरिका नेपाली साथीहरु जो समुदायमा सक्रिय हुनु हुन्छ , उहाँहरुसंग भेट्ने अवसर मिल्यो। सुनिल पन्त, अग्नि चौलागाईं, भोला आचार्य, तोया दाहाल, रामेश्वर भण्डारी, ऋषि ढकाल, कविन्द्र सिटौला, शैलेश पोख्रेल, गिरिश पोख्रेल, कृष्ण केसी, ध्रुव कुँवर, पूर्ण शेर्पा, मच्छेदेवी गुरुङ मेरो मानसपटलमा रहिरहने नामहरु हुन्। त्यस्तै लस एञ्जलसमा रहँदा बस्दा हरेक पल सहयोग गर्ने गोकुल ढकाल,  पुरुषोत्तम ढकाल र बिस्व सुबेदी शायद कहिल्यै बिर्सिन सकिएला । लस एञ्जलसमा होटेल ब्यबसाय गरेर बस्नु भएकी पोखरेली तारा दिदि मैले मात्र होइन कसैले पनि नबिर्सिने नाम हो।
पोखराबाट २४ बर्ष अघि अमेरिका आएर अमेरिकाको धेरै पानि खाइसकेकि तारा  दिदि अझै पनि पुरै नेपाली हुन् । लस एञ्जलसको सेरोफेरोमा ३ वटा होटलकि धनि तारा दिदिमा धन दौलतको घमण्ड कहीं देखिन। हँसिली फरासिली तारा दिदि नेपाली भने पछि हुरुक्क हुन्छिन । नेपाली खाना, नेपाली संगीत भने पछि उनि हुरुक्क हुन्छिन। नेपालीलाइ सहयोग गर्न पाउँदा गर्ब महशुश गर्ने तारा दिदि नेपालमा पनि थुप्रै सामाजिक काम गरेकी छिन । उनका दुइवटा कुराले मलाई प्रभावित तुल्यायो । क्यासिनो खेल्न जान खोज्नेलाई रोक्न उनले गरेको प्रयत्न र डिजे नाइटमा हिन्दि गीत लाउँदा नेपाली लगाउ नेपाली लगाउ भनेर बारम्बार गरेको अनुरोधले उनको नेपाल र नेपाल प्रतिको प्रगाढ मायाँ दर्शाउँछ।नेपाली हुन नेपाली आकाश मुनि बसेर मात्र पुग्दैन, नेपाली मन चाहिन्छ। नेपालमा बसेर नेपालकै बिरुद्धमा षड्यन्त्र गर्ने र नेपाल आमालाई लुट्नेहरु भन्दा बिदेशी भूमिमा बसेर नेपालको सेवा गर्ने यस्ता तारा दिदीहरु नेपालका सच्चा सन्तान हुन्। जति धेरै ताराहरु बिदेशमा चम्किन्छन, नेपाल त्यति उज्यालो हुनेछ।

यी र यस्तै मिठा अनुभूति सहित मेरो लस एञ्जलस यात्रा टुंगियो। लस एञ्जलसको आकाश छोड्दै गर्दा आफुमा एक किसिमको नयाँपन पनि महशुश भयो। असल मान्छेहरुको दुइ दिनको संगत पनि जिन्दगीको लागि प्रेरणा बन्न सक्छ । मैले आफुलाई अलिक भिन्न महशुश गरेको छु। नयाँ कार्यसमितिमा रहेर काम गर्न सक्छ भन्ने शंकाको लाभ दिनुहुने सम्पूर्ण साथीहरुलाई धन्यवाद दिंदै उहाँहरुको भरोशा कायम राख्न प्रयत्न समेत गर्ने छु । आगामी दुइ बर्षमा बिगतका कामहरुलाई निरन्तरता दिनुको साथै नयाँ नयाँ कामहरु गरेर यो संस्था मात्र होइन समग्र नेपाली समाजको पहिचान यो भूमिमा स्थापित गर्न भूमिका निर्बाह गर्न सक्षम हुनेछौं भन्ने मेरो विश्वास छ । कसले गर्ने भन्दा पनि के गर्ने र कसरि गर्ने भनेर हामी छलफल गर्नु जरुरि छ । अन्त्यमा यति गहन जिम्मेवारीलाई सफलतापुर्बक निर्बाह गर्नु हुने साथि सुदिप पन्त र अग्नि चौलागाईंलाइ फेरी पनि धन्यवाद।

प्रतिक्रिया