आशिष पत्रकारिता पुरस्कार चापागाईंलाई

इनेप्लिज २०७२ चैत २६ गते १:०४ मा प्रकाशित

इलाम, २६ चैत । पत्रकार आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासङ्घ इलाम शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार भीम चापागाईंलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासङ्घ इलामको बिहीबार बसेको बैठकले उक्त पुरस्कार चापागार्इंलाई प्रदान गर्ने निर्णय गरेको हो । स्व राईको १२औँ स्मृति दिवसको अवसर पारेर २०७३ वैशाख १ गते पुरस्कार वितरण गरिने निर्णय गरिएको पत्रकार महासङ्घ इलाम अध्यक्ष रोहितचन्द्र भट्टराईले बताउनुभयो । सोयाङ–९ घर भएका चापागाईं २०६२ सालदेखि पत्रकारिता पेसामा सक्रिय हुनुहुन्छ ।

तत्कालीन रेडियो नेपालमा इलामबाट समाचार संवाददाताका रूपमा कार्यरत राईको नयाँ वर्षको अवसरमा २०५९ साल वैशाख १ गते इलामको माईखोलामा पौडी खेल्ने क्रममा डुवेर ज्यान गएको थियो । उहाँकै सम्झनामा पत्रकार महासङ्घ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी हरेक वर्ष क्रियाशील मेची अञ्चलका उदीयमान पत्रकारलाई पाँच हजार रूपैयाँ नगद राशि भएको पुरस्कार प्रदान गर्दै आएको छ ।

सो पुरस्कारबाट यसअघि पत्रकार बेनुपराज भट्टराई, युवराज गौतम, राजु शिवा, झापाका रमेश समदर्शी, राजकुमार दाहाल, मोहनकाजी न्यौपाने, पाँचथरका गणेश साङपाङ, ताप्लेजुङका आनन्द गौतम, राससका गोविन्द लामिछाने र राजधानी दैनिकका कोकिला ढकाल पुरस्कृत भइसक्नुभएको छ ।

प्रतिक्रिया