३९औं वर्ष प्रवेश

इनेप्लिज २०७२ चैत २७ गते १६:५३ मा प्रकाशित

12316218_10153783183362264_7804792892398405300_nविक्रम सम्वत् २०७२ चैत्रको शुरुवातसँगै मेरो लेखन यात्राको ३९औं वर्ष प्रवेश भएको छ ।
यौटा लेखकको जीवनमा ३९ वर्ष कति लामो वा छोटो निक्र्यौल गर्ने कुनै वैज्ञानिक आधार छैन । तर ३९ वर्ष भनेको झण्डै चार दशक हो । कतिपय संसारका प्रख्यात लेखकहरु ३९ वर्ष नपुग्दै वितेका छन् भने कतिपय लेखकहरु ९० नाघेर पनि लेखनमा निरन्तरता दिइरहेका छन् । नेपालका माधव घिमिरे, मदनमणि दीक्षित भनौं वा अमेरिकाका ंवीट जेनरेशनका कवि लरेन्स फर्लिंगेटी ९० नाघेका सुन्दर प्रतिभा हुन् । यिनीहरु ९० नाघेर पनि मजाले लेखनलाई निरन्तरता दिएर नयाँ पुस्तालाई अथाह अनन्त प्रेरणा दिइरहेछन् ।
मैले सम्झेसम्म मेरो पहिलो कविता लेखन ८ कक्षामा हुँदा हरेक शुक्रवार गरिने साप्ताहिक कवि गोष्ठीमा विहानी शिर्षकको कवितावाट हेटौंडाको भूटनदेवी हाइस्कूलमा भएको थियो । त्यो कविताको विषय मात्र शेष छ सम्झनामा मन्दिरमा घण्टा वज्यो, चराचुरुँगी कराउन थाले अव उठ विहानी भयो भन्ने खालको थियो । प्रतियोगितामा त्यो कविता पुरस्कृत भएन । तर पुरस्कृत हुनेहरु साहित्यको वृत्तमा कहीं कतै देखै परेनन् , म भने ३९ वर्ष लगातार लेखेको लेख्यै छु ।
यौटा लेखकले कति लेख्ने भन्ने कुरा उसको क्षमतामा भर पर्ने कुरा हो । यौटा लेखकले कति विधामा लेख्ने भन्ने कुरा पनि उसको क्षमतामा भर पर्ने कुरा हो । उसले कस्तो लेख्यो त्यो मूल्याँकन गर्ने काम पाठकको हो, अध्येताको हो र विद्वानको हो ।
मैले पछाडि फर्केर हेर्दा देख्दछु विक्रम सम्वत् २०३४ साल । त्यही साल मेरो पहिलो रचना कथा किनारा प्रकाशित भएको थियो फ्रेण्डस् क्लव कोपुण्डोलको मुखपत्र आस्था मा र त्यो पत्रिकामा मेरो रचना पुर्याउने सारथी हुनुहुन्थ्यो फ्रेण्डस् क्लव कोपुण्डोलकै सकृय सदस्य मेरा सहपाठी र केही समयका सहकर्मी शुशिल ढुँगेल ।
त्यो समय र आज वीच ३८ वर्ष लामो अन्तराल छ । तर म छु । मेरो सकृयता छ र यस अवधिमा मैले सिर्जना गरेको सिर्जन कर्मको फेहरिस्त छ, २२ मौलिक कृतिहरु । सम्पादन अनुवाद गरेका पुस्तकहरु छन् १० । जम्मा ३२ थान ३८ वर्षमा । यो थोरै हो कि धेरै ? यो कुनै जरुरी प्रश्न होइन । तर मैले जे जति लेखें, त्यो महत्वपूर्ण हो । त्यो चासोको कुरा हो ।
२०३४ सालमा किनारा कथा प्रकाशित हुँदा म कालिकाटीको श्याम ड्राइभरको घरको छिंडीको कोठामा ६० रुपैयाँ प्रति महिना घर भाडा तिरेर वस्थें । काठमाडौंका गल्लीहरुमा २ रुपैंयाँ प्लेट वफ मोमो पाइन्थ्यो र त्रिपुरेश्वरवाट वानेश्वरसम्म जान ट्रलि वसको भाडा थियो २० पैसा । म त्यो २० पैसा जोगाउन कालिमाटीवाट हिंडेर त्रिपुरेश्वर हुँदै थापाथली प्रसुतिगृहको छेउछेउ धानवारीको आलिआलिवाट मीन भवन क्याम्पस पुग्दा शितले मेरो कपाल लफ्रक्कै भिज्दथ्यो र लुगा पनि भिजेर गह््रुँगो हुन्थ्यो । तर २० पैसा जोगाउन सकेकोमा सन्तोष हुन्थ्यो । किनभने ५ दिन वस भाडा जोगाउन सके १ रुपैयाँ वच्दथ्यो र हाफ प्लेट मम पाइन्थ्यो । साहुजीसँग अलिकति मोमोको अचार थपेर अलि वढी पेट ढड्याउन पाउँदाको मजा, आनन्द र सन्तोक वेग्लै हुन्थ्यो ।
मैले लेख्न थालेको शुरुवातकै वर्षहरुमा २०३६ सालको विद्यार्थी आन्दोलन भयो र सडक कविता क्रान्ति भयो । प्रजातन्त्रको पक्षमा भएको सो सडक कविता क्रान्ति काठमाडौं, भक्तपुर, ललीतपुर, तनहुँ र कास्की जिल्लामा समेत फैलिएको थियो जसमा म सकृय रुपले सहभागी भएँ र मोहन कोइराला, हरिभक्त कटुवाल, शैलेन्द्र साकारजस्ता अग्रज पुस्ताका कविहरुसँग एउटै मञ्चमा वसेर कविता पढ्ने अवसर पाएँ ।
मेरो पहिलो पुस्तक कथा सँग्रह सुतेको समुद्र साझा प्रकाशनवाट २०४० सालमा प्रकाशन भएको हो भने यसै वर्ष प्रकाशित नविनतम कृति गन्तव्य गणवहाल मेरो २२औं मौलिक कृति हुन पुगेको छ र यसको प्रकाशक पनि साझा प्रकाशन नै हो । यो यौटा सुखद सँयोग नै हो कि मेरो लेखन यात्राको ३९औं वर्ष प्रवेशको वर्ष मेरो पुस्तक प्रकाशनको ३३ औं वर्ष प्रवेश भएको छ ।

प्रतिक्रिया