खोटाङका विष्णु राना साउदीमा बेपत्ता

इनेप्लिज २०७२ चैत ३० गते १०:४२ मा प्रकाशित

दमाम (साउदी अरब), ३० चैत । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपाली युवक साउदी अरबमा बेपत्ता भएका छन् ।

तीन वर्ष अघि साउदी अरब आएका खोटाङ, मङ्गलटार–४ भदौरेका ३५ वर्षीय विष्णुबहादुर राना बेपत्ता भएका हुन् ।

काठमाडौँमा रहेको राज ओभरसिज म्यानपावर कम्पनी मार्फत साउदी आएका राना जुबेलस्थित नेस्मा होल्डिङ कम्पनीमा कार्यरत थिए ।

साउदी आएको छ–सात महिनासम्म घरपरिवारसँग सम्पर्कमा रहेपनि त्यसपछि भने उनी सम्पर्कविहीन बनेको साउदीमा रहेका उनका आफन्त राम थापाले बताउनुभयो ।

राना कार्यरत कम्पनीमा सम्पर्क गर्दा कम्पनीले त्यहाँ नरहेको जनाएको थापाले बताउनुभयो । उनी बेपत्ता भएको विषयमा जानकारी गराउन रियादस्थित नेपाली दूतावासको टेलिफोन नम्बर ०११४६१११०८ मा पटक/पटक सम्पर्क गर्ने प्रयास गरेपनि टेलिफोन नउठ्दा जानकारी गराउन नसकिएको थापाले गुनासो गर्नुभयो ।

लामो समयदेखि सम्पर्कमा नआएपछि आफन्तजनको सहयोगमा उनको खोजीकार्य गरिएको भए पनि भेट्न नसकिएको रानाका साला सुभाष थापा मगरले काठमाडौँंबाट टेलिफोनमा बताउनुभयो ।

थापाका अनुसार राना विगत दुईवर्ष ६ महिनादेखि घरपरिवार तथा आफन्तजनसँग सम्पर्कमा छैनन् ।

प्रतिक्रिया