दुईसय क्यान्सर पीडितको उपचार

इनेप्लिज २०७२ चैत ३० गते ३:२५ मा प्रकाशित

पथरी (मोरङ), ३० चैत । कोसी अञ्चल अस्पताल विराटनगरमा सेवा सुचारु भएयता २०० बिरामीले क्यान्सरको सेवा लिएका छन् ।

सो अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सौघात पौडेलका अनुसार अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको दुई महिनाको अवधिमा २०० क्यान्सर बिरामीले उपचार सेवा लिएका हुन् ।

सो अस्पतालले सेवा सुरु गरेपछि यतिखेर दैनिक पाँचदेखि सात जना क्यान्सरका बिरामीले उपचार पाइरहेको कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले बताउनु भयो ।

क्यान्सरको उपचारका लागि विशेषज्ञ डा सौघात पौडेल, डा रङ्गीन कठेतले उपचार सेवा दिँदै आउनुभएको छ । हाल महिलामा पाठेघरको मुखको क्यान्सर र छातीको क्यान्सरको उपचार गरेको डा कठेतको भनाइ छ । सो अस्पतालले क्यान्सरको उपचार सर्जरी, किमो थेरापी, रेडियसन, हर्मोनल थेरापी र इम्योन थेरापी पद्धतिबाट गर्दै आएको क्यान्सर विशेषज्ञ डा पौडेलको भनाइ छ ।

सो अस्पतालमा क्यान्सरको उपचार गर्दै आउनुभएका उपेन्द्रनारायण यादवले सो अस्पतालको सेवाबाट आफू सन्तुष्ट रहेको बताउनुभयो ।

सो अस्पतालमा पूर्वाधार अभावले जटिल उपचार सम्भव नभएको अस्पतालका सुपरिटेन्डेन्ट डा पोखरेलको भनाइ छ ।
क्यान्सर उपचार सेवा सुरु गरेका कारण पूर्वका बिरामीलाई क्यान्सर परीक्षण र किमो थेरापी गर्न टाढाका अस्पताल जानुपर्ने समस्या टरेको छ ।

प्रतिक्रिया