लन्डन, ८ वैशाख । सभामुख ओनसरी घर्तीलाई बेलायतस्थित नेपाली राजदूतावासमा विशेष समारोहका बीच स्वागत गरिएको छ । लन्डनमा रहेको नेपाली राजदूतावासले नेपाली समयअनुसार बुधबार आयोजना गरेको कार्यक्रममा सभामुख घर्तीसँग रहेका विभिन्न दलका मुख्य सचेतकहरूलाइृ पनि स्वागत गरिएको छ । ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनको निमन्त्रणामा लन्डन आइपुगेको नेपाली संसदीय अध्ययन टोलीमा सात जना रहेका छन् । स्वागत कार्यक्रममा बेलायती सांसद, लर्डस्, सरकारी अधिकारी, बेलायती विदेश र रक्षा मन्त्रालयका पदाधिकारी, काउन्सिलर र नेपाली संघ–संस्थाका प्रतिनिधि एवं पत्रकारसहित एकसय ५० जनाको उपस्थिति थियो । भ्रमण टोलीमा सभामुख घर्तीका साथै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ, एमालेका मुख्य सचेतक भानुभक्त ढकाल, एमाओवादीका मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचेतक दिलनाथ गिरी, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई तथा सचिव मुकुन्दप्रसाद शर्मा रहेका छन् । १७ अप्रिलमा लन्डन ओर्लिएको नेपाली संसदीय प्रतिनिधिमण्डललाई १८ अप्रिलमा उपसभामुख र वेज एण्ड मिन्स् अध्यक्षले स्वागत गरेका थिए । संसदीय प्रतिनिधिमण्डलले पहिलो भेट वुमन एण्ड इक्वालिटिज कमिटी अध्यक्ष एवं एमपी मारिया मिलरसँग गरेको थियो । त्यसपछि फरेन अफेयर्स कमिटी सदस्य एमपी एन्ड्रियू रोसिनडेलसंग भेटवार्ता भएको छ । सोही दिन विदेश मन्त्रालयको दक्षिण एसिया विभाग प्रमुख लाउरा क्लार्क, सर्वदलीय संसदीय समितिका नेपाल ब्रिटेन अध्यक्ष सांसद वीरेन्द्र शर्मा, सर्वदलीय संसदीय समितिका विश्वव्यापी टिबी रोग हेर्ने अध्यक्षसंग पनि भेटेको छ । भेटमा बेलायत–नेपाल दौत्य सम्वन्ध, भूकम्प र पुनर्निर्माण योजना, डिएफआइडीको विकास कार्यक्रममा समन्वय तथा गोर्खाका गुनासा आदिबारे कुराकानी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । १८ अप्रिलका दिन नेपाली प्रतिनिधिमण्डललाई युनियनका कार्यकारी सदस्य एवं सर्वदलीय संसदीय समितिका नेपाल उपाध्यक्ष सांसद डेभिड वायनले एक रिसेप्सन दिएका थिए । १९ अप्रिलको बिहान प्रतिनिधिमण्डलले वेष्टमिनिस्टर टुर गरेको थियो । जसको नेतृत्व फरेन एण्ड कमनवेल्थ अफेयर्स स्याडो मिनिष्टर फेबियन हेमिल्टनले गरेका थिए । दिउँसो प्रतिनिधिमण्डल लर्ड स्पिकर ब्यारोनेस डि सौजाले दिएको दिवाभोजमा सरिक भएको थियो । प्रतिनिधिमण्डलले हाउस अफ कमन्स् सभामुख जोन बर्काउ, सांसद सिमा मल्होत्रा र अन्तर्रा्ष्ट्रिय विकास समिति पदाधिकारीसंग पनि छलफल गरेको छ । प्रतिनिधिमण्डलको साथमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री पनि सहभागी थिए । प्रतिनिधिमण्डलले बुधबार नर्दन आयरल्याण्डको संसद, कज वे इन्सटिच्युट अन द नर्दन आयरल्याण्ड कन्फ्लिक्ट, पुलिस सर्भिस अफ नर्दन आयरल्याण्ड जस्ता विभिन्न निकाय र नेपाली समुदायसंग छलफल गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल २२ अप्रिलमा लन्डन फर्केर भोलिपल्ट साँझ स्वदेश फर्कदैछ ।
प्रतिक्रिया