इलाम, ३० चैत । जिल्ला विकास समिति इलामले जिल्लाका १० हजारभन्दा बढी ज्येष्ठ नागरिकको उपचारका लागि रु दुई करोड निकासा दिएको छ ।
जिविसले ज्येष्ठ नागरिकको उपचारका लागि तीन नगरपालिका र ४३ गाविसलाई निकासा दिएको हो । यहाँका १० हजार ६८८ ज्येष्ठ नागरिकको उपचारका लागि जिविसले रु दुई करोड १३ लाख ६७ हजार निकासा दिएको सामाजिक सुरक्षा शाखाका प्रमुख रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सत्तरी वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई अघिल्लो वर्ष एकमुष्ठ रु दुई हजार उपचार खर्च दिइएको थियो । चालु आर्थिक वर्षमा भने मासिक रु ५०० का दरले रु छ हजार दिनका लागि निकासा दिइएको हो । ज्येष्ठ नागरिकले प्रत्येक चार÷चार महिनामा दुई/दुई हजारका दरले उपचार खर्च पाउने सामाजिक सुरक्षा शाखाका श्रेष्ठले जानकारी दिनुभयो ।
दोस्रो चौमासिकको रकम यहि चैत महिनाभित्रमै वितरण गरिसक्ने जिविसले बताएको छ । वर्षको अन्तिमसम्ममा ज्येष्ठ नागरिकले पुनः अन्तिम किस्ताबापतको रु दुई हजार उपचार खर्च पाउने छन् । ‘वृद्धभत्ता’ का रूपमा दिइँदै आएको मासिक रु ५०० बाहेकै जेष्ठ नागरिकलाई ‘उपचार खर्च’ बापत रु दुई हजार दिइएको हो । उपचार खर्च अन्य सामाजिक सुरक्षा भत्तासँगै वितरण हुँदैछ । सरकारले अघिल्लो वर्षको भन्दा उपचार खर्चमा केही रकम वृद्धि गरेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् ।
त्यसैगरी साठी वर्षमाथिका ज्येष्ठ दलितलाई मासिक रु ५०० का दरले एक हजार १५१ जनालाई रकम प्रदान गर्न रु २३ लाख दुई हजार निकासा गरिएको जिविसले जनाएको छ । त्यस्तै १३३ जना एकल महिलालाई मासिक रु ५०० का दरले, चार हजार ८८२ जना विधुवालाई मासिक रु ५०० का दरले रकम वितरण भइरहेको छ ।
लोपोन्मुख लेप्चा समुदायका तीन हजार २५१ जनालाई मासिक रु एक हजारका दरले रकम निकासा दिइएको छ ।
एक दशकयता सिँचाइ सुविधा छैन् चुलाचुलीमा
इलामको चुलाचुली गाविसमा रहेको रतुवा खोलामा विसं २०५३ मा निर्मित रतुवाखोला सिँचाइ आयोजनाको बाँध भत्किएपछि विगत एक दशकयता गाउँलेले सिँचाइ सुविधा पाउन सकेका छैनन् ।
विसं २०६० सम्म सिँचाइ योजनामा पानी सञ्चालन भए पनि रतुवा खोलामा ढुङ्गा, गिट्टी, बालुवा झिक्ने कार्यले उक्त सिँचाइ आयोजनाको बाँध भत्किएको हो । खोलाको सतह दुई मिटर तल झरेपछि सिँचाइ योजनाको बाँध भत्किएको र गाउँको खेतीयोग्य जमिन बाँझो भएको उक्त सिँचाइ योजनाका अध्यक्ष चन्द्रकुमार थापाले बताउनुभयो ।
सिँचाइ आयोजनाको बाँध भत्किएपछि योजनामा पानी सञ्चालन नहुँदा चुलाचुली–८ र ७ का पूरै खेतीयोग्य जमिन बाँझै रहेका छन् । करिब रु पाँच करोडमा सम्पन्न सिँचाइ योजना सञ्चालन हुँदा हिउँदमा समेत हरियो मकै फलाएर बेच्ने किसान हाल सिमल तरूल रोप्न बाध्य भएका छन् ।
चुलाचुलीवासीको आग्रहअनुसार सिँचाइ विकास डिभिजन कार्यालय इलामले यो वर्ष करिब रु २१ करोड बराबरको योजना सञ्चालन गर्न सहमति जनाएको छ ।
प्रतिक्रिया