कार्यकर्ता : अनुयायी कि भक्त ?

इनेप्लिज २०७३ वैशाख २२ गते १०:२८ मा प्रकाशित

bishwa ji

कुनै धार्मिक किताबमा पढियो भन्दैमा कुनै कुरा विश्वास नगर। चलिआएको संस्कार हो भन्दैमा कुनै कुरा विश्वास नगर। आफ्नो गुरु वा आफू भन्दा ठूला-बडाले भन्यो भन्दैमा कुनै कुरा विश्वास नगर। आफ्नो विवेक प्रयोग गर, विचार र विस्लेषण गर, अनि आफ्नो विवेकसँग मेल खायो भने मात्र विश्वास गर। ” – गौतम बुद्ध

भगवानले मान्छेलाई बुद्दि दिएका छन् जसको कारणले मान्छे अरु प्राणी भन्दा फरक छ।  मान्छेसँग सोच्न सक्ने शक्ति छ जुन अरु प्राणीसँग छैन।  आफ्नो बुद्दि-विवेकको प्रयोग गर्नु नै वास्तबमा मान्छेको चिनारी हो। नत्र त शहिद गंगालाल श्रेष्ठले भने झैं “मान्छे र जनवारमा के फरक भो त? बस्, मान्छे दुइ खुट्टामा हिड़छ भने जनावर चार खुट्टामा।” आफ्नो विवेक प्रयोग नगर्ने हो भने हामी आफुलाई कसरी मान्छे भन्न सक्छौं त?

कुरा भर्खरैको हो। नेपालबाट हालसालै नेपाली कांग्रेसका महामन्त्री निर्वाचित डा. शसांक कोइराला अमेरिका भ्रमण आएका छन्। नेपाली कांग्रेसको भ्रात्रि  संगठन “जनसम्पर्क समिति, अमेरिका” ले न्यूयोर्क, भर्जिनिया, र शिकागो लगायत विभिन्न ठाउंहरुमा कार्यक्रम गर्यो। कार्यक्रम राम्रै भएको समाचार सुनिन पाइयो। तर, सबै कार्यक्रम बाट एउटा कुरा के पनि सुनियो भन्दा “कार्यकर्ताहरुले शसांकजीको पुरानै पाराले चाहिने भन्दा बढी नै ‘जयजयकार’ मात्र गरेको र विश्लेषनात्मक प्रश्न बिरलै गरिएछ”। पुरानो पुस्ताको “चाकडीबाज” परम्परालाई अहिलेको पुस्ताले तोड्नुको साटो उल्टो निरन्तरता दिएको देखेर सोचमग्न बनायो। हाम्रो देश र समाजकै विकासमा ठूलो बाधक यस्तो संस्कारलाई हामी नयाँ पुस्ताले देशमा त कुरै छाडौं, यहाँ अमेरिका सम्म बोकेरै ल्याएछौं। यो कुराले के फेरी पुष्टि गर्छ भने “मान्छेको बुद्दि परिवर्तन नभए सम्म जहाँ गए नि उही हुँदो रहेछ। पुरानो र नयाँ पुस्तामा केही फरक पर्दो रहेनछ यदि बुद्दि उही रहेछ भने।” यस्तो पाराले देश र समाजले हाम्रो पुस्ताबाट के आशा गर्ने?

संसारको सात आश्चर्य भन्दा ठूलो आश्चर्य हरेक मान्छेको खोपडीमा छ। बस् तेस्लाई चिनेर प्रयोग गर्न सक्नु पर्छ। त्यो खोपडी भित्रको चिज परिवर्तन गर्न सकियो भने हामी आफ्नो देश छाडेर अवसरको खोजीमा कतै जानुपर्दैन। आफ्नो देशनै अमेरिका वा जापान जतिकै बनाउन सक्छौं। अमेरिका, जापान के तेही मान्छेको बुद्दिकै चमत्कार हैन र? अब पनि हामी नेपालबाट कोही नेता आयो भन्दैमा नतमस्तक भएर भक्ति गर्ने कि आफ्नो बुद्दि-विवेक प्रयोग गरी साँच्चै उपयोगी विचार र सल्लाह दिने? आफू र आफ्नो देश र समाजको वर्तमान र भविष्यसँग जोडिएका गुदी कुरामा बहस, विश्लेषण, र विचार गर्ने कि खालि नेताको कान शीतल पार्ने “गुण-गान” मात्रै गाइरहने हो? हाम्रो पुस्ताले यस्तो व्यहार देखाएछि कुन् नैतिकताले हामीले पुरानो पुस्तालाई मात्र दोष दिन मिल्छ?

आजको अहम प्रश्न रहेको छ – हामी आफ्नो विवेक प्रयोग गर्ने “अनुयायी” हौं कि “हो मा हो” मिलाउने “भक्त”? हामी आफ्नो व्यक्तिगत र गुटको स्वार्थ हेरी समय अनुकुल “जयजयकार” गर्ने “भिड” हौं कि नेतालाई सहि काम गर्दा “ताली” र गलत काम गर्दा “गाली” गर्ने “विवेकशील जमात” हौं? यो प्रश्न आज नेपाली कांग्रेस मात्र हैन सबै पार्टीका कार्यकर्तालाई छ। कार्यकर्तालाई मात्र हैन सबै जनतालाई छ। जबसम्म हामी यो स्तरभन्दा माथि उठ्न सक्दैनौं, तबसम्म जति नेता फेरे पनि, जति संबिधान फेरे पनि हाम्रो देश माथि उठ्न सक्दैन। दोष यसमा नेताको पनि छ। जो नेता आफ्नो भन्दा फरक विचार सुन्न चाहदैन, त्यो नेता “विवेकशील नेता” हुदै हैन। जो नेता “चाकडीबाजी” लाई व्यहार वा विचारले, खुलेर वा मौन समर्थन गर्छ, त्यो वास्तबमा सच्चा नेता हैन। त्यस्तो नेताले न आफुलाई सच्याउने मौका पाउँछ न देशलाई सहि मार्ग देखाउन सक्छ। बरु देशलाई खाल्डोमा हाल्न सक्छ, आफ्नो वरिपरिको गलत सल्लाहले । यसले “प्रणाली” भन्दा उही पुरानो “ब्यक्तिबादी” प्रबितीलाई प्रश्रय दिन्छ। यसले “सच्चा लोकतन्त्र” लाई घात गर्दछ।  यसले “क्षमता” भन्दा “ चाकडीबाजी ” लाई प्रश्रय दिन्छ। , जुन पार्टी, समाज, र देशमा “क्षमता” भन्दा ” चाकडीबाजी” को कदर हुन्छ, त्यो पार्टी, त्यो समाज, त्यो देश जहिले नि पछि परिरहन्छ।

पार्टी, समाज, र देश कुनै एउटा व्यक्ति वा समूह वा परिवारको पेवा हैन। “अनुयायी” नभईकन कोहि नेता बन्न सक्दैन, कुनै पार्टी  बन्न सक्दैन। हरेक पार्टीमा हरेक कुनाकाप्चाका कार्यकर्ताको उतिकै हक छ र उतिकै आवाज हुनुपर्दछ । नेता र पार्टी गलत दिशामा जाँदैछ भने सावधान गराउन पर्दछ, सहि मार्ग देखाउनु पर्दछ। नेता जहिले पनि सहि हुन सक्दैन ।  नेता र कार्यकर्ताको सम्बन्ध ढुंगा र माटो को जस्तो हुनु पर्दछ – एक अर्काको भर, नकि दुवै माटो जस्तो – पानी पर्दा जाँदा दुवै बगी जाने। जुन पार्टीमा यस्तो हुन्छ, त्यो पार्टी दुरगामी रूपमा बलियो हुन्छ। त्यस्तो पार्टीमाथि देश र जनताले सहि मार्ग देखाउने ढुक्क हुन सक्छ। के हामी त्यस्तो पार्टी बनाउन सक्छौं?

पुरानो पुस्ताले जति गर्नु छ गरे र गए। देश र समाजको बर्तमान र भविष्य हाम्रो काँधमा छ। पालो हाम्रो छ। पुरानै पारा दोहोर्याउने हो कि व्यहारमा परिवर्तन देखाउने हो। देश, समाज, र जनताले हेरिरहेका छन्।

 [email protected]

 

प्रतिक्रिया