जसको कोहि पनि हुँदैन, उसको भगवान हुन्छ भन्थे, तर जसको भगवान पनि हुँदैन उसको को हुन्छ….. ?

इनेप्लिज २०७२ चैत २४ गते १०:४६ मा प्रकाशित

pradip

दुःख सुखको यो संसारमा हामी सबै जन्म मरणको चक्रमा घुमिरहेका हुन्छौं, अन्ततोगत्वा मृत्यमा विलय हुनु नै पर्छ । यस अवश्यंभावी सत्यको ज्ञान हुँदा हुँदै पनि आफ्ना र आफन्तको मृत्यु हुँदा यी सवै बिर्सिईदो रहेछ, यो सत्य यथार्थ रहेछ, म सानो हुँदा मरो ठुलोदाई (महेश्वर के.सी.) उपचार क्रममा भारतको भेलोरमा स्वर्गारहण हुनु भएको थियो, भगवानले पनि राम्रो मान्छे नै लाने रहेछ, समवेदना व्यक्त गर्न आउने आफन्तजनहरुको यो भनाई सत्य रहेको मैले महशुष गरेको छु ।

दाई वित्नु भएको केहि वर्षको अन्तरालमा पुजनीय पिताको स्वार्गारोहण भयो, छोरा भएर पनि मैले पिताको चितामा दागवत्ति दिन पाईन, किनकी पिताको वियोगमा कहिले अचेत र कहिले होस खुल्ने अवस्थाले गर्दा आर्यघाट सम्म जान सकिन त्यसकारण दागवत्ति दिन पाईन त्यसको मलाई अहिले पनि पिडाबोध भईरहेको छ । दुःखको एकपल पनि एक युग बराबर हुदोरहेछ, जीवनमा धेरै आरोह, अवरोहहरु आए गए त्यसलाई मैले सामान्य रुपमा लिएको छु ।

मानिसमा विदेश जाने पैसा कमाउने सवैको चाहना हुन्छ नै तर विदेश जाने अवसहरु हुुँदा हुँदै पनि परिवारको ममताले ति अवसरहरुलाई त्यागी दिए किनकी मन आनन्द रहनु नै धन भन्दा ठुलो हुँदो रहेछ, परिवारहरुमा सधै हासी, खुसी र रमाईलो बातावरणले हाम्रो घर स्वर्ग झै थियो नै, तर समय परिस्थिति अनुसार मानिसले नसोचेको र नभोगेको पिडा भोग्नु पर्दोरहेछ, कहिले सोच्दै नसोचेको र पत्याउन पनि नसकिने अप्रत्यारिलो घटना मेरो जीवनमा घट्न पुग्यो !

मेरो २ छोरा मध्ये जेठो छोरा प्रमिश मास्टर इन होटल म्यानेजमेन्टमा पढ्दै छ, कान्छो छोरा आशिष पुतलीसडक स्थित नेसनल कलेज अफ एकाउन टेंसी अफ चार्टर सरटिफाईड (दुई वर्ष अगाडी) पढ्दै गरेको अवस्था थियो, दुवै छोराको पढाईप्रति मलाई गर्व थियो तर विधिको विधान भाविले लेखेको मेटेर मेटिन्न रहेछ, कान्छो छोरा अशिष जसलाई ज्वरो आएको कारण कंलकी स्थित शहिद मेमोरियल अस्पतालमा फिजिसियन डा. कुमार रोक्कासँग जाच गराउँदा साधारण ज्वरो भएकोले सिटामोल दिइयो, उक्त औषधिले ज्वरो कम भएन र पुनः जाच तथा रगत परिक्षण गर्दापनि ज्वरो निको हुनसकेन तत्पश्चात टाइफाईट ज्वरोको आशंकामा छोरालाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गराईयो, ज्वरो भएको कारण चिकित्सकको सल्लाह अनुसार त्यस अस्पतालमा भर्ना गरियो, तत्पश्चात छातिको एक्सरे तथा दिसा, पिसाव परिक्षण छोरा आफैले गरेको थियो ।

विहान करिव ११.०० बजेको थियो, छोराले कालो चिया, विस्कुट तथा दालखाए पश्चात रगत परिक्षणका लागि नर्सले रगत झिक्ने क्रममा छोरालाई अचानक कामज्वरो आयो, विस्तारै विस्तारै कामज्वरो बढ्दै जानुका साथै ज्वरो १ सयबाट बढ्दै गएर १ सय १, २ ,३ र ४ हुँदै ६ पुग्यो, तत्पश्चात ज्वरो कम गर्न सूईबाट औषधि प्रयोग गरियो तर त्यसबाट केहि हुन सकेन झन् उनको ज्वरो बढ्दै गयो र अक्सीजन दिईयो ।

छोरालाई गाह्रो भएको महुशसगरी मैले सोधेको थिए बाबु तिमिलाई गह्रो भएको छ ! उनले भने,जाडोमात्र भएको छ, छोरालाई त्यससमय कतिपिडा भयो होला तैपनि पिडा देखाउन चाहेन् उनको मुहारमा पिडा र वेदानको कुनै लक्षण देखिएको थिएन हसीलो र चम्किलो अनुहार नै थियो । केहि मिनेट पछि पुनः ज्वरो जाच गर्दा १ सय ७ र ८ पुग्यो, साधारण विरामी १ घण्टाको विचमा नै यस्तो अचेत अवस्थामा पुग्यो, कस्तो आश्चार्य भयो ? यो कस्तो किसिमको रोग हो ? यो के कारणले हुन सक्छ ? यसको चिकित्सकसँग कुनै उत्तर थिएन ।

छोराको चिन्ताजनक अवस्था भएकोले तुरुन्त एम्बुलेन्स मार्फत थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा पु¥याईयो, त्यहा इमरजेन्सीमा जाच गर्ने क्रममा छोरोको अवस्था चिन्ताजनक भएपनि उनको उम्मेर अनुसार सुधार हुने आश्वासन चिकित्सकबाट पाएको थिए । चिकित्सकको भनाईबाट मलाई मनमा कुनै शंका थिएन किनकी मैले पुज्ने सम्पूर्ण भगवान पुकारेको थिए र दिनहुँ पाठ गर्ने हनुमान चालिसा पढ्दै स्वास्थ्यलाभको कामना गरेको थिए मलाई भगवानप्रति पूर्ण विश्वास थियो ।

इमरजेन्सीबाट आधाघण्टापछि आई.सि.यू.मा लगियो त्यतिवेलासम्म छोरालाई केहि हुँदैन भन्नेमा म ढुक्क थिए, तर दैवको अगाडी मेरो केहि लागेन ! आई.सि.यू.मा राखेको करिव आधाघण्टापछि हस्पीटलले छोराको मृत्यु भएको घोषणा ग¥यो ।

म सिताङ्ग भए, केहि बोल्न सकिन, मस्तिष्क चेतनशुन्य भयो, छाँङगाबाट खसेझै भई मूर्छित भए, केहिबेरमा होस आए पछि छोराको नजिक गए,उनले हाँसेर भने जस्तो लाग्यो बाबा म यो पापी र दुःखको संसारदेखि आजबाट टाडा जादैछु, अनन्त टाडा……….मेरो आँखाबाट बलिन्द्र आँसुको धारा बग्यो, तर मेरो रुवाईको चित्कार थिएन, छोरालाई अंगालोहाली विक्षिप्त हुँदै गोडा समाउँदै भने बाबु जिवनमा मैले धेरै भगवनलाई पुजे तर भगवान कहिले भेट्न सकिन, जव भेटे तव ढिलो भइसकेको रहेछ । हो छोरा तिमी भगवान रहेछौं तर चिन्न सकिन मलाई माफ गर l

छोराको मृत्युको खवर पाउँदा नर्भिक अस्पताल परिसरमा परिवार, आफन्तजन, साथीभाईहरुको आगमनले अस्पतालमा भिड बढीरहेको थियो, साधारण ज्वरोमा पनि मृत्यु हुनुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको चरम लार्परवाही हो भन्ने निष्कर्ष निकाल्दै आक्रोेशमा टेकु अस्पतालको चिकित्सकसँग जवाफ माग्न खोज्ने आफन्तहरुलाई हातजोड्दै भनेको थिए ………जे जस्तो हुनु भईसक्यो अव कुनै प्रयासबाट पनि मेरो मृत छोरा जिवित हुन सक्दैन यसर्थः छोराको लाशलाई आर्यघाट लैजाने तायरीको लागि आग्रह गरे तत्पश्चात अस्पतालबाट छोराको मृत लाशलाई त्रिवेणीघाट दहचोकमा लगियो ।

कस्तो विड्म्बना ! विहान चियानास्ता खाई मोटरसाईकलमा सँगै जचाउन हिडेको छोरा केहि समयको अन्तरालमा मृत्यु भएको सुन्नु पर्दाको अवस्था, चित्तामा दागवत्ति दिनु पर्दाको अवस्था र दन्किदो आगोमा छोराको लाशलाई टुलु टुलु हेर्नु पर्दाको अवस्था एउटा बाबुले शब्दमा वर्णन गर्न कसरी सक्छ ? यो अवस्थामा म र मेरो परिवारजनलाई कस्तो बज्रपात हुन पुग्यो ? एकपटक कल्पना मात्र गर्नुस् ?

हे भगवान ! मलाई जस्तो पिडा ज्यानमार्ने शत्रुलाई पनि भोग्न नपरोस्……कान्छो छोरा आशिष घर–परिवार र आफन्तजनको मात्र होइन उनका साथीसंगी सबैको लागि प्रेरणाको श्रोत थियो, उनले जन्मेदेखी मृत्युसम्म कोहि कसैलाई पिडाबोध हुने काम गरेनन्, दुःख, कष्ट दिने काम गरेन्, कसैसँगपनि झै–झगडा गरेन् सबैको भलाई नै गरे र सबैको मन मष्तिस्कमा बसी, अन्तमाः सबैलाई रुवाएर कलिलो उमेरमा नै यो पापी संसारबाट सदाको लागि विदा लिन पुग्यो । छोरा आशिषले साढे २ वर्षदेखी पढाई सुरु गरेको थिए, पढाईको सुरुवातदेखी १२ कक्षाको परिक्षासम्म विशिष्ठ श्रेणीमा उतिर्ण गरेको थियो ।

उनको उत्कृष्ट पढाईले गर्दा साढे चार वर्ष भित्र चाटर्ड एकाउन्टेन बन्ने उनको लक्ष्य पूरा हुनेमा कुनै शंका थिएन हामी ढुक्क थियौं, उनको पढाई लगाएत अन्य कृयाकलाप जस्तै : फुटवल, व्याटम्याटेन, टेवुलटेनीस, गायन, गितार, हास्य अभिनय र नृत्य सवैको लागि आकर्षक र लोभलाग्दो थियो नै । पढाई अलवा उनले हरेक दिन अशक्त विरामी आमा (उनको हजुरआमा) लाई खाना तथा औषधी खुवाउने लगाएत दिसा, पिसाव सरसफाई गर्ने समेत उनको दिनचार्य नै थियो । सानो उम्मेरमा नै सम्पूर्ण व्यावहारीक ज्ञान भएको होनाहार छोरा गुमाउनु पर्दाको पिडा कसरी सहुँ म !

जब आँखै अगाडी मृत्यु एउटा कठोर यथार्थ बनेर ठिङ्रिङ्ग उभिदिन्छ एक मुट्टी सास हुलुक्क हुन त्यति गह्रो नहोला जति परिवारको मायाँ सम्झेर गाह्रोहोला । कल्पनामा पनि नचिताएको घटना जब वास्तविकतामा नै घटदछ तब हामी आश्चर्यचकित हुन्छौं । यस्ता आश्चार्यजनक घटना सुखद र सकारात्मक भए त राम्रै हो तर दुखद् प¥र्यो भने पिडित पक्षको हालत के होला ? हो मेरो जिवनमा फेरी अर्को दुःखद घटना हुन पुग्यो । कान्छो छोराको मृत्यु भएको डेढवर्ष पछि ममतामयी माताको मृत्यु हुन पुग्यो । विज्ञानले धेरै यन्त्रहरु बनाए मुटुको धड्कन नाप्ने, तौल नाप्ने, भल्व नाप्ने, रगत जाच्ने र तिनीको नियन्त्रण गर्न औषधी बनायो, तर हृदयमा लागेको चोटलाई नियन्त्रण गर्न कुनै उपकरण बनाउन सकेन, यदी सकेको भए मलाई परेको चोट विज्ञानको नियन्त्रण बाहिर हुन्थ्यो होला….

जीवनमा आमासँगै बस्न पाउनु जतिको खुसी र भाग्यमानी व्यक्ति अरुकोहि पनि हुन सक्दैन, त्यो मैले प्रत्यक्ष अनुभूति गरेको छु । सानोछँदा आमाको काँखमा शिर राखेर सोधेको थिय, आमा कहिलेसम्म मलाई काखमा सुत्न दिनुहुन्छ ? आमाले भनुभएको थियो, जबसम्म मलाई अरुले आफ्नो काँधमा उठाउँदैनन् तवसम्म छोरा, आमाका ति कुराले विछ्प्त हुँदै आमाको काँखमा घोप्टो परि रोयको थिय । दैवको लिलापनि अचम्मको हुँदो रहेछ, काँखमा शिर राख्न दिनुहुने आमालाई आफ्नै काँधमा उठाउनु पर्दा यो छोराको मन कति दुःखेको होला ? जसको कोहिपनि हुँदैन, उसको भगवान हुन्छ भन्थे तर जसको भगावान पनि हुन्न उसको को हुन्छ ………?

यसर्थः भगवान मलाई अलिकति मात्र मुस्कुराउने आशा जगाई दे ? रुन त मैले जन्मिने वितिकै सिकेको छु !

 

प्रतिक्रिया