शनिबार, असोज ३० २०७८
काठमाडौं १५:२०
वासिङटन डिसी 05:35

भलिबल खेल राज्यको कम प्राथमिकतामा: उपराष्ट्रपति

इनेप्लिज २०७३ वैशाख २ गते १३:४४ मा प्रकाशित

IMG_7121लक्ष्मी काफ्ले

झापा, २ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले झापा जिल्ला ऐतिहासिक आन्दोलनको केन्द्रविन्दु भएको स्मरण गरेका छन् । उनले यस ऐतिहासिक जिल्लाको विकासमा सबैको ध्यान जान जरुरी रहेकोमा जोड दिए ।

उपराष्ट्रपति पुनले २०७२ सालमा नेपाली जनताले संविधान पाउनु ऐतिहासिक उपलब्धि भएको बताए । ०७३ सालको दोस्रो दिन झापा आइपुगेका उपराष्ट्रपति पुनले २०७२ सालको प्रारम्भमै भूकम्पले जनधनको क्षति गरेको स्मरण गरे । ‘०७२ को सुरुमै भूकम्पले क्षति र्गयो,’ उनले भने, ‘भूकम्पपीडितहरु अझै पनि टहरामुनी बसिरहेका छन्, अझै पराकम्प आइरहेको छ ।’

०७२ सालमा सर्वसाधारणले पाएको दु:ख उपराष्ट्रपति पुनले एकएक गर्दै सम्झिए । संविधान जारी भए पनि नाकाबन्दी झेल्नुपरेको स्मरण गर्दै उनले इन्धन अवरोध हुँदा सर्वसाधारणले पाएको सास्तीले आफूलाई दु:ख लागेको बताए । ‘त्यस्तो कठिन अवस्थामा पनि तपाईंहरुले राष्ट्रिय एकता प्रदर्शन गर्नुभयो, म अत्यन्तै खुसी छु,’ उनले भने । आफूलाई पहिलेदेखि नै झापाको केचना, जामुनखाडी, चिया बगानलगायतका स्थानको अवलोकन गर्न र यहाँका मेचे, किसानजस्ता जातिसँग भलाकुसारी गर्न मन लागेको उनले सुनाए ।

‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता-२०७३’ को उद्घाटन गर्न बिहीबार झापाको धाइजन आएका उपराष्ट्रपति पुनले खेलकुद व्यक्तिगत नभई सिङ्गो समाज र राष्ट्रको भएको धारणा राखे । खेलकुदले राष्ट्रको प्रगति गर्दै अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने बताएका उनले अन्य खेलको तुलनामा भलिबल खेल राज्यको कम प्राथमिकतामा परेको भन्दै दु:ख व्यक्त गरे । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी भलिबलको विकासमा लागिपरेको भन्दै खुसी व्यक्त गरेका उपराष्ट्रपति पुनले प्रतियोगिता आयोजना गरेकोमा नेपाल भलिबल संघ र दुहागढीस्थित बिहानी साकोसलाई धन्यवाद दिए ।

विद्यार्थी जीवनमा आफूले थुप्रै भलिबल प्रतियोगितामा सहभागिता जनाएको स्मरण गर्दै उनले भलिबलमा लगानी बढाउन सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण समेत गराए । पटक-पटक आफूलाई पूर्व भलिबल खेलाडी बताउँदै पुनले सधैँ भलिबल संघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिताको उद्घाटन गर्न उनी श्रीमतीसहित ७ जनाको टोली लिएर आएका थिए । करिब १२ मिनेट लिखित मन्तव्य राखेका उपराष्ट्रपति पुनले नेपाल पुलिस र ढोरपाटनबीचको उद्घाटन खेलको दुई सेट पूरा हेरेका थिए । खेलाडीले स्पाइक गर्दा जोसिएका जस्तो देखिने उनी मुस्कुराइरहन्थे ।

कार्यक्रममा उद्योगी जगदीश मिण्डा, सांसदद्वय राम कार्की र मनकुमार गौतम, काङ्ग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र राप्रपा नेपालका मेची अञ्चल सचिव कुमार भट्टराईले बोलेका थिए । प्रतियोगिता आयोजना गर्न सहयोग र्पुयाउने दाताहरु नरेन्द्र मेचे, जगदीश मिण्डा, रामकुमार कन्दङ्वा, दुर्गा प्रसाईं, विमल आचार्य, भोला उप्रेती, प्रकाश शिवाकोटी, महेन्द्र गिरी, सुवास लामा, श्रीप्रसाद मैनाली, विश्व मेचे, दिपेन्द्र पोखरेल, सन्तोष शर्मा, टहलदास मैनाली, निलकण्ठ तिवारी, देवी खतिवडा, शङ्कर थापा, धाइजन गाविसका सचिव सुदर्शन बराल, कालिका सामुदायिक वन र बाँसबारी सामुदायिक वनलाई कार्यक्रममा सम्मान गरियो ।

आयोजक समितिका अध्यक्ष बालकृष्ण रिजालको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा स्वागत समिति संयोजक सविना बजगाईंले स्वागत गरेकी थिइन् । कोषाध्यक्ष विष्णु प्रसाईंले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव नरेश मोहराले गरेका थिए ।

प्रतिक्रिया