सोमबार, कार्तिक १० २०७७
काठमाडौं १३:३८
वासिङटन डिसी 03:53

धार्मिक सहिष्णुता कायम गरौ, समाजमा भ्रम छर्ने काम छोडौ -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ वैशाख ५ गते २०:३१ मा प्रकाशित

prakash 1

नेपाली समाजमा अहिले धार्मिकरुपमा विभिन्न किसिमबाट भ्रमित र नकारात्मक संदेशहरु प्रवाहित हुने क्रममा तिव्रता आएको पाईन्छ । धर्मको आडमा राजनिती र समाजसेवा गर्नेहरुको लर्कननै देखिन्छ । अझै सामाजिक संजालहरुमा धार्मिक पेज र गुरुप खोल्नेहरु पनि प्रशस्त पाईन्छन् । सबै खाले धर्मका नाममा भ्रम र झुट फैलाएर आफ्नो स्वार्थ र अभिष्ठा पुरा गर्नेको संख्या योजनाबद्ध वा यसै हल्लै-हल्लामा दिन प्रतिदिन बढ्दै जानु त्यती शुभ संकेत पक्कै हैन ।

यति भनि रहदा कुनै धर्मको वकालत र कुनै धर्मलाई धज्जी उडाउने कुनै नियत यस पंक्तिकारको हुँदै होईन । समाजमा आपसमा धार्मिक सहिष्णुता र सद्भावको विकास हुनु पर्छ भन्ने मान्यता सधै -सधै रहिरहेको छ । तर आज समाजमा एक धर्मले अर्को धर्मलाई होच्याउने र आपसमा अपवाह फैलाएर मानिसहरुलाई मानसिकरुपमा “सेन्टिमेन्टल ब्लाक मेलेलिङ ” गरिरहेको जस्तो आभास सहजै अनुमान गर्न सकिन्छ । दुनियामा मानव पुण्य र मानव हित हुने कर्म गर्नु नै ठुलो धर्म र उपकार हुन सक्छ ।

नेपाल परम्परागतरुपमा सनातन हिन्दु धर्ममा विस्वास राख्ने मुलुक भएपनि पछिल्लो समयमा आएपछि विगतमा राज्यले काखी च्याप्दै आएको धर्मलाई मात्रै प्रशय नदिई संविधानत धर्म निरपेक्षता कायम गरेको छ । यसको अर्थ पक्कै कुनै धर्म मान्न पाउने, नपाउने नागरिकको रोजाई हुने र कुनै धर्मै मान्दिन भन्न पनि पाउने अधिकार नागरिकमा हुने होला भनि जनसाधरणले बुझ्नु पर्ला । हुनत प्रत्येक देशमा घोषित वा अघोषितरुपमा कुनै -कुनै धर्मलाई राज्यले आत्मसात गरेरै सरकारी बजेट समेत छुट्टाएर त्यस धर्मको प्रवर्धन गर्न सहयोग गरिरहेको हुन्छ । त्यस्तै हामी सबैलाई थाहाँ भएकै हो । मुस्लिम धर्ममा विस्वास राख्नेहरुको बाहुल्यता रहेको देशमा धार्मिक कानुनलाई महत्वका साथ स्थान दिदै राज्यले जनताको हक, अधिकार प्रदान गरि शासन व्यवस्था समेत संचालन गरेको पाईन्छ । क्रियस्चियन धर्मालव्वीहरुको बाहुल्यता रहेको मुलुकमा चर्चको पादरी वा धर्म गुरुहरुको कतिपय निर्णयहरुलाई राज्य संचालकहरुले महत्वपुर्ण तरिकाले ग्रहण गर्ने साथै सरकारी बजेट विनियोजन गरि त्यस्ता धार्मिक स्थललाई संरक्षण दिने गरेको पनि पाईन्छ ।

यसो त अहिले सम्म पनि नेपालमा काठमाण्डौमा नेवार समुदायको अगुवाईमा मनाउने विभिन्न पर्व घोडेजात्रा, भोटो जात्रा , मछिन्द्रनाथको रथ तान्ने जात्रा लगायत विभिन्न धार्मिक उत्सवहरुमा सरकारी निकायबाट रकम विनियोजन गरेर सहयोग पुर्याएको पाईन्छ । अझै नेपाली मुसलमानहरुले हज वा ईद पर्व मान्ने क्रममा साउदी अरवको प्रसिद्ध स्थलमा जानको लागी आवस्यक बजेट समेत नेपाल सरकारले विनियोजन गर्दै आएको पनि सुनिन्छ त्यस्तै गौतम वुद्धको जन्मस्थल लुम्विनी कपिलवस्तुको धार्मिक स्थलको विकास र संरक्षण गर्न समेत आवस्यक बजेट विनियोजन गर्दै आएको छ । यस्तै पशुपतिनाथ , राम -जानकी मन्दिर जनकपुर, मुक्तिनाथधाम, स्वयम्भु स्तुपा लगायतका धार्मिक स्थललाई संरक्षण, सम्वर्धनमा पनि त्यतिकै राज्यको ध्यान पुगेकै छ । यति हुँदाहुँदै पनि आज नेपालका विभिन्न धर्मालव्वीहरुको विच सुमधुर सम्वन्ध त्यतिसारो कायम हुन नसकिरहेको अवस्था देखिन्छ ।

हामीले एक नजर हाम्रो समाजतिर लगाउने हो भने , परापुर्वकाल देखि सबैले मान्दै आएको हिन्दु धर्म भित्रै विभिन्न मतभेदहरु र अनमेलहरु देखिन्छ । धर्मलाई पेशा बनाउनेहरु अनेकन भ्रम छरेर समाजमा अन्धविश्वासको जालो फिजाई रहेकै छन् । यति सम्मकी कुनै परिवारमा कमाई गरि सम्पुर्ण परिवारलाई भरणपोषण गर्ने घरमुलीको अाकास्मिक निधनले मर्माहत भएको वेला पर्याप्त दान , पुण्ड्यको काम नगरे मृतकको आत्मा स्वर्गमा नजाने, वैतडी नतर्ने , मृतकको आत्माले शान्ती नपाउने जस्ता भ्रमयुक्त संदेशहरु धार्मिक ग्रन्थहरु/पुराणहरु प्रवचन गरेर दिने गरिन्छ जसले गर्दा शोकमा डुवेको परिवारजनमा थप मानसिक तनाव र आर्थिक संकटमा पार्ने काम गरिन्छ ।

यसैले यस्ता केही प्रश्नहरु आम मान्छेको मनमा उठ्ने गर्छ की -के पण्डितलाई यथेष्ट दान गर्दैमा मरेको मान्छेको आत्मा कसरी स्वर्गमा जान्छ ? यो स्वर्ग र नर्क भन्ने कुरा कसले देखेर आएको छ ? विधुवा नारीको नजर पर्दा घरबाट बाहिर निस्कदा कसरी साईत घर्कन्छ ? विस्वकर्मा थरका व्यक्तीलाई कतै लामो दुरीको यात्रामा जाँदा बाटोमा देख्दा , धारोमा रित्तो गाग्री देख्दा , विरालोले बाटो काट्दा कसरी साईत विग्रन्छ ? नारीमा हुने प्राकृतिक तवरको मासिक रक्तश्राप ( मासिक धर्म) हुँदा कसरी पानी छोईन्छ ? दलितहरु भनेर किन छि:छि र दुरदुरको व्यवहार गर्न खोजिन्छ ? ठुलो र सानो जात कसरी, के आधारमा हुने गर्छ ? यस्ता थुप्रै विभेदकारी चलनचल्तीहरु समाजमा रहनु हिन्दु धर्मको धार्मिक प्रवर्तकहरुले चलाएको संस्कार हो की पछि धर्मलाई पेशा बनाई खानेले आफ्नो अनुकुल बनाएको धार्मिक नियम र परम्परा हो यस बारे हामीले गहन खोज र अनुसन्धान गर्नु पर्ने हुन्छ ।

समयक्रम अनुसार यस्ता विभेदकारी संस्कार र चलनमा केही बाह्यरुपमा परिवर्तन आए पनि आमरुपमा सोचको हिसावले खासै परिवर्तन आएको छैन । अझै यसको विभेदकारी सोच सामाजिक अभियान्ताहरु र राजनैतिक नेतृत्वमाहरुमा समेत देखिने गरिन्छ । पक्कै पनि यस्ता संस्कार र सोचमा समायानुकुल परिवर्तन हुन आवस्यक छ । धर्मका कुनै पनि मान्यता अकाट्य हुँदैनन् ती सबै मानवले मानवको लागी परापुर्वकालमा समाजलाई नियमन गर्न बनाएको अनुशासनको कानुन हो । त्यस्तो धार्मिक कानुन बनाउनेले पक्कै आफु र आफ्नो समुदायलाई माथी पार्ने र अरु समुदायलाई राज गर्ने तवरबाट भएकै हुनु पर्छ र कतिपय धार्मिक ग्रन्थ र शास्त्रहरु त्यस तर्फ लक्ष्यीत पनि देखिन्छ । आजको वैज्ञानिक युगमा यस्ता विवेदकारी धार्मिक नियम र संस्कारमा समय र आवस्यकता अनुसार समाज र वास्तविकता सुहाँउदो परिवर्तन हुनु आवस्यक हुन्छ । अन्यथा समाजमा धर्म प्रति नकारात्मक सोच र आपसी द्वन्ध हुने देखिन्छ ।

हिन्दु धर्मको नाममा अनावस्यक चमत्काररुपी कुरा गरेर भ्रम फैलाउने काम , वुद्धको अवतारको स्वघोषण गरि वितण्डा मच्चाउने काम, रोग -व्याधि निको हुन्छ भनि प्रभुको भजन गाउन प्रेरित गरि लोभलालचमा धर्म परिवर्तन गराउने काम, अन्य धर्मको अस्तित्व स्वीकार गर्न नसक्ने काम , सबै-सबै समाजमा वितृष्णा र अराजकता फैलाउने काम र प्रयास बाहेक केही उपलब्धीमुलक , अनुशासित समाज निर्माणको दिशामा समाजलाई डोराउने काम हुनै सक्दैनन् । अहिंसा, सत्यनिष्ठा, कर्मयोगी हुन सिकाउने गौतम वुद्धको दिव्य उपदेशलाई समेत तोडमोड गरेर आफ्नो व्यक्तीगत स्वार्थ पुरा गर्नेहरु पनि समाजमा नयाँ रुपमा र भेषमा देखिन्छन् । यस्ता कर्ममा उद्दत हुनेहरु वास्तवमा न त तिनीहरु वुद्धका सही अनुयायी हुन न त भिक्षु -योगीहरु नै किनकी अहिंसाको उपदेश दिनेहरुनै अरुले काटमार गरेको वा पशुवलि चढाएको मासु खाने गर्दछन् र अरुलाई काटमार नगर्न वा वलि प्रथाको विरोध गरिरहेका हुन्छन् । सबैलाई थाहाँ छ पशुवलि सकभर गर्नु हुँदैन भन्ने कुरा तर काटमार गर्नेलाई राम्रो नमान्नेले आफै पनि मासु खान बन्द गर्ने हो भने मासु आउने स्रोत अर्थात् पशुवलिमा कमि हुन सक्थ्यो की त्यतातिर कहिकतै वौद्धिष्ट धर्मालव्वीहरुले विचार गरेको पाईदैन । त्यस्तै प्रसिद्ध मन्दिरहरुमा, दलित , विधुवा महिलाहरुलाई प्रवेश गर्न नदिनु , विशेष जातीकानै पुजारी हुनु पर्ने जस्ता अनेक खाले विवादास्पद धार्मिक गतिविधी र सोच अझै सम्म समाजमा विद्यमान छ यस्ता कुराहरुमा परिवर्तन हुनु आवस्यक छ ।

अन्तमा संसारमा जे जति धर्म र संस्कार चलिआएका छन् तिनीहरु मानव हितको लागी लक्ष्यीत हुनु पर्छ न की कपोकल्पित अन्धविश्वास र रुढावादी तर्फ । यसैले अप्ठ्यारो र समस्यामा परेकालाई आफु सक्दो सहयोग गरौ त्यही नै मानव धर्म र संसारमा उत्कृष्ट परोपकार हो । धर्मले मनहरु तोड़ने हैन सबैको मनहरुलाई एकआपसमा जोड्ने हुनुपर्दछ । धार्मिक अविस्वास समाजमा पैदा गरेर एक अर्काको धर्महरुलाई होच्याएर र जवर्जस्ती धर्म परिवर्तन गरेर समाजमा सदियौ देखि रहदै आएको धार्मिक आस्था र आपसी मेलमिलापको भावनामा ठेस नपुर्याउ ।

बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका

प्रतिक्रिया