बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०९:१७
वासिङटन डिसी 23:32

बालुवाटारमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग राखे कडा शर्त, जवाफ दिन नसकेपछि…

इनेप्लिज २०७३ वैशाख २२ गते १९:४६ मा प्रकाशित

Oli-Prachanda

काठमाडौं, २२ वैशाख । सत्तारुढ दल नेकपा एमाले र सत्ता साझेदार दल एमाओवादी बुधबार राति वार्ता भएको छ । राति ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एमालेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता हस्तान्तरणका लागि एउटा शर्त राखेको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि सरकारको नीति तथा कार्यक्रम र बजेट पास गर्न दिएपछि तपाईलाई म आफै प्रधानमन्त्रीमा सिफारिस गर्छु भन्दै शर्त राखेका हुन् । ओलीले जेठ १५ सम्म आफ्नो नेतृत्वको सरकार टिक्नुपर्ने अडान प्रचण्डसँग राखेका हुन् । ओलीको यो शर्तपछि एमाओवादी नाजवाफ भएको छ । उसले यस विषयमा थप छलफल गरिनुपर्ने मात्रै बताएको छ । बरु एमालेलाई आफ्नो नेतृत्वमा निर्माण हुन लागेको सरकारमा सहभागी हुन प्रचण्डले आग्रह गरे । ओलीले राखेको शर्तबारे भोली पहिला एमाओवादीले आफ्नो पार्टी र पछि एमालेसँग छुट्टै वार्ता गर्ने तय भएको छ । दुई पार्टीबीच विहीबार विहान पुनः बैठक बस्नेछ । यसअघि लाजिम्पाटमै बुधबार साँझ बसेको एमाओवादी स्थायी समिति बैठकले एमालेसँग अन्तिम छलफल गर्ने निर्णय गरेको थियो । तर, प्रम ओलीको शर्तका कारण आजको बैठकमा प्रचण्डले स्पष्ट जवाफ दिन नसकेपछि भोली पनि एमाले र एमाओवादीबीच विहानै वार्ता हुने भएको छ । बुधबार विहान एमाओवादीको स्थायी समिति बैठकले वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेपछि प्रधानमन्त्री ओली दलहरुसँग परामर्शमा व्यस्त छन् ।

प्रतिक्रिया