बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १७:३५
वासिङटन डिसी 07:50

आधुनिक संचारका साधनहरुले पारिवारिक जीवनमा पार्ने प्रभाव – प्रकाश श्रेँष्ठ

इनेप्लिज २०७३ वैशाख २७ गते २०:३३ मा प्रकाशित

image1

आधुनिक संचार साधनहरुको बढ्दो प्रयोगबाट परिवारका सदस्यहरु वीच आपसमा घरायसी कुराकानी हुने वातावरणमा कमि हुँदै आएको छ । नेपालका अधिकांश ग्रामिण भेगमा आधुनिक संचारका साधनहरु टेलिभिजन, स्मार्टफोन, आईप्याड, डेक्स्टप कम्प्युटर, ल्याप्टप कम्प्यूटर आदीको पहुँच अझै हुनसकेको छैन तर शहरी क्षेत्रमा यस्ता साधनाहरुको पहुँच सामान्यतया अधिकांशमा रहेको पाईन्छ ।
मैले आज प्रस्तुत गर्न खोजेको प्रसंग खासगरी नेपाल भन्दा बाहिर विदेशमा सपरिवार स्थायी बसोबास गरिरहेका नेपालीमुलका परिवारको बारेमा चर्चा गर्न खोजेको हो। यो चर्चाको विषय माथी उल्लेख गरेको आधुनिक संचारका साधन अर्थात् डिजिटल प्रविधीमा मानिसहरु कसरी अव्यस्त छन् र यसले पारिवारिक सम्बन्ध र गतिविधीमा के कस्तो सकारात्मक एवं नकारात्मक प्रभाव पारिरहेको छ भन्ने सन्दर्भलाई आफ्नो अनुभवलाई प्रस्तुत गर्ने जमर्को गरेको छु जसले सामान्यतया सबैको कथा, व्यथा र यथार्थता झल्काउने छ भन्ने मैले विश्वास लिएको छु ।
विगतमा गाउँमा छदाँ ईलेक्ट्रोनिक मिडियामा रेडियो नै गाउँघरमा सर्वसुलभ उपलव्ध हुने भरपर्दो संचारको साधन थियो र विस्तारै पछिल्लो समयमा स्थानिय ईलेक्ट्रोनिक संचार माध्यममा एफ.एम. रेडियो पनि पपुलर बन्न पुगेको थियो । यद्दपी आजकल समेत स्थानिय समाचारहरु, गतिविधी प्रसारण गरि सुचना तथा जानकारी सर्वसाधरणलाई गराउने कामको साथै लोक संगितको विकासमा यसको भुमिका महत्वपुर्णनै छ । यता विदेश तिर भने ईलेक्ट्रोनिक संचार माध्यमहरुको तिव्र विकाश भएको देखिन्छ र यतातिर बच्चा देखि युवा, वृद्धवृद्धा सम्म प्रायः सबैको पहुँच छ भन्न सकिन्छ ।
यता अमेरिका तिरको कुरा गर्दा नेपाली समुदायको बालबच्चाहरुलाई हेर्दा स्कुल पढ्ने बच्चाहरु देखि कलेज पढ्नेहरु सम्म र रोजगारीमा लागेका युवा देखि उमेर ढल्केका व्यक्तीहरु समेत सबैजसो फुर्सदको समय प्रायः ईलेक्ट्रोनिक संचारका साधनहरु स्मार्टफोन, कम्प्युटर, टेलिभिजनमा नै अव्यस्त भएको देखिन्छ । स्कुल-कलेज पढ्दै गरेका विद्यार्थीहरु जव पढाईबाट घरमा आउँछन् तव फेसवुक, ट्युटर, Instagram, WeChat, WhatsApp, SnapChat, Skype, Messenger, YouTube लगायतका सामाजिक संजाल वा डिजिटल प्रविधीमानै आफुहरुलाई समाहित गरिरहेका हुन्छन्, त्यस्तै आफुलाई मन पर्ने टिभी च्यानलहरु हेर्ने, कम्प्युटरमा विभिन्न अनलाईन ईन्टरनेट साईटहरुमा न्युजहरु हेर्ने, गेमहरु खेल्ने, Google Search बाट विभिन्न विषयमा अध्ययन गर्ने, स्कुल -कलेजको होमवर्क समेत ईन्टरनेटको सहयोगबाट पुरा गर्ने गरेको पाईन्छ । अझै हाईस्कूल तहमा पढ्नेहरु एवं कलेज तहमा पढ्नेहरुको लागी त कम्प्युटर र ईन्टरनेट हर समय आवस्यकनै पर्छ ।
हुनत: आजकल सामान्यतया प्रत्येकसँग आईफोन वा स्मार्टफोन हुने नै भएकोले ईन्टरनेट चलाउने देखि सामाजिक संजालहरु अझै टेलिभिजनका कार्यक्रम, एफ.एफ. रेडियो, अनलाईन न्युजहरु, विभिन्न अनलाईन सपिंग, होम डेलिभरी अर्डरहरु जस्तै फास्टफुडहरु, विभिन्न घरायसी सामान, ईलेक्ट्रोनिक सामान, सजावटका सामानहरु आदी पनि सहजै मगाउन सकिन्छ । यसरी हेर्दा हरेक किसिमका आवस्यकता पुरा गर्न, मनोरंजनात्मक कार्यक्रम, देशविदेशमा घट्ने घटना, ज्ञानगुनका कुराहरु, अध्ययनको विषयवस्तुहरु, नयाँ जिज्ञासाहरु, खुल्दुलीहरु, समस्याहरु समाधान गर्न समेत यस्ता विद्युतिय साधनहरुको प्रयोग सजिलै गर्न सकिन्छ ।
यसरी एउटा परिवारका प्रत्येक सदस्यहरुसँग आधुनिक संचारका साधनहरु अर्थात् विद्युतिय उपकरणहरुको पहुँच हुने देखिन्छ । अमेरिका जस्तो अति व्यस्त जीवन शैलीमा परिवारका सबै सदस्य एकै समयमा जुट्नु भनेको सबै परिवारमा संभव हुँदैन त्यसमा पनि नेपाली समुदायहरु अधिकांशले प्रायः सामान्य तवरको कामहरु गरेर दैनिक गुजारा चलाउनु पर्ने विवशता छदैछ । यस्तो अवस्थामा कोही-कोही परिवारको बाहेक अन्य परिवारको सबैजना परिवार सदस्य साथमै एकै समयमा भेटघाट हुन संभव देखिदैन तर संभव भएको समयमा सबै एकसाथ रहदा र प्रायः परिवार हुनेहरुले दिनमा काम गर्ने हुँदा साँझमा एकसाथ हुने संभावना बढी हुँदा समेत परिवारका सदस्यहरु प्रायः आपसमा घरायसी सुख-दु:खको बातचितमा भन्दा पनि बढी समय आधुनिक संचारका साधनहरु प्रयोग गर्नमै बढी समय व्यतित गर्ने बानी परेको देखिन्छ ।
यसले गर्दा आजकल परिवारमा पनि कतकता खल्लोपन, निरस, भावनात्मक सम्बन्धमा कमि, आत्मियतामा कमि त आएको हैन भने जस्तो महशुष हुन थालेको छ । हुँदाहुँदा यति सम्म भएको छ की परिवारको सदस्यको दैनिकी बुझ्न र उसको भावना बुझ्न सामाजिक संजालमा उसले अभिव्यक्त गरेका कुराहरुबाट जानकारी लिनु पर्ने अवस्था आईसकेको जस्तो देखिन्छ । यसबाट सहजै अनुमान लगाउन सकिन्छ की मानिस आजकल निकै यान्त्रिक र डिजिटल प्रविधीको आकर्षणमा लिप्त भईसकेको छ ।
मुखबाट बोली निस्कन नसक्ने बच्चाहरु समेत स्मार्टफोन, आईप्याड, ट्याव्लेट चलाउन थालिसकेका हुन्छन्, अझै ठुलो बच्चाहरुलाई त केही सिकाउनु पर्दैन आफै साथीसंगीहरुको संगतले र स्कुलमा समेत कम्प्युटरको प्रयोग गरि पढ्ने भएकोले सबै किसीमको ईन्टरनेटको संसार भित्र सजिलै प्रवेश गर्न सक्ने भईसकेका हुन्छन् । उनीहरुको छुट्टै सर्कल बनिसकेको हुन्छ र त्यही अनुरुप साथीहरुसँग सम्पर्कमा रहन एवं अध्ययनको कार्य समेत यस्ता आधुनिक संचार साधनको प्रयोगबाट गर्ने हुन्छन् ।
एक हिसावले उनीहरुले कितावी माध्यमबाट भन्दा बढी छिट्टो धेरै ज्ञान र सिपका कुराहरु र नजानेका कुराहरु जानकारी लिन समेत यस्ता साधनहरुको उपयोग गर्न समर्थवान भएको पाईन्छ । तर कतिपय अवस्थामा यस्ता साधनहरुको प्रयोगको दुरुपयोगबाट कुलत र कुसंस्कारमा फसेर नराम्रो घटनाहरु घटेको, अपरिचित व्यक्तीहरुसँग सम्बन्ध गाँसिन पुगेर बर्वाद हुन पुगेका घटनाहरु पनि यदाकदा सुन्नमा आउने गरेको हुन्छ । तसर्थ उमेरमा परिपक्कता नआई सकेका बच्चाबच्चीहरुले के कस्तो किसिमबाट यस्ता संचार साधनहरु प्रयोग गरि रहेका छन् त्यसबारे जानकारी लिनको लागी अभिभावकहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा चासो राख्नु पर्ने हुन्छ ।
अनावस्यकरुपमा बच्चाबच्चीहरुले बढी मात्रामा सामाजिक संजाल लगायत ईन्टरनेटमा अनेक किसिमका साईटहरु हेरिरहने गर्छन् भने आवस्यकरुपमा नियन्त्रण गर्नु पर्ने हुन्छ, संझाउने-बुझाउने र चाहिदो काममा मात्र त्यस्ता साधनाहरुको उपयोग गर्न अभिप्रेरित गर्नु पर्छ । टेलिभिजनमा समेत धेरै समय विभिन्न सिरियलहरु, फिल्महरु, कार्टूनहरु आदी हेरेर बस्ने बानी भएमा त्यसलाई पनि आवस्यकरुपमा सम्झाएर अनावस्यकरुपमा समय बर्वाद नगरि अध्ययनको कार्यमा बढी समय लगाउन अभिप्रेरित गर्नु पर्छ । बालबच्चाहरुलाई सही मार्गमा लगाएर अघि बढाउन त्यती सजिलो छैन तर आवस्यक नियन्त्रण नहुने हो भने क्षणभरमा विग्रिन समय लाग्दैनन् । अझै नेपालबाट भरखरै मात्र आउनेहरुका लागी भिन्न परिवेशमा अनावस्यक देखासिकी गरेर गलत बाटोमा हिड्न बेर लाग्दैन ।
अत: अभिभावकहरुले सही ढंगबाट आफ्ना सन्ततीहरुलाई जिम्मेवार बनाउनको लागी हरपल कोसिस गर्नु पर्छ र आफु पनि फुर्सदको समय बढी आधुनिक संचारको साधनहरुमै प्रयोग गर्न अव्यस्त हुनु हुँदैन । बालबच्चाहरु र परिवारका अरु सदस्यहरुसँग कुराकानी गरेर आत्मियता र सम्बन्धलाई मजवुत बनाउने तर्फ लाग्नु पर्छ । यसो हुन सकेमात्र आधुनिक संचार साधनहरुको सही सदुपयोग समयसापेक्ष हुन सक्छ । अन्यथा सुविधाको साधनको रुपमा लिईने चिजनै घातक हुन सक्छ ।
अझै आजकल त कतिपय व्यक्तीहरुले काम गर्ने दौडानमा समेत सामाजिक संजालको बढी प्रयोग गरेर जागिर समेतबाट हात धुनु परेका घटनाहरु पनि सुन्न पाईन्छ । तसर्थ यस्ता सामाजिक संजालको सही स्थानमा सही रुपमा प्रयोग गर्न तर्फ पनि विचार पुर्याउनु पर्दछ । यसरी हेर्दा अाधुनिक डिजिटल प्रविधीको प्रयोग उचित किसीमबाट गर्न सके मात्र बरदान सावित हुन्छ किनकी आजकल संचारमा नै संसार पाउन सकिन्छ । अन्यथा गलत प्रयोग हुन गएमा लागु औषधी झै घातक पनि हुन सक्छ । तसर्थ यसको सही सदुपयोग गर्ने तर्फ उचित विचार पुर्याउनु आवस्यक हुन्छ ।
आधुनिक संचारका साधनको बढ्दो प्रयोगसँगै परिवारका सदस्यहरु वीच आपसी संचार बोलचालको रुपमा कमि हुने क्रम बढ्दै जाँदा कतिपय अवस्थामा असमझदारीहरु, मतभेदहरु बढ्दै गएर पारिवारिक सम्बन्धहरुमा समेत नराम्रो असर पार्ने साथै परिवार समेत टुक्रिने अवस्था पनि देखा पर्न सक्ने खतरा पनि देखिन्छ । तसर्थ पारिवारिक स्नेह र ममतालाई सधै प्राथमिकतामा राखेर त्यसलाई अविच्छिन्न राख्ने तर्फ ध्यान दिदै आधुनिक संचारका डिजिटल साधनहरुको उचित प्रयोग गर्नुपर्दछ ।

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया