एक साताभित्र मलेसियामा ४ नेपालीको मृत्युु

इनेप्लिज २०७२ चैत २४ गते ३:१४ मा प्रकाशित

Malaysia_429036745

क्वालालम्पुर, २२ चैत । मलेसियामा यो हप्ता ४ जना नेपालीले ज्यान गुमाएका छन् । गत मंगलबार भएको सवारी दुर्घटनामा २ जना नेपालीको ज्यान गएको थियो भने अन्य दुइ जनाको आकस्मिक मृत्युु भएको हो । मलेसियाको काजाग भन्ने ठाउँमा मंगलबार राति भएको सवारी दुर्घटनामा गोरखा बुङकोटका अन्दाजी ३४ वर्षका रामशरण थापा र मोरङ सलकपुर घर भएका अन्दाजी २४ वर्षका लोकमान कार्कीले ज्यान गुमाएका थिए । पाँचँजना चढेको कार सडक दुर्घटनामा परेको हो । घाईते भएका अन्य तीन जनाको काजाग अस्पतालमा उपचार गरीएको थियो । दुबै जनाको शव सेर्डाङ् अस्पतालमा पोष्टमार्टम गरिएको छ । यस्तै ड्युटी जाँदै गर्दा बाटोमा लडेर अर्का एक नेपालीको घटनास्थलमै ज्यान गएको छ । मलेसियाको क्वालालम्पुर नजिकै किरिन्चीमा बिहीबार बिहान करिब सात बजे ड्युटी हिंडेका निस्दी –३, वाग्लुङका ३५ वर्षिय धनबहादुर बुढा मगरको घटनास्थलमै ज्यान गएको हो । काम गर्नको लागी कम्पनीतर्फ जाने गाडी चढ्न लाग्दा उनी सडकमा एक्कासी लडेका थिए । लड्दा उनको शरिरको अगाडिको भाग सिमेण्टको प्लास्टरमा परेको थियो । साथीहरुले उठाउने प्रयास गर्दागर्दै घटनास्थलमै उनको ज्यान गएको बताइएको छ । बुढा मगर छ महिना अगाडि मात्र मलेसिया आएका थिए । बुढामगर, आरसी इन्जीनियरिङ कम्पनीमा कन्ट्रक्सनको रुपमा काम गर्दै आएका थिए । उनको शव क्वालालम्पुरस्थित यूनिभर्सिटी अस्पतालमा पोष्टमार्टम गरिएको छ । त्यसैगरी मलेसियाको जोहर राज्यको पीटीपीमा रहेको फ्लेक्स ट्रोनिक कम्पनीमा कार्यरत बर्दियाका सोम बहादुर मगरको सुतेको अवस्थामै मृत्यु भएको छ । ड्यूटीबाट फर्केर कोठामा सकुशल सुतेका मगर शनिबार बिहान अबेरसम्म नउठेपछि उनलाई बोलाउन गएका साथीले मृत अवस्थामा भेटेको उनकै कम्पनीमा कार्यरत मोरङका कमल आचार्यले जानकारी दिए । मगरको शव जोहरको सुल्तान अस्पतालमा पोष्ट मार्टम भैसकेको छ । पछिल्लो समय मलेसियामा सुतेकै अबस्थामा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया