ग्रिसमा नेपाली महिलाबाटै अपहरणमा परे संखुवासभाका २४ वर्षीय गुरुङ

इनेप्लिज २०७३ वैशाख १६ गते १४:३८ मा प्रकाशित

Video_News_1-768x438

काठमाडौं, १६ बैशाख । वैदेशिक रोजगारीका सिलसिलामा अवैध बाटोबाट ग्रिस पुगेका एक नेपाली युवक नेपाली महिलाबाटै अपहरणमा परेका छन् ।

ग्रिसमा अपहरित नेपाली नागरिक संखुवासभा चैनपुर नगरपालिका–१ ओरिङ्गाका २४ वर्षीय कृष्ण गुरूङ्गलाई स्थानीय प्रहरीले सकुशल उद्दार गरेको छ ।

उनलाई अपहरण गर्ने नेपाली महिलासहित अपहरणमा संलग्न ५ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपाली नागरिकहरु ३१ वर्षीया आइती घले र ३५ वर्षीय दल थापा तामाङ्ग तथा भारतीय नागरिक २७ वर्षीय जामल काजी, बंगलादेशी नागरिक २८ वर्षीय मामुन मुल्लाह र पाकिस्तानी नागरिक ३२ वर्षीय मनसुर अहमेद रहेका छन् ।

अपहरणमा संलग्न अन्य २ जना बंगलादेशी नागरिक हाल फरार रहेका छन् ।

गुरूङ्गले आफू अपहरणमा परेको भनि उनका दाजु चन्द्रप्रसाद गुरूङ्गलाई गत चैत १७ गते खवर गरेपछि ब्यूरोले तत्काल इन्टरपोलमार्फत ग्रिस प्रहरी तथा चन्द्रप्रसाद एवं उनका आफन्तसँग सम्पर्क, समन्वय र सूचना आदानप्रदान गरी अपहरणकारीको पहिचान, पक्राउ र पीडितको उद्दारको लागि प्राप्त प्रमाणहरुको प्राबिधिकरुपमा बिश्लेषण गरी ग्रिस प्रहरीलाई सूचना सम्प्रेषण गरेको थियो ।

एथेन्स सहरका सम्भाबित र शंकास्पद ईलाकाहरूमा ग्रिस प्रहरी परिचालित गराई पीडितलाई सुरक्षित पार्ने उपायहरु अवलम्बन तथा पीडित रहेको स्थानको पहिचान गर्दै न्यायिक निकायको रोहबरमा बैशाख १ गते पीडितलाई हातखुट्टा बाँधिएको र शरिरका बिभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा एथेन्सको किपसेली ईलाकाबाट अपहरण मुक्त गरी संलग्न ब्यक्तिहरूलाई ग्रिस प्रहरीले पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको थियो ।

अपहरणमा संलग्न अन्य व्यक्तिहरु

अपहरणमा संलग्न अन्य व्यक्तिहरु

प्रारम्भिक अनुसन्धान अनुसार अपहरित गुरूङ्ग बिगत ७ वर्षअघि बैदेशिक रोजगारको शिलशिलामा ईराक गएकोमा २ वर्षदेखि ग्रिसको थेसालोनिकी भन्ने शहरमा बसेको र मार्चको अन्त्यतिर एथेन्स आएको खुल्न आएको छ । सो क्रममा नेपाली महिला आइती घलेले आफ्नो अपार्टमेन्टमा बोलाइ नेपाली, पाकिस्तानी, भारतीय, बंगलादेशीसमेत अन्य ४ जना समेत भइ गुरूङ्गलाई बन्धक बनाएको खुल्न आएको छ ।

अपहरणकारीले नेपाली र हिन्दी भाषाको प्रयोग गरी पीडितका दाजु चन्द्रप्रसादको मोबाईलमा फोन गरी १४ हजार युरो फिरौती रकम माग गरेको र सो नपाएमा कृष्णलाई पाकिस्तान लगेर मार्ने धम्की दिने गरेका थिए ।

पक्राउ ब्यक्तिहरुका सम्बन्धमा ग्रिसको कानुन अनुसार अपहरण तथा शरीर वन्धक, डर, धाकधम्कीद्वारा रकम असुली उद्योग, डाँका, कुटपिट, अबैध हतियारको प्रयोग कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया