नेजा कोषाध्यक्षलाई मातृशोक‏

इनेप्लिज २०७३ वैशाख ७ गते ११:२९ मा प्रकाशित

Shovakc

न्यूयोर्क,अमेरिका,अप्रिल १६ | नेपाल अमेरिका पत्रकार संघ-नेजाकी कोषाध्यक्ष बिटु केसीलाई मातृशोक परेको छ | केसीकी ममतामयी माता शान्ता केसीको आज शनिवार बिहान आफ्नै निवास चण्डोल विशालनगर (काठमाडौँ) मा अचानक अप्ठ्यारो महसुस गरेपछि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको थियो | उहाँ ६६ वर्षको हुनुहुन्थ्यो | ह्युस्टनमा रहनु भएका केसीका ज्वाईं एवं नेजाका सल्लाहकार तारा बरालले आफ्नी सासुको निधन ह्रदयघातका कारण भएको फेसबुकमार्फत उल्लेख गर्नु भएको छ | नेजा कोषाध्यक्ष केसी (बराल) आफ्नी आमालाई अमेरिका ल्याउने प्रक्रियामा हुनुहुन्थ्यो | ग्रीनकार्ड समेत प्राप्त भैसकेपछि यही अप्रिल २६ मा नेपालमा उहाँको अन्तर्वार्ता समेत निश्चित भैसकेको थियो | तर अचानक निधन भएपछि त्यो सबै योजना अधुरो हुन पुगेको छ | यसैबीच नेजाका अध्यक्ष गौतम दाहालले आजै एक समवेदना सन्देश प्रकाशित गरी कोषाध्यक्ष बिटु केसीलाई परेको मातृशोकप्रति दु:ख व्यक्त गरेका छन् | नेजाका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,-‘यस नेपाल अमेरिका पत्रकार संघ-नेजाकी कोषाध्यक्ष बिटू केसी (बराल) की ममतामयी माता एवं संस्थाका सल्लाहकार तारा बरालकी सासु शान्ता केसीको शनिवार बिहान निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं |’

विज्ञप्तिको पूर्ण विवरण

हार्दिक समवेदना
यस नेपाल अमेरिका पत्रकार संघ-नेजाकी कोषाध्यक्ष बिटू केसी (बराल) की ममतामयी माता एवं संस्थाका सल्लाहकार तारा बरालकी सासु शान्ता केसीको शनिवार बिहान निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं | ममतामयी माता गुमाउनु परेको यो क्षण संस्थाकी कोषाध्यक्ष केसी र सम्पूर्ण परिवारजनमा पर्न गएको अपुरणीय क्षतिप्रति हामी गहिरो दु:ख व्यक्त गर्दछौं | शोक सन्तप्त सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होओस् भन्ने प्रार्थना गर्दै शोकाकूल परिवार सबैमा हार्दिक समवेदना व्यक्त गर्दछौं | दिवंगत आत्माको चीर शान्तिको कामनासहित हामी स्वर्गीय केसीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं | गौतम दाहाल अध्यक्ष एवं नेपाल अमेरिका पत्रकार संघ परिवार

प्रतिक्रिया