गुणराज लुईटेल द्वारा नेजा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा

इनेप्लिज २०७३ वैशाख २१ गते १३:३० मा प्रकाशित

13094102_1015778088500047_5052920980681400185_n

अमेरिकाको लस एन्जेलसमा आगामी मे ७ र ८ तारिखमा हुने नेपाल अमेरिका पत्रकार संघ(नेजा )को महाधिवेसनमा हुने निर्वाचनमा अध्यक्ष पदको लागि पत्रकार गुणराज लुईटेलले उम्मेदवारीको घोषणा गरेका छन् l

उनले विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारिता पेशा र ब्यवसायको सिलसिलामा अनाहकमा ज्यान गुमाएका ज्ञात अज्ञात पत्रकारहरुप्रति श्रद्धान्जली अर्पण गर्दै नेजाको आसन्न पांचौं महाधिवेशन तथा १० औं साधारण सभामा संस्थाको अध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेको छापा बिज्ञप्तिमा जनाएका छन् l

स्थापना कालदेखि नै मूल प्रवाहमा संलग्न रहंदै आएको र सदैव नेजाको विकासमा सक्रिय सहभागिता जनाउदै आएको भन्दै उनले उम्मेदवारी दिएका छन् l उन्ले नेजालाई पाश्चात्य पत्रकारितासंग घुलमिल गराइ नेपाल र नेपाली पत्रकारितालाई अमेरिकी पत्रकारिताको मूलप्रवाहमा परिचित गराउन, नेजा भित्र र विविध कारणले बाहिर रहनु भएका साथीहरुलाई समेटेर उदार भावनाले एकतात्मक वातावरण सिर्जना गरी क्लवको अवधारणा विकसित गर्ने प्रतिबद्धता जाहेर गरेका छन् l

उनले अगाडी भनेका छन् ,नेजाका सदस्यता र संगठनलाई चुस्तदुरुस्त पार्न, नेपालमा भएका पत्रकार र नेपाली पत्रकारितासंग अझ गाढा साइनो जोड्न, नेजाको कोष सुदृढ गर्न, नेजालाई आम संचारको अन्तरराष्ट्रिय गैर सरकारी अभियानमा सामेल गराउन आफ्नो मूल मुद्धाहरु रहेको जनाएका छन् l

योग्य साथीहरुलाई संमान प्रदान गर्न, नेजा संस्थापनाका आधारभूत मान्यतालाई फेरि पुनर्ताजकी दिन एवं अघिल्ला कार्यसमितिहरुले गरेका राम्रा कामहरुलाई निरन्तरता दिन र सच्याउनु पर्ने कामलाई सुधार्न जोड दिने प्रतिवद्धता जाहेर गर्ने उल्लेख गरेका छन् l

विगत २९ बर्षदेखि पत्रकारिता र लेखन पेशामा संलग्न रहंदै अहिले स्वतन्त्र पत्रकारको रुपमा निरन्तर संचार, भाषा र साहित्यको विकासमा संलग्न रहेका छन् ।  उन्ले २०४४ साल देखि दैनिक समाजबाट पत्रकारितामा प्रवेश गरे यता एभरेष्ट मासिक, पिपुल्स रिभ्यू अंग्रेजी साप्ताहिक, संरचना साप्ताहिक, प्रजातन्त्र साप्ताहिक, द कमनर अंग्रेजी दैनिक, विमर्श साप्ताहिक, कान्तिपुर दैनिक, लोकपत्र दैनिक, छानवीन साप्ताहिक, रेडियो नेपाल, स्पन्धन मासिक, सगरमाथा टेलिभिजन (अमेरिका), नेपाली पोष्ट इपत्रिका, नेपाल २४ आवोर्स, ग्लोब नेपाल, इनेप्लिज, डिसी नेपाल इपत्रिका लगायतका मिडियासंग सम्बन्धित भएर काम गरेका छन् l

लुइँटेलले रिपोर्टिङ, सम्पादन, स्तम्भ लेखन तथा साहित्य लेखन मै जीवनको धेरै भन्दा बढी समय लगानी गरेका छन् l नेजाको वृहत्तर विकासको लागि आफू नेतृत्वमा नहुंदा पनि कार्य सम्पादनमा उत्तिकै सक्रिय लागेका छन् l पत्रकारहरुको साझा संस्थालाई दह्रो बनाएर लैजान तन, मन र धन लगाएर पूर्णतः समय दिन चाहेको छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् l

लुइँटेल २०४६ सालमा नेपाल पत्रकार महासंघको साधारण सदस्य तथा २०४७ मा केन्दीय परिषद सदस्य, २०५१ मा नेपाल श्रमजीवी पत्रकार संघको संस्थापक महासचिव ,अमेरिका नेपाल पत्रकार संघको संस्थापक कोषाध्यक्ष, अध्यक्ष जर्नालिष्ट अगेन्स्ट एड्स इन नेपाल, नेपालमा विभिन्न साहित्यिक, लेखकीय संस्थासंग आवद्ध रही काम गरि सकेका छन् l

भोजपुरमा सन् १९६९ जन्मिएका लुइँटेल लामो समय देखि अमेरिकाको भर्जिनिया राज्यमा बस्दछन l अमेरिकी सरकारको फेडेरल डिपार्टमेण्ट होमल्याण्ड सेक्युरिटीमा सूचना तथा प्रविधि विशेषज्ञको रुपमा कार्यरत छन् l

लुइँटेलले नेपालबाट पत्रकारितामा स्नातक, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा बिएलसम्मको अध्ययन तथा अमेरिकाको कार्नेगी मेलन बिश्व बिद्यालय बाट (सीएमयु) बाट सूचना प्रबिधिमा प्रमाणीकरण पाठ्यक्रम आफ्ना औपचारिक शिक्षा हासिल गरेको उल्लेख गरेका छन् l

प्रतिक्रिया