शनिबार, असोज ३० २०७८
काठमाडौं १५:३२
वासिङटन डिसी 05:47

सरकारको कामप्रति राप्रपाका वरिष्ठ नेता राणा असन्तुष्ट

इनेप्लिज २०७३ वैशाख ४ गते १२:३४ मा प्रकाशित

Marriage-gorkha-768x517काठमाडौं, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले भूकम्पपछिको पुनर्निर्माण, कालोबजारी नियन्त्रण र आन्दोलनरत दलसँगको वार्ता निष्कर्षमा पु-याउने मामिलामा सरकारबाट कमजोरी भएको बताउनुभएको छ । नयाँ वर्ष २०७३ को उपलक्ष्यमा काठमाडौंमा शनिबार आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुक अहिले असजिलो परिस्थितिमा अघि बढिरहेको र राप्रपा अहिले हैरान साझेदारको रुपमा मात्र सरकारमा सहभागी भएको बताउनुभयो । अन्तर्राष्ट्रिय समुदायबाट ठूलो परिमाणको रकम सहयोगको प्रतिबद्धता भए पनि भूकम्प गएको एक वर्ष पुग्दासमेत कुनै पनि काम अघि बढ्न नसक्नु भनेको अत्यन्त दयनीय परिस्थिति भएको टिप्पणी गर्दै नेता राणाले सरकारले ठिक ढंगबाट काम गर्न नसक्दा दाताहरुले प्रतिबद्धता गरेको रकम फिर्ता लाने हुन् कि भन्ने चिन्ता बढेको प्रतिक्रिया दिनुभयो । १९९० सालको महाभूकम्प गएको तीन महिनाभित्रै स्वदेशी पुँजी संकलन गरी पुनर्निर्माणको कार्य थालनी गरी चार वर्षभित्र सम्पूर्ण काम फत्ते गरेको घटनाको स्मरण गराउँदै उहाँले भूकम्पको विपत्तिमा परेका जनतालाई छिटो राहत प्रदान गर्नु त परै जाओस् भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणको कार्यकारी नियुक्तिको राजनीतिक भागबण्डामै प्रमुख दलहरुले धेरै समय खर्च गरेको भनी आलोचना गर्नुभयो । मधेस आन्दोलनमा रहेका दलसँग वार्ता र सम्वाद किन हुन सकिरहेको छैन भनी प्रश्न गर्दै नेता राणाले आन्दोलनरत् पक्षले उठाएका मागलाई सम्बोधन गर्न लचिलो भएर प्रस्तुत हुन सरकारलाई सुझाव दिनुभयो । रासस

प्रतिक्रिया