मदन स्मृति सङ्ग्रहालय निर्माण द्रुतगतिमा

इनेप्लिज २०७२ चैत २४ गते २:४० मा प्रकाशित

उर्लाबारी (मोरङ), २४ चैत । मोरङको उर्लाबारी–६ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा मदन भण्डारी स्मृति सङ्ग्रहालयको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ ।

आगामी वर्षभित्रमा सम्पन्न हुने गरी निर्माण भइरहेको सङ्ग्रहालयमा स्व जननेता मदन भण्डारीले प्रयोग गरेका सामग्री, उहाँका लेख, आलेख, दस्तावेजका साथै दासढुङ्गा दुर्घटनामा परेको जिपलाई पनि राखिनेछ । उहाँको जन्मदेखि मृत्युसम्मका अवस्था, ताप्लेजुङको ढुँगेसाँघु, मोरङको इटहरा, वनारस, दासढुङ्गासम्मको भौगोलिक अवस्था, उहाँले बोलेका अडियो र भिडियोसमेत सङ्ग्रहालयमा राखिने जनाइएको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा विगत चार वर्षदेखि प्रतिष्ठानले सङ्ग्रहालयका साथै पुष्पवाटिका तथा बालउद्यान निर्माण गरिरहेको छ । यस वर्ष पनि सो मन्त्रालयअन्तर्गत पुरातत्व विभाग र पर्यटन कार्यालयको सहकार्यमा निर्माण कार्य भइरहेको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले बताउनुभयो । सङ्ग्रहालय निर्माणका लागि पुरातत्व विभागले यो वर्ष ३० लाख रुपैयाँको बजेट छुट्याएको प्रतिष्ठानका सामुदायिक विकास अधिकृत रुद्रबहादुर तामाङले जानकारी दिनुभयो ।

हाल सङ्ग्रहालयमा करिब ७० प्रतिशत, पुष्पवाटिकामा ६० प्रतिशत र बालउद्यानमा १० प्रतिशत निर्माण सम्पन्न भइसकेको प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालय, पुष्पवाटिका र बालउद्यान निर्माणका लागि अहिलेसम्म संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत रु एक करोड १० लाख र प्रतिष्ठानको ५० लाख रुपैयाँ खर्च भईसकेको छ ।

सो योजना निर्माण सम्पन्न भएसँगै सर्वसाधारणका लागि खुल्ला गरिनेछ । स्व जननेता भण्डारीको जीवनको विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले तथा उहाँले दिएको योगदानलाई जीवन्त राख्न सङ्ग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया