सोमबार, कार्तिक १ २०७८
काठमाडौं २२:४१
वासिङटन डिसी 12:56

यसकारण आन्दोलन गर्दैछन् निजी विद्यालयका सवारी चालक

इनेप्लिज २०७३ वैशाख ९ गते २:१४ मा प्रकाशित

school-busलक्ष्मी काफ्ले

झापा, ९ बैशाख । नयाँ शैक्षिक सत्र सुरु भएको एक साता बितेको छ । झापाका निजी विद्यालय धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् । उत्तीर्ण भएका विद्यार्थी पनि नयाँ कक्षामा पढ्न उत्साहित छन् । कतिले त यही समयमा स्कुल परिवर्तन गर्छन् ।

अर्को स्कुलको विद्यार्थी तानेर आफ्नोमा ल्याउन होडबाजी नै चलेको छ अहिले झापाका निजी विद्यालयमा । भर्ना शुल्क मनपरी छ । किताबमा उस्तै । स्कुलले तोकेको मात्र किताब चल्ने । कम्प्युटर विषयको छुट्टै शुल्क । बस भाडा छुट्टै । अभिभावक हैरान छन् ।

अभिभावक र विद्यार्थीलाई अब अर्को सास्ती थपिँदैछ । यही समय निजी विद्यालयका सवारीचालकले आन्दोलन गर्ने भएका छन् । वैशाख १० गतेदेखि उनीहरुले गाडी नचलाउने भएका हुन् । यस विषयमा सम्बन्धित पक्ष बेखबरझैँ छ । नयाँ विद्यार्थी भर्ना गर्नमै व्यस्त विद्यालय प्रशासनलाई यस विषयमा चासो दिने फुर्सद नै छैन ।

झापाका निजी विद्यालयका सवारीचालक सङ्गठित छन् । निजी विद्ययलय चालक संघले पटक-पटक तलब बृद्धिको माग गर्दै आएको छ । पाउँदै आएको तलबले जीविकोपार्जन गर्न समस्या भएको भन्दै संघले चैत ३० गते प्याब्सन र एन-प्याब्सनको कार्यालयमा तलब बृद्धि सम्बन्धी मागपत्र पठायो । तर, त्यस मागपत्रलाई प्याब्सन र एनप्याब्सनले बेवास्ता गरेपछि निजी विद्यालयका सवारीचालक आन्दोलन गर्न बाध्य भएका हुन् ।

आफ्ना माग पूरा नभएसम्म वैशाख १० गतेदेखि गाडी नचलाउने कुरा चालकले आफू सम्बद्ध विद्यालय प्रशासनलाई जानकारी गराइसकेका छन् । विद्यालयका सञ्चालक, प्याब्सन र एन-प्याब्सनले चालक संघको मागपत्रबारे छलफल गर्न भ्याएकै छैनन् । १० गतेभित्र माग पूरा हुनेमा चालक विश्वस्त छैनन् ।

निजी विद्यालय चालक संघका अध्यक्ष पदमलाल तामाङका अनुसार १० गतेदेखि अनिश्चितकालका लागि विद्यालयका गाडी बन्द गरिनेछ । आफूहरुले श्रमको उचित मूल्य नपाएको उनको गुनासो छ । सरकारले गत माघ १८ गते राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक पनि आफूहरुले नपाएको उनी बताउँछन् । ‘यहाँ त जति मनलाग्यो त्यति तलब दिन्छन्,’ उनले भने, ‘श्रम ऐन अनुसार हामीले मागपत्र दिएका हौँ, तर अहिलेसम्म वार्तामा बोलाएका छैनन् ।’

निजी विद्यालयका ठूलो बस र मिनी बस चलाउने चालकको न्यूनतम तलव १८ हजार रुपैयाँ कायम गरिनुपर्ने उनीहरुको माग छ । माइक्रो बस चलाउनेलाई न्यूनतम १६ हजार रुपैयाँ दिनुपर्ने मागपत्रमा उल्लेख छ । मारुती भ्यान चालकलाई न्यूनतम १४ हजार रुपैयाँ कायम गरिनुपर्ने माग छ । सहचालकको तलब न्यूनतम ९ हजार ७ सय रुपैयाँ माग गरिएको छ । त्यसबाहेक एक महिना बराबरको तलब दसैँ खर्च दिनुपर्ने उनीहरुको माग छ । चालक र सहचालकका एक/एक जना सन्तानलाई सो विद्यालयले नि:शुल्क पढाइदिनुपर्ने माग उनीहरुले गरेका छन् ।

‘बिहान र बेलुका गरेर दिनमा चारदेखि साढेचार घण्टासम्म खटाई हुन्छ,’ एक निजी विद्यालयका चालकले भने, ‘बीचको समयमा हामीले के गर्नु र !, हामीलाई पार्टटाइमरजस्तो सोच्छन्, तर, हामी फुलटाइमर हौँ ।’

चालक संघमा जिल्लाका १६३ जना चालक तथा सहचालक आबद्ध छन् । यद्दपि आफूहरुको मागलाई जिल्लाभरिका निजी विद्यालयका चालकले समर्थन गरेको अध्यक्ष तामाङ बताउँछन् । आन्दोलनको स्वरुप कडा हुने तामाङले बताए । ‘यो हाम्रो रहर होइन, बाध्यता हो,’ अध्यक्ष तामाङले भने, ‘अभिभावकले पनि पक्कै बुझ्नुहुनेछ ।’

आफूहरुले आन्दोलन गरिरहँदा विद्यालयले नयाँ चालकको व्यवस्था गरे गाडीलाई विद्यालयको गेटबाट बाहिर निस्कनै नदिने उनले चेतावनी दिए । ‘विद्यालय सञ्चालन होस्, पठनपाठन अवरुद्ध नहोस्, हामी पनि यही चाहन्छौँ,’ उनले भने, ‘तर, माग पूरा नभएसम्म हामी गाडी चाहिँ चलाउँदैनौँ, अभिभावक र विद्यार्थीलाई अप्ठ्यारो हुन्छ, हामीले बुझेका छौँ, यो हाम्रो बाध्यता हो ।’

चालक संघको आन्दोलनको नेतृत्व अखिल नेपाल यातायात मजदुर संघले गर्ने भएको छ ।

प्रतिक्रिया