आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०१:२२
वासिङटन डिसी 15:37

“मेरिल्याण्डका हामी नेपाली ” ले अमेरिकाका मेरिल्याण्डवासी नेपालीहरुलाई आपसमा जोड्दै

इनेप्लिज २०७२ चैत २८ गते २:०० मा प्रकाशित

unnamed

विदेशीभुमिमा जीवनको रथलाई चलाईरहनु आफैमा चुनौती त छदै छ अर्को तर्फ आवस्यक सुचनाहरुको बारे अद्दावधिक नहुँदा विभिन्न समस्याहरु र जटिलतामा पर्न पनि सकिने त्यत्तिकै सम्भावनाहरु रहन्छ । आज नेपालका अधिकांश युवाहरु संसारका विभिन्न मुलुकहरुमा रोजीरोटीको सन्दर्भमा गएका छन् र भारत बाहेक करिव ४० लाख भन्दा बढि युवाहरु विदेशमा रोजगारीमा छन् । त्यस्तै बर्षेनी करिव ३ लाख भन्दा बढि युवाहरु खाडी मुलुक लगायत एशियाकै सम्पन्न मुलुक जापान, दक्षिण कोरिया , थाईल्याण्ड, सिंगापुर, ईजरायल तथा युरोपका विभिन्न मुलुक त्यस्तै अमेरिका, क्यानडा जस्ता मुलुकहरुमा रोजगारी र विभिन्न पेशा एवं व्यवसायमा आवद्ध रहेका छन् ।
प्रत्येक देशमा नेपालीहरु कुनै न कुनै रुपमा सामाजिक संघ-संस्थाहरुमा आवद्ध छन् र आपसमा भेटघाट एवं सुचनाहरुको आदान-प्रदान गर्ने काम र जन्मभुमि नेपालमा विभिन्न सामाजिक कामको लागी आपसमा आर्थिक सहयोग जुटाएर पठाईदिने काम समेत गरिरहेका छन् । यति हुँदा हुँदै पनि व्यवस्थित रुपमा आजको आधुनिक सामाजिक संजाल लगायतका माध्यमहरुलाई उपयोग गरेर सुचनाहरु , जानकारीहरु , सन्देशहरुको आदान -प्रदान गर्ने विश्वस्त माध्यमको विकाश हुन नसकेर कतिपय अवस्थामा विभिन्न समस्याहरुमा फसेको, दु:ख पाएको , विभिन्न घटनाहरु घट्न पुगेको हामीले विभिन्न संचारका माध्यममा समाचारहरु सुनिरहेका छौ । तसर्थ यस्तो किसिमको समस्या बाट केही हद सम्म जोगिनको लागी जुन-जुन स्थानमा नेपालीको उपस्थिती रहेको छ त्यस स्थानमा आपसमा सुचनाहरु, सचेतना फैलाउने कामको लागी र त्यो देशको नियम -कानुन बारे , चुनौतीहरु र अवसरहरुको बारे आपसमा जानकारी आदान -प्रदानको लागी आधुनिक सामाजिक संजालहरु मार्फत समेत जानकारी गराउने प्रणालीको विकास गर्ने जस्तो की फेसवुक लगायतको सामाजिक संजालमा गुरुप वा पेज खोलेर निश्चित एरियाका व्यक्तीहरुलाई समावेश गरेर पनि आपसमा संचार सम्बन्ध कायम गर्न सकिन्छ । त्यस्तै सामाजिक संस्थाहरुले पनि समय-समयमा सुचनामुलक वा जानकारीमुलक कार्यक्रम राखेर संस्थामा आवद्ध व्यक्तीहरुलाई सुसोचित गराउने काम गर्नु पर्छ । यसो हुनसकेमा पक्कै पनि निश्चित क्षेत्र र देशहरुमा कार्यरत नेपालीहरु वीच आपसमा सुचनाको आदान-प्रदान हुनुको साथै भावनात्मक सम्बन्ध स्थापित हुने र आपसी समस्याहरु सजिलै समाधान हुन सक्छ ।
त्यस्तै अमेरिकामा पनि विभिन्न सामाजिक संघ-संस्थाहरु नेपाली समुदायको हितको लागी कार्यरत छन् । यिनले आफ्नो काम अगाडी बढाईरहेकै छन् । यस्तै उदाहरणीय कामको थालनीको काम यो पंक्तिकार बस्ने शहर मेरिल्याण्डको बाल्टिमोरमा पनि भएको छ । खासगरी मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरुलाई विभिन्न सुचनाहरु, जानकारीहरु दिने , मेरिल्याण्ड क्षेत्रका नेपाली व्यवसायहरु , विभिन्न क्षेत्रमा लागेका उल्लेखनिय काम गर्ने नेपालीहरु बारे, प्रतिभावान नेपालीहरुको बारे जानकारी दिने, उनीहरुको कार्यलाई हौसला प्रदान गर्ने र अन्य व्यक्तीहरुलाई समेत जानकारी दिने, विभिन्न स्थानमा job vacancy को बारे जानकारी दिने, नेपाली व्यवसायी र विभिन्न पेशामा आवद्ध भएकालाई सबै सामु परिचित गराउने जस्ता काममा ” मेरिल्याण्डका हामी नेपाली /बाल्टिमोरका हामी नेपाली ” नामक पेज संचालन गरि केही समय अघि देखि नयाँ अभियान ल्याईएको छ । यसको लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ ।
” मेरिल्याण्डका हामी नेपाली” ले मेरिल्याण्डका बसोबास गर्ने सबै नेपालीहरुलाई उक्त पेजमा आवद्ध गराउने र उनीहरुलाई आवस्यक सुचनाहरु, सन्देशहरु र समसामयिक विषयवस्तुमा आधारित सबै खाले सुचनाहरु प्रवाहित गर्ने प्रयास गरिरहेको छ जसले गर्दा सर्वसाधारणलाई यस स्टेटमा बस्ने नेपाली समुदायको बारेमा जानकारी हुने र उनीहरुलाई समुदायमा रहदा आईपर्ने विभिन्न समस्याहरु समाधान गर्न आवस्यक मार्ग निर्देशनहरु हुन सक्ने, विभिन्न पेशामा विज्ञता हासिल गरेका व्यक्तीहरुबाट व्यक्तिगत र व्यवसायिक ज्ञान एवं सिपहरु हासिल गर्न सजिलो पर्ने , अमेरिकन समसामयिक नियम-कानुन बारे भर्खरै अमेरिका आउनेहरुको लागी सुचनाहरु मिल्न सक्ने , विभिन्न प्रतिभा भएका व्यक्तीहरुको प्रतिभा बारे नेपाली समुदायलाई जानकारी हुन सक्ने, विभिन्न सामाजिक संघ-संस्थाहरुको गतिविधी बारे सहजै जानकारी हासिल हुन सक्ने, नेपाली संस्कार, परम्परा , मुल्य-मान्यता प्रवर्धन गर्ने जस्ता काममा टेवा पुग्न सक्ने देखिन्छ ।
आगामी दिनहरुमा यस “मेरिल्याण्डका हामी नेपाली ” टिमलाई अझै विकास गरि मेरिल्याण्डमा बसोबास गर्ने सबै नेपालीलाई आपसमा जोडेर सहजरुपमा जीवन व्यतित गर्न र आपसमा सौभार्दपुर्णरुपमा सामाजिक हितका कार्यहरु संशक्तरुपमा अगाडी बढाउने, नेपाली संस्कार , संस्कृती, परम्परा, चाडबाड,भाषा, रितिरिवाज , पर्वहरुलाई प्रवर्धन गर्ने , विभिन्न रचनात्मक कामहरु गर्ने , खेलकुद, कलाकारिता लगायतका क्षेत्रलाई विकास र विस्तार गर्न आवस्यक कार्यक्रमहरु संचालन गर्ने, मेरिल्याण्डमा रहेको नेपाली समुदायको हितको लागी खोलिएका संस्थाहरु विचमा समन्वय गरेर रचनात्मक काम गर्ने कुराहरु पनि बताईएको छ।
अमेरिकाका विभिन्न राज्यमा रहेका सामाजिक संस्थाहरु बारे बेला बखतमा मेडियामा आउने गरेको आर्थिक पारदर्शिता नभएको, विभिन्न सामाजिक सरोकारका निर्णयहरु सार्वजनिक रुपमा सर्वसाधारणलाई जानकारी हुन नसकेको, व्यक्तिगत एकल निर्णय हुने गरेको, संस्था भन्दा व्यक्ती ठुलो मान्ने प्रवृती हावी भएको, एउटै व्यक्तीले धेरै संस्थाहरुमा प्रमुख जिम्मेवारी सम्हाल्दा संस्थाहरुमा रचनात्मक काम हुन नसकेको, आर्थिक अनियमितता बढ्दै गएको जस्ता थुप्रै गुनासाहरु आईरहेको र मेरिल्याण्डमा क्रियाशिल विभिन्न सामाजिक संस्थाहरु पनि यस किसिमको आरोप र यथार्थताबाट पक्कै पनि अछुतो छैनन् । यसै वीचमा नितान्त निस्वार्थरुपमा पारदर्शी तवरबाट सामाजिक संजाल फेसवुक मार्फत नै “मेरिल्याण्डका हामी नेपाली” टिमले सामाजिक हित उन्मुख कामहरु गर्ने अठोटका साथ अगाडी बढिरहेको पाईएको छ । यसको मुख्य लक्ष्यनै नेपाली समुदायमा सामाजिक सरोकारका आवस्यक सुचना एवं जानकारीहरु समयमै पुर्याएर सामुहिक हित गर्ने रहेको बुझिएको छ । यस्तै किसिमको कार्यलाई अगाडी बढाएको कुरा छोटो अवधीमै सबैले महशुस गरि सकेका छन् । यस टिमलाई आफुले थाहाँ पाएका सामाजिक हित हुने आवस्यक रचनात्मक सुचना , जानकारी प्रदान गर्दै आवस्यक सहयोग , सुझाव , दिशानिर्देशन गरि अझै मेरिल्याण्डवासी नेपालीहरुको सुचना र संचारको शसक्त भरपर्दो साथी बनाउन हामी सबै मेरिल्याण्डमा बस्ने नेपालीहरुको भुमिका महत्वपुर्ण हुन आउँछ । कुनै आर्थिक लाभको लक्ष्य नराखी विशुद्धरुपमा सामाजिक सेवा भावले ओतप्रोत भएर लागेको यो सामाजिक टिमलाई हामी सबैले आवस्यक प्रोत्साहन गर्नु हाम्रो कर्तव्य हुन आउँदछ । आगामी दिनमा अझै नेपाली समुदायको लागी रचनात्मक काम गर्न सकोस् भनि यस टिमलाई हाम्रो शुभकामना छ ।
यसरी नै प्रदेशमा रहेर पनि नेपाली समुदाय वीच आपसमा सुचनाहरुको आदान-प्रदान गरि आपसी सहकार्यलाई व्यवस्थित गर्ने काममा विभिन्न सामाजिक संजालहरुको उपयोग गर्न सके पक्कै पनि यसले रचनात्मक काम र सेवा पुर्याउन सक्दछ ।

(प्रस्तुती-प्रकाश श्रेष्ठ , बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका )

प्रतिक्रिया