आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०३:१३
वासिङटन डिसी 17:28

दलको नेतामा पनि देउवा विजयी, पौडेलको लज्जास्पद हार

इनेप्लिज २०७२ चैत २४ गते १५:५७ मा प्रकाशित

Rss_Images_1459940113819_RoS-Ktm-NC leader

काठमाडौँ, २४ चैत । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

देउवाले १३९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक रमेश रिजालले राससलाई जानकारी दिनुभयो ।

काँग्रेसका २०७ सांसद्मध्ये २०६ जनाले मतदान गर्नुभएको थियो ।

केन्द्रीय सदस्य एवम् सांसद् नरहरि आचार्य बिरामी हुनुभएकाले मतदान गर्न आउन सक्नुभएन । घरमा लडेर घाइते हुनुभएका अर्का नेता डा रामशरण महतले भने इच्छाइएका स्वकीय सचिव रमेश महतमार्फत मतदान गर्नुभएको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।

विद्युतीय मतदान यन्त्रबाट मतदान गरिएकाले छिट्टै परिणाम प्राप्त भएको हो ।

मेरो काँधमा थप जिम्मेवारी आएको छ: देउवा

देउवाले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएपछि आफ्नो काँधमा थप जिम्मेवारी आएको बताउनुभएको छ ।

आज भएको पार्टीको व्यवस्थापिका–संसद्, संसदीय दलको नेताको निर्वाचनमा विजयी भएपछि नेता देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै आफूमा गहन जिम्मेवारी थपिएको बताउनुभयो ।

दलको नेतामा सभापति देउवाले १३९ मत र वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गर्नुभयो । काँग्रेसमा २०७ सांसद् छन् । “यो पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यास हो, यसमा जितहार हुदँैन, यसमा जिम्मेवारी कसले पायो भन्ने मात्र हुन्छ” उहाँले भन्नुभयो ।

काँग्रेसले जहाँनियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्था हटाएर मुलुकमा प्रजातन्त्रको स्थापना गरेको बताउँदै सभापति देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पार्टीको अहम् भूमिका भएको उल्लेख गर्नुभयो ।

हालसम्मका सबै ठूला राजनीतिक आन्दोलनको नेतृत्व काँग्रेसले नै गरेको दृष्टान्त दिँदै उहाँले यस कार्यमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेताको ठूलो त्याग र योगदान रहेको स्मरण गर्नुभयो ।

अब प्रजातन्त्रको खिलापमा जो आए पनि टिक्न नदिने बताउँदै सभापति देउवाले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने काममा लाग्नु छ । म यस काममा आफ्नो क्षमताले भ्याएसम्म लाग्ने छु ।”

आफ्ना प्रतिस्पर्धी नेता पौडेलको बारेमा सभापति देउवाले आफूलाई नेता पौडेलको सहयोगको आवश्यकता रहेको बताउदै भन्नुभयो, “उहाँलाई विश्वासमा लिएर पार्टीलाई अझ बलियो बनाएर अघि बढाउने छु ।”

मुलकका वर्तमान समस्या समाधानमा आफू र आफ्नो पार्टी गम्भीर भएर लागेको बताउँदै सभापति देउवाले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण गर्नुका साथै भूकम्पपीडित जनताको तत्काल उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

न्यायालय राजनीतिक पार्टीको हस्तक्षेपबाट मुक्त हुनुपर्ने भन्दै उहाँले मधेसका जायज मुद्दा सहमतिका साथ समाधान गरी संविधानको प्रभावकारी कार्यान्वयन गर्न पार्टी लाग्ने बताउनुभयो ।

मुलुकमा स्थायी शान्ति र कसैले खोस्न नसक्ने प्रजातन्त्रका लागि लाग्ने बताउँदै उहाँले भन्नुभयो, “विदेशिएका युवालाई स्वदेशमै काम गर्न वैदेशिक लगानी भित्र्याउनुको विकल्प छैन । यसमा सबै लाग्नुपर्छ ।”

बहुदलीय प्रजातन्त्रमा बलियो प्रतिपक्षी नभएमा सत्तापक्ष निरकुङ्श हुने बताउँदै उहाँले त्यसका लागि काँग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

देउवाको जीवनी

नेता शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो ।

हाल उहाँ बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।

बाल्यकालदेखि नै राजनीतिमा चासो राख्नुहुने नवनिर्र्वाचित संसदीय दलका नेता देउवा पार्टी संस्थापक नेता बिपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिनुभएको थियो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि नेता देउवा काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेपाल विद्यार्थी सङ्घका संस्थापक सभापति हुनुहुन्छ ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ ।

पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा छोरा सभापति देउवाको एक छोरा हुनुहुन्छ । उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा पनि हाल व्यवस्थापिका–संसद्को सदस्य हुनुहुन्छ ।

नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट अधिक मतान्तरमा निर्वाचित हुनुभयो ।

विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा पनि डडेल्धुरा र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले विसं २०४८ देखि २०५१ सम्म गृहमन्त्री एवम् तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

यसअघि विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उहाँ पहिलोपटक काँग्रेस संसदीय दलको नेता निर्वाचित हुनुभएको थियो । विसं २०५१ मा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकार विसं २०५२ मा ढलेपछि उहाँ पहिलोपटक नेपालको प्रधानमन्त्री बन्नुभएको थियो । विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री हुनुभएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन असक्षम भनी प्रधानमन्त्री पदबाट बर्खास्त हुनुभएको थियो ।

बर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः प्रधानमन्त्री बनाइनुभएका नेता देउवा २०६१ माघ १९ गते प्रधानमन्त्री पदबाट बर्खास्ती भई नजरबन्दमा पर्नुभएको थियो । राजा ज्ञानेन्द्रको यो कदमपछि संसदीय राजनीतिमा सक्रिय राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा(माओवादी)बीच सहकार्यको वातावरण बनेको थियो ।

विसं २०५९ जेठ ८ मा संसदीय दलको नेता एवम् प्रधानमन्त्री रहेका बेला नेता देउवाले संसद् विघटन गरेपछि काँग्रेस विभाजन भएको थियो । काँग्रेसको विभाजनपछि उहाँ नेपाली काँग्रेस (प्रजातान्त्रिक)को सभापति बन्नुभएको थियो । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को विसं २०६३ मा एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता हुनुभयो ।

उहाँ विसं २०५६ मा काँग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गठन गरेको माओवादी समस्या समाधान उच्चस्तरीय समितिका अध्यक्षसमेत हुनुहुन्थ्यो ।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेवि सङ्घका प्रथम सभापति हुनुहुन्छ र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ ।

देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ । काँग्रेसको १३ औँ महाधिवेशनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति पदमा विजयी हुनुभएको थियो ।

यसअघि पार्टीको १०औँ महाधिवेशनमा नेता गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा नेता सुशील कोइरालाबाट समेत देउवा पार्टी सभापति पदमा पराजित हुनुभएको थियो ।

पार्टी संसदीय दलको नेतामा पनि विसं २०५६ नेता भट्टराईले राजीनामा दिएपछि तत्कालीन सभापति गिरिजाप्रसाद, पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन उपसभापति पौडेल र दोस्रो संविधानसभा निर्वाचनपछि सभापति सुशील कोइरालाबाट नेता देउवा पराजित हुुनुभएको थियो ।

प्रतिक्रिया