जन्मदिने आमा र जन्मभुमिलाई भुल्नु मानव सभ्यता कदापी हुनै सक्दैन -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७२ चैत २७ गते १६:०५ मा प्रकाशित

image1

जन्मभुमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने मान्यता परापुर्वकाल देखि सबैले मान्दै आएको कुरा हो । वास्तवमा यस कुरालाई बोलीचालीको रुपमा सबैले स्विकार्दै आएको पनि देखिन्छ तथापी व्यवहारिक रुपमा कतिपय अवस्थामा यस मान्यतालाई आत्मसाथ नगरेको पनि देखिन्छ । जन्मदिने आमा र जन्मभुमिको सम्मान गर्नु पर्छ किनकी यी दुई सृष्टीका अभिन्न अंग हुन् । आमाले नै कुनै पनि सन्तानलाई भरोण पोषण गर्ने र पहिलो पाठशालाको रुपमा हरेक व्यवहारिक ज्ञानहरु दिएर समाजमा घुलमिल हुन सिकाउने गर्छिन् र उनले नै औपचारिक स्कुल सम्म पुग्नको लागी आधार तयार गर्छिन् । आमाको कोखमा भ्रुणको विकास भए देखि जन्माउने र हुर्काउने देखि योग्य नागरिक बनाउने सम्म उनको भुमिका महत्वपुर्ण ठानिन्छ, जसले यसको नजारअन्दाज गर्छ त्यो व्यक्तीले आमाको वात्सल्यप्रेम र महत्व बारे अबुझ बनिरहेको हुन्छ ।
त्यस्तै जन्मेको ठाउँ पनि अत्यान्त महत्वपुर्ण हुन्छ त्यसै ठाउँले मान्छेलाई विभिन्न संस्कार, मुल्य, मान्यता, व्यवहारिक ज्ञान, जीवनशैली, जीवन संघर्षको पाठ, आचरण, नैतिक ज्ञान, सामाजिक-सांस्कृतिक ज्ञान, विभिन्न आधारभुत ज्ञान , जीवन जिउने तरिका , विभिन्न सिप, कला , आत्मज्ञान , जीवन र जगत बारे साक्षात्कार गर्ने अवसर समेत प्रदान गरेको हुन्छ । अत: जन्मेको ठाउँमा जीवन निर्वाह गरिरहदा होस् वा अन्यत्र बसाई सरेर र कामको दौडानमा बाहिर बसिएको होस् उक्त भुमिलाई सधै संझिने र त्यो ठाउँको विकासमा केही न केही आफ्नो तर्फबाट सक्दो सहयोग कुनै न कुनै रुपबाट गर्नु आवस्यक हुन्छ । आफु हुर्केर, पढेर, बढेर निश्चित बाटो समाते पछि आफुलाई जन्मदिने आमालाई पनि भुल्न खोज्ने र आफु जन्मेको ठाउँ पनि भुल्न खोज्ने काम कुनै पनि हालतमा राम्रो हुनै सक्दैन ।
गाउँबाट शहरमा बसाई सार्दैमा, शहरबाट विदेशमा डेरा सर्दैमा, दुई-चार पैसा र टुटे-फुटेका अंग्रेजी शव्द बोल्न जान्दैमा, युनिभरसिटीको डिग्रीको सर्टिफिकेट लिदैमा, शहरमा व्यापार-व्यवसाय गर्दैमा, सरकारी उच्च पदमा पुग्दैमा, अमेरिका -युरोप छिर्दैमा , दुई-चार जना अघि-पछि गर्ने साथीहरु पाउँदैमा संसार जितेको संझेर कोही कसैलाई नगन्ने, आफ्नै जन्म दिने आमालाई पाखे ठान्ने, अझै आमालाई वृद्धाश्रमको नियाश्रो जीवन बिताउन बाध्य तुलाउने, जन्मेको ठाउँको बारे नामै सुन्न नचाहने आधुनिक शहरियाहरुलाई देख्दा निकै दया लागेर आउने गर्दछ । धन, पढाई र पदिय घमण्डको दम्भ देखाई लोकले मान्ने जन्मदाता र जन्मभुमिलाई अपमान गर्ने व्यक्तीहरुलाई कुनै पनि हालत र शर्तमा महान व्यक्ती मान्नै सकिदैन । यस्ता व्यक्तीहरुलाई भुटनिज नेपाली, बर्मा र ईन्डियामा बस्ने नेपालीमुलका नागरिकहरुलाई गएर सोध्न भन्नु पर्छ की आमा र जन्मभुमि/ पुर्खाको भुमि भनेको के हो र कति प्रिय हुन्छ ? आफ्नो संस्कृति, परम्परा , भाषा, चाडबाड , कला, धर्म , मुल्य, मान्यता, रितीरिवाज भनेको के हो ?
अहिले नेपालीहरुमा बढ्दै गएको विकृत मानसिकता र शहर केन्द्रित र विदेश केन्द्रित बसाई एवं त्यही बसाईले आफ्नो जन्म दिने आमा-बाबु र जन्मभुमि/ जन्मेको ठाउँलाई भुल्ने, माया मार्ने जुन प्रवृति बढ्दै गएको छ जसले भोलीका दिनमा निकै ठुलो सामाजिक वितृष्णा र सामाजिक विचलन/सामाजिक दरार पैदा नगर्ला भन्न सकिदैन । अत: समयमै यस सम्बन्धी नैतिक शिक्षा वा नागरिक शिक्षा दिएर अहिलेको किशोर र युवा अवस्थाका नागरिकमा जन्मदाता र जन्मेको माटोलाई माया गर्ने, सद्भाव गर्ने र सक्दो सहयोग गरि सत्कर्म गर्ने पाठ सिकाउनु आजको तड्कारो आवस्यकता हो ।
समय अनुकुल व्यवहार, सोच, धारणा, मुल्य -मान्यता, आचरणमा परिवर्तन आउनु कुनै नौलो र आश्चर्यजनक कुरा होईन तथापी जसले हात-पाखुरा लगाएर हिड्न सिकायो, बोल्न,पढ्न, कर्म गर्न सिकायो त्यसैलाई भुल्नु भनेको कुनै आधुनिक पाठशालामा सिकाईएको शिक्षा र आधुनिक ज्ञानको उपज हुनै सक्दैन त्यो त केवल आफुले विकास गरेको भ्रामक सिद्धान्त र आचरणको रुप र संस्कार मात्र हो । यसैले यस्ता खाले गलत मुल्य-मान्यता त्यागेर आजै देखि आफु र आफ्नो सन्तानहरुलाई जन्म दिने आमा-बाबु र जन्मभुमि प्रति माया गर्न सिकाउ र आफु पनि सिकौ अनि सभ्य नागरिकको परिचय दिन खोजौ । जीवनमा यस्तो कर्म नगरौ जस्ले जीवनको अन्तिम सास फेरिरहदा पश्चातापले छिन-छिन जलिरहनु नपरोस् । समाजका हरेक व्यक्तीको अन्तरआत्मामा आफ्नो नाम लेखाउन सफल बनौ , आफ्नो आमा-बाबुलाई खुशी राख्ने प्रयास गरौ र जन्मेको धर्तीलाई सधै माया गरौ ।

बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका

प्रतिक्रिया