तातो हावाले तराइको जनजीवन कष्टकर

इनेप्लिज २०७३ वैशाख १ गते २:४३ मा प्रकाशित

महेन्द्रनगर (धनुषा), १ वैशाख । मध्य तथा पूर्वी तराईमा विगत डेढ सातादेखि चलेको तातो हावाले जनजीवन कष्टकर बनेको छ ।

तातो हावा, हुरी र धुलोसँगसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावाहुरीकै कारण मौसमी फल आँप र तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिकी कष्टकर बनेको छ । तातो हावाहुरीले धनुषालगायत आसपासका जिल्लामा गर्मी बढ्नाका साथै जनजीवन प्रभावित भएको छ ।

लूकै कारण दिउँसो बाहिर हिँड्डुल गर्न गाह्रो भएको छ । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुन थालेका छन् । हावाहुरीले उडाएको धुलाका कारण आँखा दुख्ने समस्या बढेको छ । बजार सुनसान देखिने गरेको छ ।

लगातारको तातो हावाले लहरे तरकारी लौका, काँक्रो र करेला सुक्ने थालेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ । पश्चिमबाट आउने तातो हावाले जमिन सुक्खा भएर लहरे तरकारी उत्पादनमा ह्रास आएको छ । हावाहुरीकै कारण आँप, लिच्ची र कटहरमा समेत असर परेको जेटिए अरुण कुशवाहाले बताउनुभयो ।

कुशवाहाका अनुसार पश्चिमबाट चल्ने हावाले आँप र लिच्चीको चिचिला (दाना) झारिदिएको छ ।

प्रतिक्रिया