शनिबार, असोज ३० २०७८
काठमाडौं १५:१९
वासिङटन डिसी 05:34

अमेरिका “तातो दुध निल्नु न ओकेल्नु “जस्तै -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ वैशाख २१ गते १९:३९ मा प्रकाशित

prakash 1

अमेरिका कल्पनामा र सपनामा स्वर्ग भन्ने गर्छन् नेपालमा बस्नेहरु अधिकांश मान्छेहरुले । एक हद सम्म सही पनि होला भौतिक सुख र सुविधाको चाहना राख्नेहरुको लागी एवं यथार्थता नभोग्नेहरुको लागी तर वास्तविकता त्यतिवेला थाहाँ लाग्छ जतिवेला अमेरिका टेकिन्छ र वास्तविकता व्यहोरिन्छ । संसारमा शक्तीशाली मानिने देशलाई स्वर्ग मान्नु पनि नाम र प्रचारबाजीको कारण पनि हुन सक्छ र अर्को कुरा स्वर्ग के अर्थमा मान्ने भौतिक संरचना र सुविधाहरु देखेर की आत्म सम्मानको आधारमा । यो व्यक्ती पिच्छेको बुझाईमा भर पर्ने कुरा हो ।

पक्कै हो टेक्नोलोजीमा भएको प्रगतीलाई आत्मसाथ गरि अमेरिकामा आधुनिक सुविधा सम्पन्न भौतिक संरचना र विकासका पुर्वधारहरु सडक -रेल -जल -हवाई यातायात, संचार, व्यवस्थित आवास, सरसफाई, विजुली, खानेपानी देखि कलकारखाना, मनोरम आधुनिक शहरी क्षेत्रहरुको भरपुर व्यवस्था आकर्षक ढंगबाट व्यवस्थित गरिएको छ । झट्ट हेर्दा झिलीमिली शहर देख्दा र सबैको व्यस्तता देख्दा पहिलो चोटी देख्नेलाई लाग्न सक्छ साँच्चिकै अमेरिका सपनामा देखिने स्वर्गनै रहेछ तर लामो समय काम गर्दै जाँदा र अमेरिकी व्यस्त जीवन अनि बाँच्नको लागी गर्नु पर्ने संघर्षपूर्ण चुनौतीयुक्त यान्त्रिक दैनिकीसँग साक्षात्कार हुँदै जाँदा बल्ल थाहाँ लाग्छ की अमेरिकन जीवन ठिक की बरु खोले-सिस्नो खाएर विताएको गाउँले पाखे जीवन ठिक ।

जतिवेला हामी सपनाको वायुपंखी चढेर अनेक उपाय लगाएर अमेरिका आउँछौ त्यती बेला हामी सोच्छौ की ठुलो युद्ध जितेर महान बनियो र आफुलाई गाउँका व्यक्तीहरु भन्दा अव्वल दर्जाको ठानिएको महशुष गरिन्छ तर दिन बित्दै जान्छ, पाखुरीमा ताकत र उमेरले नेटो काट्न थाल्छ तव घरगाउँको डाँडा-पाखा, चौतारी, सल्लाघारी, खोलानाला, बनजंगल , भिरपाखा, खेतवारी, बाल्यकाल विताएको टोल छिमेक, पढेको स्कुल -कलेज, साथीभाई, ईस्टमित्र, नातेदार सबैको यादहरु हरपल आँखा वरिपरि टिलिपिली टेलिभिजनको पर्दामा आएको दृश्य झै आईरहन्छ र हरपल ती अतितहरुले सताई रहन्छ ।

जव आफ्ना सन्ततीहरु अमेरिकाको रहनसहन, संस्कारमा रुपान्तरित भईसकेका हुन्छन् तव आफु भने चंगा झै उडेको मन लिएर दिनहरु गन्ती गर्दै बस्नु पर्ने हुन्छ । अमेरिका प्रवेश गरे देखि रात दिन नभनी साहुको काममा लरीघसी गरेर डलरको पछि लाग्दा न समयमा आहारविहारमा ध्यान दिन सकिन्छ न त आफ्नो स्वास्थमा उचित ध्यान जसले गर्दा उमेर ढल्किदै जाँदा अनेक थरी रोगहरु एकैचोटी देखिन थाल्छन् र विस्तारै काम गर्ने सामार्थ्य घट्दै जानु एवं आम्दानीको स्रोत घट्दै जाँदा सन्ततीहरुको माया-ममतामा पनि कमि आएको महशुष हुन थाल्छ ।

दुनियाँमा जतिसुकै आदर्शका कुरा गरे पनि मान्छेको माया अन्तिममा पैसा वा सम्पत्तिमानै गएर ठोक्किने गर्छ । यदी तपाईको कमाई घट्दै गयो भने न त तपाईको श्रीमान् वा श्रीमती वीच गहिरो प्रेम सम्बन्ध नै कायम हुन सक्छ न त छोराछोरीहरु र आफन्तहरु वीच किनकी संसारको सृष्टीनै यस्तै स्वार्थयुक्त हुन्छ । सम्पुर्ण परिवार त्यागेर तपस्यामा बसेको तपस्वीको पनि केही न केही स्वार्थ हुन्छ भने सांसारिक माया ममतामा आवद्ध व्यक्ती एवं परिवारमा स्वार्थ नहुने कुरै भएन ।

यसरी ढल्किदो उमेरमा अमेरिका बसाईलाई गहनरुपमा हेर्ने हो भने व्यक्तीहरुले चाहेर भन्दा पनि बाध्यताले र परिवारबाट अलग भएर बस्न सक्ने अवस्था हुन नसक्ने स्थितीले गर्दा मनलाई थामेर बलजफ्ती बसिरहेका हुन्छन् । वास्तवमा बुढेसकालमा नेपाली परिवेश, संस्कारमा गाउँघरमा दैनिक जीवन विताउन पाएमा मनमा आनन्द अवस्य आउँछ । सधैजसो यान्त्रिकतवरबाट काम गर्नु पर्ने, चाहेको बेला विश्राम गर्न पनि समय नमिल्ने, सबै परिवारका सदस्यहरुको काम र कामको समय नमिल्ने, फरक परिवेश, रहन सहन, संस्कारमा काम गर्नु पर्ने, हरपल विभिन्न मानसिक तनावहरु झेलिरहनु पर्ने, विभिन्न कानुनी औपचारिकताहरु हरेक काम र व्यवहारमा अवलम्बन गरिरहनु पर्ने जस्ता विविध कारणले पनि नेपालको जस्तो तनाव रहित जीवन अमेरिकामा बिताउन पाईदैन भन्दा पनि हुन्छ ।

यति भनिरहँदा अहिलेका युवा जेनेरेशनको लागी भने अमेरिकामा पढ्ने र पढि सकेपछि योग्यता र रुची अनुसारको काम गरि जीवनलाई आधुनिक युग सापेक्ष अगाडी बढाउन सकिने अवसर मिल्न सक्छ । जो केही परिपक्क जीवन नेपालमै विताएर आएको हुन्छ त्यसको लागी भने अमेरिका वास्तवमै न खानु न छोड्नु घाडो नै हुन्छ उमेर ढल्केर अगेनामा बसेर आगो ताप्ने अवस्था आएको बेला भने । जीवनको आधा उमेर नेपालमै विताएका व्यक्तीहरुमा यस्तो अनुभव प्रायः देखिएको पाईन्छ तापनि अपवादको रुपमा केही उमेर ढल्केकाहरु समेत यतैको तामझाम र भौतिक सुविधाहरुमा आफुलाई रमाईलो महशुष गरेको पनि पाईन्छ । सामान्यतः जतिसुकै देखावटी हाँसो हाँसे पनि जन्मेको घरआगन झुपडी र गाउँघर विकटनै भएपनि त्यसलाई भुल्न सकिदैन तर विविध बाध्यताले गर्दा विदेशी भुमिमा तातो दुध निल्नु न ओकेल्नु भएर बाँचिरहनु पर्ने देखिन्छ ।

यदी देश भित्रै उचित रोजगारीको अवस्था आउन सके नेपालनै प्राकृतिक र भौतिकरुपमा स्वर्ग बन्न सक्थ्यो । अझै सामान्य जीवन निर्वाह निर्वाधरुपमा गर्न पाउने अवस्था सृजना हुन सके अन्य मुलुकमा चाहेर पनि नेपालीहरु सदाको लागी जीवन विताउन लालयित अवस्य हुने छैनन् । यसको लागी सबै नेपाली र नेपालका राजनेताहरुले वेलैमा सोच्नु जरुरी छ । बिडम्वनानै मान्नु पर्छ की राजनितिक खिचातानी र असमझदारीले गर्दा नेपालले अझै विकासको गति लिन सक्ने कुनै आधार देखिन सकिएकाे छैन तसर्थ पनि दैनिक जसो खुकुरीको धारमा जीवनलाई राखेर कठोर यात्रा लाखौ खर्च गरेर नेपाली युवाहरु अमेरिकामा चोरबाटो भएर पनि आउन बाध्य छन् । यस्तै युरोपका विभिन्न देशहरुमा समेत त्यसरी नै दैनिक युवाहरु जाने क्रम बढ्दो छ । केही बर्ष पहिला देखि दक्षिण कोरियामा कामदारको रुपमा सरकारी कोटामा जानको लागी नेपाली पढे लेखेका दक्ष युवाहरु पनि मरिहत्ते गरेको देखिन्छ यसले पनि युवाहरुको भौतिक शरिर नेपाल रहेर पनि मन र मस्तिष्क जति विदेशकै भुमिमा रहेको स्वत: सावित हुन्छ ।

यसरी दिनप्रतिदिन युवाहरु नेपाल छोडी रोजगारी एवं स्थायी बसोबासको लागी विदेशीनु कुनै पनि हालतमा देशको लागी दीर्घकालिन हित हुन सक्दैन । तसर्थ युवा जनशक्तीलाई देश भित्रै काम गर्ने अवसर सृजना जव सम्म हुँदैन तव सम्म नेपालले आर्थिक प्रगती र सम्पन्नताको मार्ग तर्फ आफुलाई अगाडी बढाएको ठान्न सकिदैन । अत: वैदेशिक रोजगारी अल्पकालीन समस्या समाधानको आधार बन्न सक्छ तर दीर्घकालिनरुपमा वैदेशिक रोजगारीले सकारात्मक प्रभाव पार्न सक्दैन । त्यसैले वैदेशिक रोजगारी तासको घर जस्तै हो जतिवेला पनि भत्किन सक्छ तसर्थ देश भित्रै स्थायी रोजगारीको बाटो खुल्नु पर्छ ।

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया