आमा औशीले उव्जाएको प्रश्नहरु -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ वैशाख २५ गते २२:५० मा प्रकाशित

prakash 1

आमा सृष्टीदाता जननी हुन् । आमाको जतिसुकै प्रसंशा गरे पनि कम नै हुन्छ । भर्खरै आमाको मुख हेर्ने आमा औशी पनि सबैले धुमधामरुपमा मनाएको आभाष प्रदेशमै बसेर पनि महशुष सबैले गरियो । सामाजिक संजालहरु रंगिए । अनेक मर्मस्पर्शी भावनात्मक संवेदनाले समेटिएका लेखहरु पनि पढ्न पाईयो । सबैले जसो यो स्तम्भकारले पनि आमाको तस्वीर राखेर भावनात्मक अभिव्यक्ती राख्ने काम गर्यो र नेपालमा आमालाई फोन पनि गर्यो तर त्यो फोन नियमित जस्तो फोन थियो किनकी नियमित २-३ दिनमा फोन गरेरै भएपनि सञ्चो विञ्चोको जानकारी लिने काम नेपालबाट प्रदेशीए पछिको नियमित कार्यनै थियो यो स्तम्भकारको तरपनि यो विशेष थियो र फोनकार्डले काम नगर्दा मेसेज नेपालमा पठाएर उतैबाट फोन गर्न भन्नु परेको पनि थियो यो आमा औशीमा ।

सायद जताततैबाट फोन गर्दा नेटवर्कमा लोड बढीले पनि हुन सक्छ । जे होस् नेपालबाटनै फोन आएर भएपनि सम्पर्क हुन सक्यो खुशी लाग्यो । विदेश तथा स्वदेशमै भएर पनि विविध कारणले घरमा पुगेर आमाहरुसँग भेट नहुनेहरुले सायद फोन र सामाजिक संजालबाट “भोईस च्याट ” गरेर भएपनि सम्पर्क गरेको हुनुपर्दछ, सबैबाट त्यसै भए होला । कतिपयले समयको व्यस्तता र विविध कारणबाट सम्पर्कमा आएनन् होला र आमाहरु दु:खी पनि बने होलान् ।

जे होस् परम्परागत रुपमा मातातिर्थ औशीमा आमाहरुलाई संझने कामको स्वरुपले पृथक शैली लिएको भएपनि कम्तीमा एक दिन आमालाई संझना गर्नु राम्रो संस्कारको विकास मान्नु पर्छ । कतिपयले सामाजिक संजाल र अनलाईन डिजिटल मिडियामा लेखहरु लेखेर आमाको फोटोहरु फेसवुक लगायतको संजालमा राखेर आकर्षक एवं भावनात्मक अभिव्यक्ती दिनुलाई नकारात्मक टिकाटिप्पणी गरेको पनि देखियो । वास्तवमा यस्ता टिप्पणी चर्चा बटुल्नको लागी गरिएको फुस्रो आडम्वरीपन सिवाय केही हुन सक्दैन । आमालाई नसंझनेले हिम्मत गरेर सामाजिक संजालमा न फोटो राख्न सक्छ न त संदेश लेख्न नै सक्छ किनकी झुट कुराहरु अभिव्यक्त गर्नेको तत्काल अरुले प्रतिकार गरि हाल्छन् त्यो डरबाट आमालाई सडकमा अल्पत्र छोड्ने र फकाएर, छलछाम पारेर पशुपतिनाथको मन्दिर परिसर र वृद्धाश्रममा छोडेर आउनेहरुले त्यति धेरै जोखिम मोल्न सक्दैनन् । बुहारी र छोराहरुबाट हेला गरिएकी आमाको फोटो पनि फेसवुकमा पक्कै सजाउन सकिदैन किनकी त्यसमा पनि साथीसंगीहरु, छिमेकीहरुले औला ठड्याउने डर र त्रास मनमा पक्कै रहेको हुन्छ ।

यति भनिरहँदा सबै टिकाटिप्पणी शत प्रतिशत झुट्टा हुन भनि दलिल पेश गर्न सकिदैन, कोही कसैले यस्ता नक्कली आडम्वरीपन देखाएको भएको पनि हुनसक्छ र त्यसो भएको भएपनि तिनीहरु आफै हिनतावोधको आगोमा जल्ने छन् र ती तमाम आमाहरुको सराप लाग्ने छ जसले आमाको फोटो फेसवुकको भित्तामा टाँसेर अनावस्यक नाटक गरे । नाटकनै सही अव उप्रान्त ती तमाम छोरा र बुहारीहरुमा सद्वुद्दी आउन सकोस् र आमाबाबुलाई सधै ससम्मानित जीवन विताउने अवसर प्रदान गरुन ।

कुनै पनि आमालाई सन्तानको मायामा एकोहोरो तड्पिएर आँशुले मुख धोएर शिरानी आँसुले भिझाएर हर रातहरु विताउन नपरोस् यही कामना गरौ । कही कतै लहैलहैमा लागेर बाटो विराएर आमाहरुलाई हेला, अपमान र अपशब्द प्रयोग गरेको भएपनि आउँदा दिनहरुमा त्यसो कसैबाट नहोस् । कम्तीमा अरुले सामाजिक संजालमै भएपनि आमा प्रति देखाएको भावनात्मक सम्वन्ध र आत्मियतालाई अनुसरण गरेर वास्तविक व्यवहारमा आमाहरु सम्मानित हुन सकुन । कुनै पनि आमाले आफ्नो सन्तानलाई धर्तीमा जन्म दिएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएर आफुबाट टाढिएको अनुभव गर्दै आफ्नो कोखलाई धिकार्न पर्ने अवस्थामा नपुगुन, सन्तानकै माया-ममताको छत्रछहारीमा जीवनको अन्तिम श्वास फेर्न सकुन् ।

सडकमा अल्पत्र पारिएका आमाहरुलाई दिक्षा चापागाईहरु, दिल शोभाहरु जस्ता अशायलाई संरक्षण गर्ने सामाजिक संस्थाहरुका अभियन्ताहरुले शरण दिनु परेको समाचारहरु कतै प्राथमिकताको न्युजमा सुन्न नपरोस् । टेलिभिजनको पर्दामा कुनै आमाहरु वृद्धाश्रममा सन्तानको एकपलको मायाको लागी आँशुका धाराहरु बगाएको तितो दृश्य देख्न नपरोस् । बर्षौ देखि आमाबाबु र परिवारलाई छोडेर लापत्ता बनेर सम्पर्क विहीन बनेर विदेशमा मोजमस्ती गर्ने युवाहरुको दिमागमा चेतनाको घण्टी बजेर घर संझेर घर फर्की परिवारको खुशी फर्केर आउन सकोस् । यस्तै यस्तै कामना गर्दै बर्षै भरी, सधैभरी आमाबाबुलाई सबै छोराछोरीहरुले संझिरहुन र सधै आफ्नो कर्तव्यपालन गर्न सकुन् यही शुभकामना यस बर्षको आमा औशीको उपलक्ष्यमा ।

अन्तमा एउटा कुरा भन्नै पर्छ, हामी कतिपय चाहेर नचाहेर, अवसर हुँदाहुँदै या नभएका कारण जे जस्तो कारणले भएपनि परिवार वा आमाबाबुहरु देखि टाढा रोजगारीको सन्दर्भमा बस्नु परेको छ । त्यस्ता व्यक्तीहरु आफ्ना आमाबाबुहरु सँगसँगै रहेर उनीहरुको सेवा गरेर बस्ने रहर हुँदाहुँदै परिस्थितीले त्यो संभव नहुनेहरु पनि ५० औ लाख भन्दा बढि छौ, तीनीहरुको समस्यालाई पनि समाज र परिवारले बुझ्नु पर्छ र आमाबाबुहरुलाई कम्तीमा केही न केही उपयुक्त व्यवस्था गरेर घर गाउँमा बस्ने व्यवस्था मिलाउनु जरुरी छ । कतिपयको त परिवारको पुरुष सदस्य वा महिला सदस्यहरु मात्र रोजगारमा हुन सक्छन् र घरमा बस्नेहरु बुहारी, छोरीहरु, अरु छोराहरु, नातीनातिनीहरुको रेखदेखमा आमाबाबुहरु होलान् तर कतिपयका त आमाबाबु बाहेक अरु सपरिवार विदेशमा स्थायी बसोबास गरेका पनि होलान् तिनीहरुले आवस्यक व्यवस्था मिलाएर कलल भोक लागेको वेला उचित खाना, प्यास लाग्दा पानी, विमारी हुँदा औषधीमुलो र चाडबाडमा छोरी-ज्वाई, ईष्टमित्रहरु, आफन्तहरु सँगै बसेर खुशियाली मनाउन सक्ने व्यवस्था मिलाउन सक्नु पर्छ तव मात्र सन्तान भएर जन्मिएको सार्थकता हुन्छ ।

त्यस्तै आमाबाबुहरुले पनि सन्तानको विवशता र बाध्यता बुझेर सोही अनुसार आफुलाई कसरी बस्दा सहज हुन्छ बताउनु पर्ने हुन्छ र सकभर परिवार भित्रका समस्याहरु सामुहिक प्रयासमै समाधान गर्नुपर्ने हुन्छ । दुई वा दुई भन्दा बढि छोराछोरी हुनेहरुको विशेषत नेपालमा आमाबाबुलाई वृद्ध अवस्था पुगेपछि हेरचाह गर्ने सम्बन्धमा र अंशवण्डामा देखिने समस्याहरुलाई पनि आपसी समझदारीमा मिलेर समाधान निकाल्नु पर्छ ।

यस्ता सामान्य घरायसी समस्याबाट ठुला-ठुला घटनाहरु पनि घटेको देखिएको छ यसलाई पनि एकखाले सामाजिक चेतनाको हिसावले समाजमा सबैलाई सुसोचित गर्ने काम समाजमा सकृय सामाजिक संघ-संस्थाहरुबाट हुनु जरुरी देखिन्छ ।

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया