सडकका लागि गाउँलेले जुटाए एक करोड

इनेप्लिज २०७२ चैत २५ गते ७:४३ मा प्रकाशित

ताप्लेजुङ, २५ चैत । सरकारद्वारा भइरहेको सडक निर्माणको गति सुस्त भएपछि ताप्लेजुङ जिल्लाका पूर्वी तीन गाविसका बासिन्दा आफैँले ‘एक करोड’ रुपैयाँ सङ्कलन गरेर सडक निर्माण कार्यमा जुटेका छन् ।

जिल्लाको खेवाङ, मेहेले र सुरुम्खिम गाविसका बासिन्दा समुदायको लगानीमा सडक विस्तारको अभियानमा लागेका हुन् । गत वर्ष जिल्लाको आम्वेगुदिनको दुई नम्बर वडाका बासिन्दाले १७ लाख रुपैयाँ सङ्कलन गरेर बाटो आम्वेगुदिनको खाम्दिम्वे बजारबाट हप्पुखोलासम्म पुर्‍याएका थिए । आम्वेगुदिनले आफ्नो अन्तिम विन्दुमा पु¥याएपछि सो गाविस अगाडिका तीन गाविसवासी सडक निर्माणमा जुटेका हुन् ।

स्थानीय समुदायको लगानीमा यो वर्ष छ किलोमिटर अगाडि बढेको छ । यसै महिनाको सुरुवाट विस्तार कार्य सुरु भएको हो । वैशाख अन्तिमसम्ममा थप ११ किलोमिटर बढाएर खेवाङ गाविसको सिमानामा पु¥याउने योजना रहेको सुरुम्खिम–५ का उपभोक्ता खड्गप्रसाद तिवारीले बताए । तिवारीका अनुसार यति सडक विस्तार गर्दा मेहेले र सुरुमखिम गाविस पार हुन्छ र खेवाङ छुन्छ । बाँकी अर्को वर्ष सबै मिलेर विस्तार गर्ने योजना रहेको छ । तेल्लोक गाविस घर भएका ठेकदार ज्ञानु भट्टराईलाई निर्माणको जिम्मा दिइएको छ । भट्टराईले एक करोड ६० लाख रुपैयाँमा खेवाङको सिमानामा रहेको सुरुम्खिमको बाँकेटारसम्म पु¥याउने जिम्मा लिएका छन् ।

यस्तै, बाँकी रु ६० लाख बजेट जुटाउनका लागि समुदायले सरकारी बजेटमा लबिङ गरेका छन् । सुरुमखिमको उपभोक्ता समिति सदस्य तथा पूर्व गाविस अध्यक्ष राम इङबुङले सांसद भूपेन्द्र थेवेसित रु १४ लाख मागेको र सुरुमखिम गाविसले रु पाँच लाख ४६ हजार दिएको बताएका छन् । अपुग बजेटका लागि जिविसलगायतका निकायसँग माग गरिरहेको समेत उनले बताए । तीन गाविसले समुदायवाट प्रतिगाविस रु ३३ लाखका दरले रकम सङ्कलन गरेका छन् । सडक निर्माणका लागि ४० हजार रुपैयाँ दिएका मेहेले गाविसका दिवस भण्डारीले एक करोड सङ्कलनका लागि क, ख, ग र घ गरेर प्रत्येक घरधुरीलाई चार तहमा वर्गीकरण गरेको जानकारी दिएका छन् ।

प्रत्येक गाविसमा वडा भेला राखेर समुदायको इच्छा र आर्थिक अवस्था हेरी रकम लगाइएको सुरुमखिमका उपभोक्ता समिति अध्यक्ष डिवी खुदाङले बताए । सडक सुविधाका लागि सबैको इच्छा भएकाले स्वतस्फुर्तरुपमा लगानी उठेको उनले बताएका छन् । अपुग रु ६० लाख कतैबाट नजुटे समुदायले ऋण लिएर भएपनि लक्ष्य पूरा गर्ने योजना रहेको बताइएको छ ।

यता सरकारबाट निर्माणाधीन क्षेत्रीय सडक भने साब्लाखु, लिम्वुदिन हुँदै अघि बढिरहेको छ । वार्षिक रु आठ÷दस लाखसम्म रकम आउने र धेरै नबढ्ने भएकाले स्थानीयवासीले यसको धेरै आशा गरेका छैनन् । खाम्दिङगे बजार हुँदै गएको सडक तेल्लोकतिर अघि बढाइएको छ । जिल्लाका प्रायः धेरै गाविसमा सडक बाटो पुगेपनि त्यस क्षेत्रमा चाँडै सडक विस्तार हुने छाँटकाँट नदेखेपछि समुदाय आफँै सडक निर्माणमा जुटेको स्थानीयवासी बताउँछन् ।

अहिलेसम्म यी गाविसका बासिन्दालाई सडकको पहुँचमा पुग्न दुई घन्टादेखि पाँच घन्टासम्म पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय जलविद्युत्, पुललगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक गह्राँै खालका सामानको ढुवानी महँगोमा हेलिकोप्टरमार्फत गर्ने गरिएको छ । सरकारद्वारा हुने विकासका काम सुस्त हुँदै गएपछि जिल्लाका अधिकांश क्षेत्रको बाटो, जलविद्युत्लगायत विकासका काममा जिल्लाका अधिकांश क्षेत्रका समुदायको लगानी बढ्दै गएको छ ।

प्रतिक्रिया