हनुमानको मूर्ति स्थापना

इनेप्लिज २०७३ वैशाख ४ गते ५:२७ मा प्रकाशित

भक्तपुर, ४ वैशाख । रामनवमीको अवसरमा मनोहरा र हनुमन्ते खोलाको सङ्गमस्थलमा शुक्रबार हनुमानको मूर्ति स्थापना भएको हो ।

भक्तपुर, काठमाडौँ र ललितपुर जिल्लाको सङ्गमस्थल समेत रहेको मध्यपुरथिमि नगरपालिका–१६, लोहकन्थलीस्थित मनोहरा जग्गा एकीकरण आयोजनास्थलमा करिब पाँच फि अग्लो शिलाको सो मूर्ति स्थापना गरिएको हो ।

सो स्थलभन्दा एक किमी पूर्वतर्फ हनुमन्ते र गोदावरी खोलाको सङ्गमस्थल रहेकाले सो स्थानलाई त्रिवेणी धामको रुपमा रमेत लिने गरिएको त्रिपुर सङ्गम टोल सुधार समितिका अध्यक्ष रामकेशर बोगटीले बताउनुभयो ।

हनुमानको मूर्तिसँगै बुढानीलकण्ठ नारायण, सप्तर्षि, गणेश, कुमार, सरस्वती, लक्ष्मी लगायत देवीदेवताको मूर्तिसमेत स्थापना गरिएको मनोहरा जग्गा एकीकरण आयोजना सहयोग समिति दिव्येश्वरी ४ ख का सहसंयोजक जगतकृष्ण प्रजापतिले जानकारी दिनुभयो । बूढानीलकण्ठ नारायणको मूर्ति करिब छ फि र अन्य मूर्ति डेढ फिका छन् ।

मन्दिरसँगै सो स्थललाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने तयारी भइरहेको छ । मन्दिरसँगै सामुदायिक भवन र भजनकीर्तनस्थल समेत निर्माण गरिने जनाइएको छ । मन्दिर निर्माणका लागि रु ५० लाख खर्च भइसकेको छ । करिब दुई रोपनी क्षेत्रफल रहेको सो स्थानमा आयोजनाबाटै सामुदायिक भवन निर्माणको तयारी भइरहेको बताइएको छ ।

बानर स्नानस्थल
सो स्थानमा बर्सेनि पशुपतिबाट बाँदरहरु नुहाउन आउने गरेको बताइन्छ । पशुपतिमा बाँदर रुखबाट खसेपछि मनोहरा र हनुमन्ते खोलाको सङ्गमस्थलमा नुहाउन आउने जनश्रुति रहेको पाइन्छ ।

नेवारी भाषामा लेखिएको एक धार्मिक ग्रन्थमा सो स्थानलाई हनुतीर्थ नाम दिइएको उल्लेख गर्दै अध्यक्ष बोगटीले धार्मिक र सांस्कृतिक पाटाको खोज तथा अनुसन्धानको खाँचो रहेको औँल्याउनुभयो ।

प्रतिक्रिया