ऐतिहासिक चैत्राष्टमी मेला हुँदै

इनेप्लिज २०७२ चैत २७ गते ३:३२ मा प्रकाशित

बागलुङ, २७ चैत । चैते दसैँको अवसरमा आगामी वैशाख १ देखि ४ गतेसम्म बागलुङमा चैत्राष्टमी मेला हुने भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको मुख्य आयोजनामा मेला हुन लागेको हो ।

आयोजकमा रामरेखा सामुदायिक वन उपभोक्ता समूह, जिविस बागलुङ, बागलुङ नगरपालिका लगायतका सङ्घसंस्था छन् । चार दिनसम्म चल्ने महोत्सव सफल पार्न गुठीका अध्यक्ष राजु खड्काको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । अध्यक्ष खड्काका अनुसार मेलामा कला, संस्कृति, खेलकुद र व्यापार प्रवद्र्धनका विविध कार्यक्रम राखिएका छन् ।

मेलामा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, भलिबल, छेलो र घैँटो फोर प्रतियोगिता हुने अध्यक्ष खड्काले जानकारी दिनुभयो । स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शन, मौलिक कला संस्कृतिको प्रस्तुति पनि मेलामा राखिने छ । मेलास्थलमा ‘रमाइलो बाल उद्यान’ पनि सञ्चालन गरिने भएको छ । दोहोरी प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै भलिबलमा विजेता तीन टोलीलाई क्रमशः एक लाख र कालिका कप, ५५ हजार र २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । ‘गन्तव्य बागलुङ कालिका ः कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित मेला हुन लागेको हो ।

मेलामा २० भन्दा बढी व्यापारिक ‘स्टल’ राखिनेछ । एक लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकको गरेको छ । “मेलाले बागलुङको पहिचान उजागर गर्छ, यो ऐतिहासिक मेला हो, यसले पर्यटन प्रवद्र्धनमा ठूलो महत्व राख्छ”, अध्यक्ष खड्काले भन्नुभयो । गुठी व्यवस्थापन समितिले विगत तीनवर्षदेखि मेला राख्दै आएको छ ।

चैत्राष्टमीका बेला विशेष पूजाआजा हुने भएकाले कालिका मन्दिरमा पनि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

प्रतिक्रिया