बाग्मती सफाइ अभियानमा स–साना नानी पनि

इनेप्लिज २०७२ चैत २७ गते ३:५४ मा प्रकाशित

काठमाडौँ, २७ चैैत । बाग्मती नदीलाई सफा र स्वच्छ तुल्याउने अभियानअन्तर्गत आज पनि बाग्मती नदीबाट डोकाका डोका फोहर निकालिएको छ ।

पूर्वमुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा आज बिहान ८ देखि १० बजेसम्म बाग्मती नदी र किनाराको सरसफाइ गरिएको हो । बाग्मती नदी सफाइ महाअभियान १५२औँ साता पुगेको छ ।

सरसफाइ अभियानमा खासगरी नेपाली प्रहरी र सशस्त्र प्रहरीले सघाइरहेका छन् भने अरू सङ्घसंस्था पनि सरसफाइमा सक्रिय छन् । टाढाटाढादेखि बाग्मती सफाइका लागि प्रत्येक शनिबार तोकिएको समयमा नदीमा पुग्ने गरे पनि स्थानीयवासी भने रमिते बनिरहेका छन् ।

आजको अभियान कोटेश्वर महादेवस्थाननजिक बाग्मती नदी र किनारामा भएको थियो । सफाइका क्रममा प्लास्टिकजन्य फोहरलाई ट्रकमा सङ्कलन गरिएको थियो भने सुकेका पातपतिङ्गर जलाइएको थियो ।

आज जुनियर स्कुलस् प्रिन्सेस प्रोग्रामसँग आबद्ध ७७ जना स–साना नानी र उनीहरुका अभिभावकसमेत सहभागी भएका थिए । पवित्र बाग्मती नदी सफाइ अभियानमा सात वर्षका नानीदेखि ७० वर्षसम्मका वृद्धवृद्धाको सहभागी भइरहेको देखिन्छ ।

प्रतिक्रिया