नयाँ वर्ष २०७३ को शुभकामना । साथमा नव वर्ष २०७३ को भविष्य दिग्दर्शन एवं राशिफल ।

इनेप्लिज २०७३ वैशाख १ गते १५:१९ मा प्रकाशित

 Deepak guru.

                                    नयाँ वर्ष वि.सं. २०७३ को भविष्य दिग्दर्शन           

– ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट) ९८४१२२३१२६, ०१४४३१७४७ [email protected]

ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च ।

ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्यं स चराचरम् ।।

वि.सं. २०७३ सौम्य एवं साधारण नामको संवत्सर छ । यस वर्षका राजा शुक्र र मन्त्री बुध रहने  छन् । संवत्सर एवं राजा र मन्त्रीकारक ग्रहको सम्बन्धको फल स्वभाविक सौम्य नै रहनपर्ने हो तर जगल्लग्नमा पर्न गएको ग्रहपरिस्थितिलाई हेर्दा त्यति सहज अनुमान गरिहाल्न अल्लि नसकिने पनि देखिन्छ ।

नेपाल र यसको आसपासको क्षेत्रमा यो वर्ष शुभारम्भको जगल्लग्न बृश्चिक परेको छ । लग्नमा शनि र मङ्गलको योग परेको छ । यो सम्बन्धलाई एकातर्फबाट लग्नेशले आफ्नै घरमा चतुर्थेश शनिसँग विशिष्ट राजयोग निर्माण गरेको मान्न सकिन्छ भने अर्को तर्फ शनि मङ्गल युक्तिको लग्न बृश्चिक राशिमा हुनु आफैमा दुर्घटनाकारक तथा विसाक्त योग पनि हो । राजयोगको राम्रो फल प्राप्त गर्न अर्को तर्फबाट देखिएको विषम योगले दिनसक्ने अनिष्टफलको निवारणको लागि वैदिक उपाय गर्नु उपयुक्त हुनेछ । अन्यथा परिणाम अकाल्पनिक पनि हुनसक्ने छ । छिमेकीसँग सन्धिसम्झौता गराउन उद्धत हुन्छ यस्तो योग । अतः त्यस्तो विषयमा निकै सावधानी अप्नाउन पर्ने हुन्छ ।

त्यस्तै पञ्चममा शुक्रले उचोस्थान प्राप्त गरेको छ जसलाई ठिकै मान्न सकिन्छ तर, भाग्येश चन्द्रमा अष्टम हुनुलाई सहज मान्न अल्लि मिल्दैन । चन्द्रमाको केमद्रुम योग परेको पनि छ, जुन योगलाई आर्थिक अभावसँग जोडेर हेरिन्छ । शनिमङ्गल लग्नमा र चन्द्रमा अष्टम् हुनुले सम्बन्धित कामकार्यको विषयमा कार्याधिकारीमा हौंस्याट आउने तर काम गरी पुर्याउन नसक्ने, बरु उन्माद शैलीको विकास हुने आशंका देखाउँछ । दैविविपत्ति जन्य घटनाहरूलाई पनि ग्रहगोचरले प्रबलता दिएको पाइन्छ । सैन्यपति ग्रह मङ्गल स्वगृही तर शनि प्रभावित, राज्याधिश सूर्य उचो, धर्माधिश गुरु केन्द्रवर्ति तर धर्मेश अष्टम्को स्थिति आदिको अवस्थालाई हेर्दा विशेष सावधानी जरुरी देखाउँदछ ।

लग्नेश लग्नमा बक्रगतिको ग्रहको प्रभावमा देखिएको छ । वर्ष शुरुवात्को दोस्रो दिनबाटै उ आफू पनि बक्र हुन गइरहेको छ । राज्यभावमा बृहस्पति पनि बक्र नै छ । बक्र गतिका ग्रहले भइसकेको वा गरिसकिएको विशेष महत्त्वको कार्यले महत्त्व पाउननसक्ने वा विकल्प खोजिने वा सोपूर्वको स्थितितर्फ उन्मुख हुनसक्ने फल प्राप्त हुनसक्ने छ । ‘बक्रे देशान्तरे गम’ को फल अनुसार पनि राजनीतिक दल तथा राज्यका नेतृत्त्वपँक्तिले अझ पनि वैदेशिक शरणलाई गुहार्न सक्छन् भन्ने तर्फ लक्षित गर्दछ ।

उपर्युक्त प्रतिकूल ग्रहावस्थाको बाबजुत पनि पुरुषार्थकारक ग्रह बलियो देखिएकाले देशले यो वर्षमा केही महत्त्वपूर्ण र महत्त्वाकांक्षी कार्यहरू सञ्चालन एवम् सम्पन्न गर्न सक्नेछ । यस वर्षका राजा शुक्र र मन्त्री बुध हुनाले राज्यको सर्वमान्य निकाय तथा व्यक्तित्त्वलाई ग्रहले भद्रता प्रदान गर्ने तथा मानसम्मान बढाउने छ ।

यस वर्ष कृषि–चौपाया, देशको आन्तरिक सबलिकरणको पक्षमा ग्रहले उन्नतिप्रद भूमिका निर्वाह गर्ने देखिएको छ । द्वन्दका बाबजुत पनि अन्ततोगत्त्वा जनतामा एकताको भावना बढ्ने पक्षलाई सकारात्मक मान्न सकिन्छ । देशले यो वर्ष प्रसस्त अर्थकर संघर्ष गर्नुपर्ने छ । कुटिल चाल चाल्नेहरू बढ्ने छन् विशेष गरी समय समयमा विभिन्न खालका अदृष्य समस्याहरूले निकै नै दुःख दिने र अलमल–भ्रमित गराउने छन् । तथापि राष्ट्रियता बलियो पार्न विद्वान पक्षले दिने भूमिका सार्थक बन्नेछ । तसर्थ विद्वानपँक्तिले निकै गाम्भीर्यता ग्रहण गर्न जरुरी देखिन्छ ।

बृहस्पति केन्द्रवर्ति हुनाले सम्बन्धित क्षेत्रले चाहेमा धार्मिक एवम् शैक्षिक विकास तथा पर्यटनको माध्यमबाट देशले यथेष्ट फाइदा लिन सक्नेछ । औद्योगिक कार्य र वैदेशिक सम्बन्धमा सकारात्मक वातावण बन्ने देखिएको छ ।

लग्नको शनि मङ्गलको कारण भित्री आँत कमजोर रहे पनि बाहिरी प्रस्तुतिको प्रभाव बलियो नै देखाउन सकिने छ । मधुमेह, उच्चरक्तचाप आदिका रोगी बढ्नक्ने देखिन्छ भने असाध्य एवम् संक्रामक महामारीको संभावनालाई पनि नकार्न सकिन्न ।

बैशाख महिना एवं जेठको पहिलो हप्ताभित्र र साउन–भदौको ग्रह विशेष नकारात्मक देखिएको हुनाले आगजनि, बाढीपैरो लगायतका प्राकृतिक विपक्ति तथा दैविक एवम् विभिन्न घटना–दुर्घटनाहरूबढ्ने सम्भावनालाई ग्रहले संकेत गरेका छन् । मंसिर उपरान्त पनि छिटपुट घटनाप्रद नै देखिन्छ ।

राज्यका उच्चपदस्थ व्यक्ति तथा निकायमा आन्तरिक द्वन्द बढी नै रहने, विशेष गरी कुटिल चाल बढ्ने तथापि बाह्यरूपमा राष्ट्रियता मजबुत भएको देखाउन खोजिने छ ।

खासै बाह्यसहयोग नमिल्ने तर आश्वासन पछि कुट्नीतिक विश्वासघात भने हुनसक्ने भएपनि  सैन्य तथा सुरक्षाको ग्रह बलियो देखिएको हुनाले राष्ट्रिय सुरक्षाको मामलामा डराइहाल्न भने नपर्ला । कमजोर गराउने खेल प्रसस्त भएपनि आफ्नो नीति र सिद्धान्तमा अडिग रहेको खण्डमा सेनाले आफ्नो भूमिका बलियो राख्नसक्ने छ ।

समग्रमा आमजनता र सम्बन्धित पक्ष सबैले धर्मशक्ति मार्फत अनिष्टलाई न्यूनिकरण गर्न उद्दत हुनपर्ने छ । सम्भाववित अनिष्टताको निवारणको लागि विशेष शान्ति अनुष्ठान राज्यका प्रमुख अधिकारीबाटै गर्नु गराउनु उपयुक्त एवं शुभकर हुनेछ ।

नयाँ वर्ष २०७३ को राशिफल   

 

मेष राशि /Aries (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.) –

ज्योतिषीय दृष्टिमा मेष राशि हुनेहरूको लागि यो वर्ष आंशिक पक्षमामात्रै अनुकूल रहेको मान्न सकिन्छ । राहु एवं शनि वर्षभरी नै र गुरुबृहस्पति वर्षको पूर्वार्धपछि प्रतिकूल देखिएका छन् जसले गर्दा मिथ्याऽपवाद, विश्वासघात र ‘आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो’ भने जस्तो फल दिन सक्नेछ । तथापि बढी नै प्रयत्न गरेर वर्षका शुरुका तीन महिनामा अत्यावश्यक काम बनाउन सकिनेछ । भरकोसिस्ले विद्यार्थीहरूले पनि यो समयावधिको सदुपयोग गरी उपलब्धि लिनसकिने छ ।

जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल भई सन्तानदोष व्यहोर्न परिहेकाहरूको लागि आषाढ उपरान्त सावधानी अप्नाउन पर्ने देखिएको छ । विशेष गरी गर्भवतीहरूले बढी ध्यान पुर्याउन जरुरी देखिन्छ । कसैकसैलाई सन्तानकष्ट हुन जानेछ । वर्षको मध्ये वरपरबाट कसैकसैलाई रोग–शोक र कुसंगतको खतराको पनि ग्रहले लक्षित गरिरहेको छ । प्रायजसो सबैलाई बढी संघर्ष र कम उपलब्धिको कारण मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्यविमूढताको मनोविज्ञानले प्रसय पाउनसक्ने देखिन्छ ।

यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढीभन्दा बढी बढाउनु र शनि, राहु–केतु एवं गुरुको प्रतिकूलतालाई शान्ति गर्न हनुमान–शनिमहाकाल वा महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले सरस्वती तथा सर्वसाधारण सबैले वगलामुखी माँ एवम् कूलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुती आदि व्रत अवलम्वन गर्नु हितकर हुने छ । आफ्नो औकात–हैसियत अर्थात स्थिति अनुसार कञ्जुस्याई एवं हेल्चेक्र्याई नगरी अन्तरआत्मादेखिनै श्रद्धापूर्वक ग्रहशान्तिको उपाय अवलम्बन गर्नाले धेरै हद्सम्म शान्ति भई शुभफल प्राप्त हुनेछ ।

वृष राशि /Taurus (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) –

वृष राशि हुनेहरूको लागि वर्ष संघर्षकर रहनेछ । घर–जग्गाको मामलामा ग्रहगोचर अनुकूल परेको छैन । स्वास्थ्यमा पनि ग्रहले विपरित फल दिने तथा  पेटजन्यसमस्या बढाउने देखिन्छ । दीर्घरोगीहरूले सावधानी अप्नाउनु पर्ने हुन्छ । तथापि साउन उपरान्त गुरुको अनुकूलता आउने भएकोले विद्यार्थीहरूले अध्ययनमा प्रगति गर्न सकिनेछ । अन्य क्षेत्रसँग सम्बन्धितहरूको लागि पनि कामकार्य एवं व्यवशाय आदिमा सहजता बढ्नेछ भने केही महत्त्वपूर्ण कामकार्य हरूबन्नेछन् । तर गुरुको अनुकूलता भएपनि राहु आदि ग्रहको बाधक भूमिका रहिरहने हुनाले धेरै सहज मानिहाल्न पनि मिल्ने छैन ।

जन्मकालमा शनि आदि पाप ग्रह अकारक हुनेहरूको लागि दुर्घटना–चोटपटक, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य कष्ट एवं विवादप्रद देखिएको छ भने परिबन्द, यात्रामा कष्ट, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने–आसक्ति बढ्ने, मिथ्याऽपवाद, अपव्यय, समय टरेपछि पश्चाताप हुने ग्रहगोचरीय स्थिति छ । तथापि बैशाख, भाद्र र आश्विन महिनामा यस्ता अनिष्ट एवम् बढी प्रतिकूल देखिएको छ भने मंसिर–पौष महिना पनि शारीरिक एवम् मानसिक कष्टकर रहने छ । कपट सम्बन्धको फन्दा देखिएको हुनाले वैवाहिक कार्य गर्न पर्दा वा प्रेममा विशेष ख्याल पु¥याउन जरुरी देखिन्छ । यौनरोग, गर्भाशय, मलाशय, ठूलोआन्द्रा, पौरुष ग्रन्थी, मिर्गौला, संक्रामक रोग आदिको सम्भावनालाई नकार्न नसकिने हुनाले तत्सम्बन्धी विषयमा संयम हुनु जरुरी देखिन्छ । व्यापारिक व्यवसाय क्षेत्र भने अन्य पेशाको तुलनामा सामान्य लाभ देखिन्छ । लगानीका क्षेत्रमा असम्भव प्रस्ताव आउन सक्नेछ, जसलाई ग्रहण गर्नुले पश्चाताप तथा धोका हुन सक्नेछ । शनि, राहु–केतु र गुरुको दुष्प्रभाव घटाउन महाकाल शनिमृत्युञ्जय स्तोत्र, भैरव–छिन्नमस्ताको दर्शन भक्ति, काग–कुकुर सेवा र ब्रह्मज्ञानी गुरुजनको आर्शिवाद लिने जस्ता उपाय अवलम्वन गर्नु हितकर हुनेछ ।

 

मिथुन राशि /Gemini (का.कि.कु.घ.ङ.छ.के.को.ह.) –

मिथुन राशिको लागि यो वर्ष अधिकांश ग्रह अनुकूल रहेको भएतापनि भाग्येस्थानमा रहेको केतुको कारण  कामकार्यहरू अन्तिममा बिग्रनसक्ने सम्भावना देखिएको छ । जसको उपयुक्त उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । उपाय अवलम्बन गरी अघि बढेमा राजनीति, समाजसेवा, प्रतिस्पर्धा आदिमा सफलता र वीजय प्राप्त हुनेछ । रोजगार–पदप्रतिष्ठा एवम् पदोन्नती प्राप्त हुनेछ, व्यापार–व्यवसायका क्षेत्रमा प्रगति हुने र चौतर्फि लाभ प्राप्त गर्नसकिने । न्यायिक क्षेत्रमा विजय मिल्नेछ । वर्षको मध्यपूर्व विदेश यात्रा, विवाह, जागिर, पदोन्नती, व्यापार–व्यवसाय आदि आँटे ताकेका औकात अनुसारका कार्यमा मिल्नेछ । साउन उपरान्त बृहस्पति ग्रहको भूमिकामा ह्रास आउने हुनाले वर्षको मध्यपछि अध्ययनमा उन्माद बढ्ने तथा रुची कम हुनसक्ने सम्भावना देखिएको छ जसको उपयुक्त उपाय खोज्नु बुद्धिमानी हुनेछ । बैशाख–आषाढसम्म बावु आमाका लागि सन्तानको तर्फबाट चिन्ता बढ्न सक्नेछ । असार–भदौको अवधि ढाड–कम्मर, घुँडा–खुट्टा तथा हाडजोर्नी–नशासम्बन्धी समस्या हुने योग परेको हुनाले स्वास्थ्य एवं आहार विहारमा ध्यान दिन जरुरी देखिएको छ । असोज कार्तिक र माघ फागुन दाम्पत्य–प्रेमकष्ट वा असमझदारी बढ्नसक्ने छ । यो राशि हुनेहरूले यो वर्ष केतुको दुष्प्रभाव न्यूनिकरण गर्न भैरव उपाशना आदि आफ्नो अवस्था एवं हैसियत अुनसारको उचित उपाय अवलम्बन गर्नु शुभप्रद हुनेछ । ग्रहशान्तिका उपायहरू सात्विक पारामा आफ्नो कूलधर्म संस्कृति अनुसार पनि अवलम्बन गर्न सकिन्छ ।

 

कर्कट राशि /Cancer (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.) –

कर्कट राशि हुनेहरूको लागि माघ महिनासम्म उन्मादिलो रहने छ । बैशाख र जेठ महिना स्वभाविक सफलता एवं लाभप्रद रहे पनि समयसमयमा सञ्चित धनको आकस्मिक खर्च गराउने गोचर रहेको छ ।  विशेष महत्त्वपूर्ण कामकार्यमा अनपेक्षित तवरबाट अलमल हुने लक्षण छ । जन्मसमयमा शनि आदि ग्रह प्रतिकूल हुनेलाई पेटको विमार, चोटपटक–अपरेशनसम्मको समस्या नहोला भन्न सकिन्न । नीति–व्यवहार र सैद्धान्तिक पक्षमा विचलनको कारणले गर्दा सैद्धानितक प्रयोगको क्षेत्र जस्तै राजनीतिककर्मीको लागि पार्टी भित्रै, दर्शनशास्त्री तथा विद्यार्थीलाई दर्शनको क्षेत्र, धार्मिक आध्यात्मिक व्यक्तित्त्वलाई सम्बन्धित क्षेत्र एवं पक्षबाट टिकाटिप्पणी, आलोचना तथा अपजश एवम् विरोध आइपर्ने छ । सन्तान (छोराबुहारी)लाई कष्ट हुने वा सन्तानसँग असमझदारी बढ्नसक्ने वा सन्तानबाट खर्च बढ्ने वा अपहेलित हुनपर्ने हुनसक्छ भने गर्भावस्थामा रहनु भएकाले विशेष ख्याल पु¥याउनु पर्नेछ । वर्षको मध्यतिर अध्ययनमा प्रतिकूलता देखिएको छ, आकस्मिक रूपमा अबरोध आइलाग्न सक्नेछ, ज्ञानोन्माद नगरेकै राम्रो हुनेछ । कोही कोहीलाई तान्त्रिक आदि गुप्त विद्याको अभिलाषा बढ्ने, भूमिगत एवम् जासुसि कर्ममा उद्यत हुने बुद्धि पलाउने सम्भावना देखिएको छ । पशुपालन, कृषिकर्मजन्य व्यवसाय, प्राविधिक क्षेत्रमा ग्रहले अनुकूल फल दिनेछ । तत्त्वोन्मादको वाबजुत पनि धर्म–अध्यात्मको पक्षमा भने सफलता मिल्ने छ । यो वर्ष विद्यार्थीले सरस्वतीको स्तुति बढाउने र सर्वसाधारण सबैले शनि, राहु र केतुको दुष्प्रभावलाई न्यूनिकरण गर्न हनुमान चालिसा, भगवती स्तोत्र, भैरवस्तोत्र आदि पाठ वा महाकालशनि, भैरवदेव, काली, छिन्नमस्ता अथवा आफ्नो कूलधर्म एवं संस्कृति अनुसार सम्बन्धित देवदेवीको सात्त्विक पूजापाठ, ध्यानधारणा, व्रत आदि  उपायहरू अवलम्वन गर्नु बुद्धिमानी हुने छ । आश्विन पूर्व र १५ कार्तिक पछि मङ्गल ग्रहको भूमिका पनि प्रतिूलजन्य रहने भएको ले सोको लागि गुरु गणपतिदेवको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

सिंह राशि /Leo (म.मि.मु.मे.मो.ट.टि.टु.टे) –

सिंह राशिका व्यक्तिलाई यो वर्ष शुरुमा अल्लि र साउनपछि केही कम संघर्षकर रहनेछ । जन्मकालिन शनि, राहु एवं केतु ग्रह प्रतिकूल हुनेहरूको लागि ज्योतिषीय दृष्टिमा यो वर्ष अनुकूलताको तुलनामा संघर्ष बढी देखएिको हो । चोटपटक–घाऊखटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक, घरायसी एवम् पारिवारिक समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानीको आवश्यकता देखिन्छ । कूलमा रोगको प्रकोप, मान्यजन वियोगको सम्भावना तथा आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने छ । मुद्धामामिला पर्नसक्ने, घर–जग्गाको कार्यमा विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय परेकोले सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । साउन पछि भने गोचर केही अनुकूल बन्ने भएकोले कामकार्यमा पनि शुभलक्षणहरू प्रतित हुन थाल्नेछ । तथापि अढैया शनि र राहुकेतुको दुष्प्रभावको कारण सावधानि चाहीँ हुनै पर्ने छ । शत्रु बढे पनि पौष उपरान्त शत्रुलाई पनि हानी हुनेछ, यो समयमा कम्मरभन्दा तल र घुँडादेखि माथिको भागमा समस्या आउनसक्छ । तीर्थादि यात्राको सम्भावना देखिएको छ तथापि साथसंगतिको ख्याल पु¥याउनै पर्ला । दानपूण्यको समय परेकाले घरमा विवाहवर्तबन्ध आदि माङ्गलिक कार्य गर्न हुने देखिन्छ । स्वास्थ्यमा खराबी आउने, खर्च बढ्ने जस्ता आकस्मिक प्रतिकूलताको बाबजुतपनि साउनबाट गुरु बृहस्पतिको अनुकूलता आएपछि बुद्धिविवेक पुर्याएर चल्नेहरूको लागि धेरै राहतको अनुभूति हुनेछ । विद्यार्थी तथा शिक्षासँग सम्बन्धितले ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा मात्रै शुभ परिणाम हात पार्न सकिएला । व्यापार–व्यवसायमा देखिएको मन्दि, समाजसेवा, राजनीति, जागिरमा आएको अपजश जन्य स्थिति, घरपरिवार–कूलमा देखिएको दुःखविमार, पशुचौपाया तथा घरजग्गा एवम् कृषि आदिमा देखिएको समस्यालाई न्यून गर्न हनुमान–शनिमहाकाल एवम् भैरवदेव र कूलदेवताको सात्त्विक स्तुति आराधना गर्नु मनासिव हुनेछ ।

 

कन्या राशि /Virgo (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.) –

कन्या राशि हुनेहरूको लागि यो वर्ष मध्यम अनुकूल रहेको छ । अवसरको सदुपयोग गरेमा राजनीति, समाजसेवा, व्यापार–व्यवसाय आदिमा सफलता हात पार्न सकिने छ । बृहस्पतिको अनुकूलता आइनसकेको भएपनि सोँचविचार एवं बृहस्पतिको नाममा आफ्नो औकात अनुसारको आत्म समर्पण गरेको खण्डमा नयाँ र दीर्घकालिन कार्यको थालनीको लागि सोँचविचार तथा कार्ययोजना बन्ने, गुमेको मान प्रतिष्ठा फिर्ता गर्न सकिने, विग्रिएको सम्बन्ध एवम् कार्यहरूको पुनर्संरचना हुने र अड्केर रहेका केही कार्यहरूपूर्ण हुनेछन् । न्यायिक क्षेत्र सबल रहनेछ । जेठ–श्रावणमा पेटमा समस्या देखिन सक्नेछ भने बैशाख, भाद्र–आश्विनमा हात तथा छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ । मंसिर उपरान्त सन्ततीलाई संघर्षले सफलता दिलाउने, आम्दानी भएपनि सञ्चय गर्न कठिनाइ पर्ने, वाणीमा कठोरता आउने, ज्ञानोन्माद बढ्ने, नीति तथा सिद्धान्तमा विचलन आउनसक्ने, प्रमात बढ्ने र आस्थाको धरोहरमा ह्रास आउनसक्ने देखिएको छ । माघ उपरान्त अढैया शनिको प्रभाव नजिकिने हुनाले पारिवारिक, छरछिमेक तथा कार्यक्षेत्रमा प्रतिकूलताजन्य लक्षणहरूप्रतित हुनसक्ने छन् । मान्यजन कष्टादिको सम्भावनालाई पनि नकार्न सकिन्न । यो वर्ष यहाँले गुरु बृहस्पति तथा राहुको र फाल्गुण उपरान्त शनिको समेत प्रतिकूलतालाई न्यूनिकरण गर्ने उपायहरू जस्तै विद्वानजनको आर्शिवाद, गरीब दीनदुःखी बालबालिकालाई अध्ययनको पक्षमा सहयोग, बगलामुखी, भैरवदेव, छिन्नमस्ता आदि देवदेवीको दर्शनभक्ति एवं इष्टदेवको साधनामा बृद्धि आदि मार्ग अवलम्बन गर्नु शुभप्रद हुनेछ ।

तुला राशि /Libra (रा.री.रु.रे.रो.त.ति.तु.ते.) –

तुला राशिको लागि यस वर्ष शुरुसम्म ठिक–ठिकै रहेपनि आषाढ उपरान्त माघसम्म त्यति सहज मान्न अल्लि नसकिने देखिन्छ । अतः विशेष कामकार्य सम्पादन आषाढ भित्रै गर्न जोड गर्नु बुद्धिमानी हुनेछ । वादविवाद, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच आउने, यात्रा कष्ट, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति आदि प्रतिकूलताको सामना गर्नपर्ने ग्रहगोचरीय अवस्था देखिएको छ । सामान्य कार्यले अल्मल्याउँदा ठूला काममा समय दिन नसकिने, अधिक परिश्रमले थोरै उपलब्धिमा चित्त बुझाउन पर्ने, खानपान विपरित हुने, विश्वासघाती संगतमा परिने आदि प्रतिकूलतासँग जुध्न पर्ने सम्भावना छन् । घर छाड्न पर्ने–टाढा जानपर्ने अथवा परिवर्तन गर्न पर्ने, भोगभङ्ग अथवा स्थानच्यूती, मुद्धामामिला जन्य स्थिति तथा पछि पश्चाताप हुने जस्तो पनि नपर्ला भन्न सकिन्न । आत्तिनु वा हतारिनुले क्षतिलाई नै बढाउने हुनाले मानसिक उद्दिग्नता र निराशालाई हटाउन यथेष्ट धैर्यताको क्षमता बढाउनु नै बुद्धिमानी हुनेछ । फागुनबाट साढेसाती शनिको दुष्प्रभाव समाप्त हुनेछ, तथापि विशेष कामकार्यको लागि गुरुको अनुकूलता आइनसक्ने भएकोले केही समय प्रतिक्षा गर्नपर्ने छ । अनिष्ट एवम् तनावलाई समन गर्न माघ महिनासम्म हनुमान तथा शनिमहाकालको, वर्षभरी विद्यार्थीले विद्याकी देवी सरस्वती र भैरवको साथै सर्वसाधारणले वगलामुखीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ । आफ्नो आस्थाको धरोहरप्रति निर्विकल्परूपमा अटल–श्रद्धा र भरोसा राख्नसक्नेलाई हदैसम्मको समस्याको निकास निस्किइ राहात मिल्ने छ ।

 

वृश्चिक राशि /Scorpio (तो.ना.नि.नु.ने.नो.य.यी.यु.) –

वृश्चिक राशिको लागि यो वर्ष विगतको तुलनामा केही पक्षमा सहज एवम् अनुकूल मान्न सकिएता पनि वर्षको शुरुमा आकस्मिक घटना–दुर्घटना तथा चोटपटक र स्वास्थ्य समस्या व्यहोर्न पर्नसक्छ । वादविवाद तथा यात्रामा विभिन्न खालका कष्टादिको सामना गर्नपर्नेछ भने दाजुभाई वा मान्यजनको कष्टको सम्भावना प्रबल देखिन्छ । गलत आश्वासनमा फस्ने, आफन्तबाटै विश्वासघात–धोका हुने सम्भावना पनि छ । आषाढ उपरान्त भने गोचर केही सुधार भएको देखिएको छ । धर्म–अध्यात्म, विवाह–व्रतबन्धादि माङ्गलिक कर्म, सन्तान सुख, संघर्षका बाबजुत परिश्रमको फल मिल्ने, अधुरा कार्यहरूपूरा हुने, राजनीति तथा समाजसेवामा पनि अन्तिममा समर्थन र जश मिल्ने खालको समय छ । जागिरको खोजिमा रहेकाहरूको लागि पनि शनिको विशेष उपाय गरेको खण्डमा अनुकूल सम्भावना छ । केही पक्षमा क्षणिक अनुकूलता महसूस हुँदैमा हौंसीने र मात्तिने गर्न भने हुनेछैन । स्नायू तथा उदर रोगले सताइ नै रहनेछ, दीर्घरोगिहरूले ख्याल पु¥याइ नै रहनुपर्ला ।  धेरै नै प्रयत्नले मात्रै जागिरमा पदोन्नती हुनसक्ला, शत्रु प्रभाव रहेकै छ । जन्मकालमा शनि आदि ग्रह अनुकूल रहनेहरूका लागि भने आकस्मिक लाभ एवम् पदप्रतिष्ठा मिल्ने छ । शनिस्तोत्रपाठ, शनिमहाकाल, हनुमान, भैरव तथा छिन्नमस्ता आदि शनि तथा राहु–केतुको शान्तिदायक देवदेवीहरूको उपाशना श्रद्धाभक्ति एवम् व्रत गर्नु विशेष हितकर हुनेछ । आआफ्नो कूलधर्म संस्कृति अनुसार पनि सात्त्विक तवरबाट ग्रहशान्तिका सम्बन्धित उपाय अवलम्बन गर्न सकिन्छ ।

 

धनु राशि /Sagittarious (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.) –

धनु राशिको लागि यो वर्षको ग्रहगोचर त्यति अनुकूल भन्न सकिँदैन । वर्षको शुरुमा सामान्य रहेपनि आषाढ महिना उपरान्त ग्रह बढी प्रतिकूल बन्दै गएको देखिन्छ । जन्मकालमा शनि आदि ग्रह अकारक हुनेहरूलाई विशेष गरी मिथ्या अपवाद जनित अफवाहले चारित्रिक एवम् नैतिक सवालमा प्रश्नचिह्नसम्म लाग्नसक्ने, अनपेक्षित मुद्धामामिला–वादविवाद, अन्यौलता, विगतको कपटप्रेम एवम् गुमिसकेको विषयको यादगारले सताउने, आकस्मिक खर्च, धन–जन तथा भौतिक सम्पत्तिको क्षती, दैविक विपत्ति, कूल–परिवारमा ग्रन्थिरोग, घाऊखटिरा–चोटपटक, वायु विकार–उदररोग, स्नायू आदि साध्यासाध्य रोगविमारजन्य स्वास्थ्य समस्याहरू हुनसक्ने सम्भावनालाई खगोलीय ग्रहस्थितिले संकेत गरेका छन् । विना परश्रमको धन प्राप्तिको चेष्टा हुनसक्ने, त्यस्तै संगतमा परिने वा गर्न मनलाग्ने र पछि पर्दाफास हुने कैफियतयुक्त धन लिनसकिने हुनसक्ने छ । तर जन्मसमयमा शनि आदि सम्बन्धित ग्रह अनुकूल अर्थात कारक रहनेको लागि भने प्रतिकूल फल कम मिल्ने तथा बढी शुभ फल प्राप्त हुनेछ ।

ग्रह प्रतिकूल हुनेले लहै लहैमा नलाग्ने, संयम र धैर्यता गर्नु हितकर हुनेछ । घर–परिवार तथा आफन्तबाट टाढिनु, विदेशिनु, मुग्लान पस्नु, गुप्तबास–भूमिगत हुनु, कठोर तप गर्नु, हठ योग गर्नु, वैराग्य धारण गर्नु, एक्लो हुनु जस्ता कार्यमा ग्रहले उत्प्रेरित गरेको देखिन्छ र यस्तै कार्यबाट हितहुने तर्फ अगाडि बढ्नु बुद्धिमानी हुनेछ । निम्न वर्गीयबाट फत्ते हुने कार्य, शारीरिक परिश्रम बढी गर्नुपर्ने तथा झट्ट हेर्दा सफासुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा सफलता मिल्ने छ । त्याग एवम् ईश्वर प्रणिधानको भावनालाई प्रसय दिएर निस्काम गर्नु बुद्धिमानी एवम् सुखकर हुनेछ । विद्यार्थीले सरस्वती माताको, वैदेशिक यात्राको पर्खाइमा बसेकालगायत सर्वसाधारणले हनुमानवीर, शनिमहाकाल, वगलामुखी र कूलदेवता आदिको स्तुति गर्नु शान्तिप्रद हुने छ ।

 

मकर राशि /Capricorn (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.) –

मकर राशिको लागि यो वर्ष स्वास्थ्यको मामलासहित केही पक्षमा बाहेक आषाढ उपरान्त माघसम्म शुभफलकारक देखिएको छ । समयको सदुपयोग गर्ने र नहौंसिने हो भने यो समयमा धेरै क्षेत्रमा सफलता प्राप्त हुनेछ । राजनीति र समाजसेवा तथा जागिरमा पदोन्नती–प्रगति हुने देखिन्छ । साउन पूर्व सामान्य सन्तानसँग वैचारिक द्वन्द र कष्ट देखिए पनि उपरान्त सहज हुनेछ । दाम्पत्य सुखमा प्रगाढता आउने, विवाहयोग्यका लागि दाम्पत्य सम्बन्ध जोडिने, जग्गाजमिन एवम् वाहनादिको प्राप्ति हुने, सम्मानित यात्रा हुने, शत्रु तथा विपक्षि उपर विजय प्राप्त हुने र अवैध–कुधनको कुचेष्टा नगरे पनि राम्रै आय–आम्दानी गर्न सकिने जस्ता अनुकूल फलदायक वर्ष छ । कसै कसैलाई अर्श (पाइल्स) आदि पेटको रोग, हात, छाति–घाँटी र खुट्टामा चोट वा समस्या हुन सक्ने कुरालाई भने नकार्न सकिन्न । बुद्धिविवेकको सदुपयोग नगर्ने र हौंस्याट् तथा धनोमाद् गर्नेहरूको लागि भने सञ्चित धनको आकस्मिक अपव्यय गराउन राहुकेतुले भूमिका निर्वाह गरिरहेका छन् । विद्यार्थीका लागि साउन महिनाबाट विशेष अनुकूलता बढ्नेछ बुद्धिको युक्ति (जुक्ति) लगाएर समय एवं अवसरको सदुपयोग गरेमा भइरहेको अध्ययन विघ्नतामा सफलता प्राप्त हुनेछ । व्यापार–व्यवसायीका लागि विशेष प्रगतिकारक र कृषक–उद्यमी वर्गको लागि सुख एवम् लाभप्रद समय रहेको छ । फागुनबाट भने साढेसाती शनिको शुरुवात हुने भएकोले अनपेक्षित रूपमा अबरोध एवं प्रतिकूलता प्रतित हुनसक्नेछ, सावधानी रहनुपर्ला । स्वास्थ्य लगायतका सम्भावित अनिष्टको निवाराणको लागि वर्ष भरी भैरवदेवको र आषाढसम्म  सरस्वतीको र फागुन उपरान्त हनुमानवीर तथा शनिमहाकाल आदिको स्तुतिध्यान एवम् श्रद्धाभक्ति एवं व्रत आदि गर्नु हितकर हुने छ ।

कुम्भ राशि /Aquarius (गु.गे.गो.स.सी.सु.से.सो.द.) –

यो वर्ष कुम्भ राशि हुनेहरूको लागि मिश्रित रहेको छ । अधिकांश पक्षमा उथलपुथल र कतै हानी त कतै नसोँचेको सफलता र लाभ मिल्नसक्ने छ । गर्दै आएको र भोग्दै आएको क्षेत्र, भोगाधिकार तथा पदप्रतिष्ठाबाट हात झिक्न पर्नसक्छ भने अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरूआउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । साउन उपरान्त घरपरिवार, दाम्पत्यसम्बन्ध, यात्रा, मित्रसम्बन्ध आदिमा एकाएक असमझदारी बढ्ने तथा कष्ट पर्नसक्ने कुरालाई नकार्न सकिन्न । पितृ–मातृ तथा गुरुजन्य मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने र शत्रुप्रभाव बढ्ने खगोलीय ग्रहको असर देखिएको छ । पशुचौपाया तथा वाहनादिको पनि क्षति हुने सम्भावना देखिएको छ । पछि पर्दाफास हुने पापकर्म एवम् कुधन आर्जनको चेष्टा नआउला भन्न सकिन्न । जन्मकालमा शनि राहु आदि ग्रह प्रतिकूल रहेकाहरूले जागिर तथा कर्मक्षेत्रमा देखिएको अड्चनलाई हटाउन र उपर्युक्त प्रतिकूलतामा कमि ल्याउन शनि, राहु–केतु र बृहस्पतिको शान्तिका लागि शनि, भैरव, वगलामुखी स्तोत्रको पाठ र विद्यार्थीहरूले सरस्वती माँको दर्शन एवम् स्तुती श्रद्धाभक्ति आदि व्रतको पालना गर्नु हितकर रहनेछ । ग्रह शान्तिको लागि आफ्नो कूलधर्म संस्कृति अनुसार सात्त्विक विधिबाट सम्बन्धित देवदेवीको श्रद्धाभक्ति पूजापाठ तथा दर्शन आदि गर्न पनि सकिन्छ । फागुन पछि भने शनिको बाधा विघ्न हट्ने र आयआम्दानीको पक्षमा सुधार आउने छ ।

 

मीन राशि /Pisces (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.) –

यो वर्ष मीन राशि हुनेहरूको लागि विभिन्न सन्देहको बाबजुत पनि धर्म–अध्यात्म ज्ञानको क्षेत्रमा प्रगति हुने, घरपरिवारमा विवाह व्रतबन्धादि दानपूण्यप्रद माङ्गलिक शुभकर्म हुनेछ । संघर्षबाबजुत भाग्यमा बृद्धि हुने र आइलागेका शत्रु पर हट्ने अर्थात शत्रुप्रभाव कम हुने छ । आय–आम्दानीको मात्रा बढ्नेछ । व्यापार–व्यवसाय तथा कृषि उद्यम, राजनीति एवम् समाज सेवा आदि क्षेत्रमा सफलता र पद–प्रतिष्ठा मिल्नेछ । जागिर आदिमा पदोन्नतीदायक वर्ष छ । विद्यार्थीहरूको लागि विद्यार्जनमा देखिएको ढिलासुस्ति हटेर ज्ञानार्जनमा सहज हुने तथा विद्वानको उपाधि मिल्नसक्ने छ । प्रवचक तथा वाचक आदि वाणीवृति हुनेहरूको लागि पनि समय उपलब्धिमूलक रहनेछ । संगीतकर्ला कर्मीहरूको लागि पनि यो वर्ष उल्लेखनीय रहनेछ । साहित्यिक व्यक्तित्त्वले यस वर्ष कृति स्थापित गर्न छन् । नयाँ पेशा–व्यवसाय तथा जागिर मिल्ने, पुरुषार्थ गर्न सकिने, विवाहयोग्यलाई दाम्पत्यसम्बन्ध जोडिने, सन्तानाभिलाषिहरूलाई सन्तान प्राप्ति हुने, वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको ईच्छा पूर्ति हुने समय परेको छ । फागुन महिना उपरान्त भने शनि ग्रहको प्रतिकूलता बढ्ने भएकोले जागिर–पेशा–व्यापारव्यवसाय जन्य कर्मक्षेत्र, मान्यजनको स्वास्थ्य, विशिष्ट सम्बन्ध आदिमा प्रतिकूलता सृजना हुनसक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु जरुरी हुनेछ । जेठ महिनामा अस्वस्थता तथा गृहकलह, आषाढ–साउनमा हाड–जोर्नीको समस्या र आश्विन–साउन भदौं दाम्पत्यकष्ट र स्वास्थ्य अवरोधप्रद छ । निम्न वर्गीय श्रमजिवीको पक्षमा सहयोगप्रद कार्य आदि गर्नाले शनिको प्रतिकूलतालाई कम गर्न मद्दत हुनेछ । धर्म–अध्यात्मका क्षेत्र तथा सम्भावित पक्षमा आउने सन्देह र समस्यालाई समन गर्न आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक विधिले सम्बन्धित उपाय अवलम्बनको साथमा आदिशक्ति भगवती महामायाँको श्रद्धाभक्ति तथा ध्यान गर्नु उत्तम हुनेछ ।

 

पुनश्च : जन्म समयमा ग्रहहरू अनुकूल रहेकाहरूलाई यहाँ बताइएका फलमा प्रतिकूल फल कम घट्ने र अनुकूल फल बढी घट्ने हुनेछ । त्यस्तै जन्म समयमा प्रतिकूल ग्रह हुनेहरूलाई प्रतिकूल फल बढी घट्ने र अनुकूल फल कम घट्ने हुनेछ ।

यहाँहरू सबैको जीवन एवं मनमस्तिष्कमा सद्नियत, सद्बुद्धि, सत्–मार्ग अवलम्बन, दया–करुणा, अहिंसा, मानवीयता, अध्यात्म–आत्मोन्नतिले प्रधानता पाओस् । स्वास्थ्यमा आरोग्यता, कर्म एवं व्यवहारमा कुशलता, चरित्रमा नैतिकताको विकास होस् । यश वृद्धि, श्री वृद्धि, कृति वृद्धि होस् । भगवान पशुपतिनाथ भोले शङ्कर र आदिशक्ति भगवतीको आर्शिवाद सबैमा सधैं परिरहोस् । सदाचारको साधनाले ग्रहादि कुनै पनि दुष्प्रभाव पर्न नसकोस् । राष्ट्रको एउटा सच्चा ईमान्दार चरित्रवान नैतिकवान नागरिकको रूपमा प्रतिष्ठा स्थापित हुन सबैलाई स्वबोध होस्, सबैमा नव वर्ष २०७३ को हार्दिक मङ्गलमय शुभकामना …..।

ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुःख भाग्जन : ॐ शान्तिः ! ॐ शान्तिः ! ! ॐ शान्तिः ! ! ! ज्यो. दीपक गुरु https://www.facebook.com/jyotishdeepakguru

 

2073 Salko Shuvakamana

 

2073 ko Jagllagna Kundali pic (1)

 

प्रतिक्रिया