२९ करोडमा सिँचाइ नहर

इनेप्लिज २०७३ वैशाख २ गते २:०२ मा प्रकाशित

इलाम, २ वैशाख । इलामको दक्षिणी महमाई गाविसमा करिब रु २९ करोडको लागतमा सिँचाइ आयोजना निर्माणका लागि सम्झौता सम्पन्न भएको छ ।

सिँचाइ नहर बन्ने भएपछि सिँचाइको समस्या झेल्दै आएका यहाँका किसानले सुविधा पाउने भएका छन् । महमाई–१ देखि वडा नं. ९ सम्मका करिब एक हजार २५० घरधुरीका लागि सिँचाइ विकास डिभिजन कार्यालय इलामले नहर बनाउने सम्झौता भएपछि यस क्षेत्रका किसानले सिँचाइ सुविधा पाउने भएका हुन् । यहाँका किसानलाई सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यता थियो ।

सिँचाइका लागि उपभोक्ता समिति र सिँचाइ विकास डिभिजन कार्यालयबीच ठ्याउरे खोला फ्याउरे सिँचाइ आयोजना बनाउने सम्झौता भएपछि नहर बन्ने पक्का भएको हो । नेपाल सरकार सिँचाइ विकास डिभिजन कार्यालयको कुल रु २८ करोड ९० लाखको लागतमा ३० किलोमिटर लामो सिँचाइ नहर निर्माण गर्ने गरी सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष देवीभक्त कुमालले बताउनुभयो ।

आयोजनाका लागि उपभोक्ता समितिले लागत र श्रमदान गरी कुल लागतको तीन प्रतिशत व्यहोर्नुपर्ने बताइएको छ । देउमाई खोलाअन्तर्गत ‘ठ्याउरे खोला फ्याउरे सिँचाइ’ आयोजना नाम दिइएको उक्त आयोजनाबाट महमाईको एक हजार १५० हेक्टर खेतीयोग्य जमिन सिञ्चित हुने बताइएको छ । उपभोक्ता समिति र कार्यालयबीच सम्झौता भएपछि आयोजना आगामी जेठदेखि सुरु हुने सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख बद्री कार्कीले बताउनुभयो ।

आयोजना बन्ने भएपछि यस क्षेत्रका उपभोक्ता हर्षित भएका छन् । सानिमा माई हाइड्रोपावर बने पनि उपभोक्तालाई सम्झौता अनुसारको काम नभएपछि निराश बनेका थिए । नजिकै माईखोला बगे पनि बगरक्षेत्रका किसानले पानी नहुँदा बाली लगाउन पाएका थिएनन् । आयोजना सम्झौतापछि महमाईको भविष्य अब उज्वल हुने उपभोक्ता समिति सदस्य सन्तराम योङहाङले बताउनुभयो ।

सिँचाइ विकास डिभिजन कार्यालय इलामका प्रमुख कार्कीका अनुसार चालु आर्थिक वर्ष २०७२÷७३ मा मझौला सिँचाइअन्तर्गत चुलाचुलीको रतुवा खोला सिँचाइ आयोजना, एकतप्पामा होयङमा खोला सिँचाइ आयोजना, होयङमा खोला–पितामरुङ सिँचाई आयोजना र पुवामझुवामा तीन दोभाने ओडारे सिँचाइ आयोजनाको निर्माण सुरु हुँदैछ ।

प्रतिक्रिया