बल्ल सुरु भयो हुलाकी राजमार्गमा कालोपत्र

इनेप्लिज २०७२ चैत २६ गते १:२१ मा प्रकाशित

काँकडभिट्टा (झापा), २६ चैत । वर्षौंदेखि हल्लामा सीमित रहँदै आएको बहुचर्चित हुलाकी राजमार्ग कालोपत्रे गर्ने कार्यको बल्ल बिहीबार शिलान्यास भएको छ ।

झापाको भद्रपुरदेखि कञ्चनपुरसम्म मधेसलाई सडक सञ्जालबाट जोड्ने पाँच दशकअघि देखिको परिकल्पनामा नयाँ आयाम थप्दै झापाको जलथलमा हुलाकी राजमार्गको पहिलो चरणको कालोपत्र निर्माणको थालनी गरिएको हो ।

राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले कालोपत्र गर्ने कार्यको औपचारिकरुपमा शुभारम्भ गर्नुभएको हो । हुलाकी राजमार्ग आयोजनाको भद्रपुरदेखि रतुवा खोलासम्म ५० किलोमिटर सडक झापामा पर्छ । त्यसमध्ये भद्रपुरको झापाचोकदेखि जलथलको बडावारीसम्मको २० किलोमिटर खण्डमा पहिलो चरणमा कालोपत्रे हुने भएको हो ।

पाँचथरको आशिष थाम्सुहाङ जेभीले हुलाकी राजमार्गको २० किलोमिटर खण्डको कालोपत्र गर्न २६ करोड ४३ लाख रुपैयाँमा ठेक्का लिएको छ । निर्माण कम्पनीका सञ्चालक तेजकुमार कुरुम्वाङले गत माघ १३ गते ठेक्कासम्बन्धी सम्झौता भएको र २०७५ साल साउन १२ गतेभित्रमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सर्त रहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया