प्रगतिशील लेखक सङ्घमा नयाँ नेतृत्व

इनेप्लिज २०७२ चैत २८ गते १:३८ मा प्रकाशित

काठमाडौँ, २८ चैत । गएराति सम्पन्न प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

समितिमा १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य (२३ सचिवालय सदस्य), छन् भने सम्मेलनले ७० जनालाई राष्ट्रिय परिषद् पनि चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइँटेलले घोषणा गर्नुभयो ।

महासचिवमा आरएम डङ्गोल, वरिष्ठ सचिवमा पुण्य गौतम विश्वास, होमशङ्कर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य निर्वाचित हुनुभएको छ भने सचिवालय सदस्यमा सङ्गीत स्रोता, कृष्णहरि भट्ट, राजु स्याङ्ताङ, लक्षिराम आचार्य, भागवत आचार्य र आरसी न्यौपाने चयन हुनुभएको छ ।

बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष निनु चापागाईं र निवर्तमान अध्यक्ष प्राज्ञ डा अमर गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभयो । नवनिर्वाचित अध्यक्ष पोखरेलले केन्द्रीय सचिवालयले चाँडै तीन वर्षे कार्ययोजना ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मेलनले निवर्तमान महासचिव मित्रलाल पङ्गेनी, कोषाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेका साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा सङ्घीयता अनुकूलको विधान संशोधन छलफलसहित पारित गरेको थियो । सम्मेलनमा ३५० प्रतिनिधि थिए ।

सम्मेलनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । विसं २००७ मा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित सामन्तवादी र साम्रज्यवादी संस्कृतिका विरोधी लेखकको सो संस्था सबै वाम घटकको साझा लेखकीय मोर्चा मानिन्छ ।

प्रतिक्रिया