उदाहरणीय व्यक्तित्व बन्दै अपाङ्ग

इनेप्लिज २०७२ चैत २३ गते ७:५४ मा प्रकाशित

पथरी (मोरङ), २३ चैत । दृष्टिविहीनले घर परिवार पाल्न सक्छ ? कसैले तपाईलाई प्रश्न गरे तपाई सहजै भन्नु हुन्छ, सक्दैन ।

तर तपाईको जवाफ गलत सावित हुनेछ । किनभने मोरङको विराटनगरका एक ३९ वर्षीय चिरन्जीवी शर्मा जन्मिँदै दृष्टिविहीन हुनुहुन्छ । तर उहाँले आफूले काम गरेर १४ वर्षीया एक छोरी र ११ वर्षीय छोरा, आफू र श्रीमती पाल्दै आउनुभएको छ ।

उहाँ सीमावर्ती बजार जोगबनीबाट होलसेलमा सामान खरिद गरेर विराटनगरका व्यापारीलाई सामान सप्लाइ गर्ने काम गर्दै आउनुभएको छ । शर्मा दैनिक कठोर शारीरिक श्रम गर्नु हुन्छ । उहाँ नियमितरुपमा विराटनगरको रोडशेषचोकबाट भारी बोकेर जनआन्दोलन चोकमा रहेको होलसेल पसलमा अर्डरको सामान पुर्‍याउन जाने गर्नुहुन्छ । उहाँ दैनिक जोखिमपूर्ण अवस्थामा भारी बोकेर विराटनगरको मेनरोडका विभिन्न किराना पसलमा सामान पुर्‍याउनु हुन्छ ।

उहाँ परिवारको गर्जाे टार्न यस्तो कठोर श्रम गर्नुपरेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “आफूले संसार देख्न नपाए पनि छोराछोरीलाई बोर्डिङ स्कुल पढाएको छु ।” उहाँका छोराछोरी विराटनगरको एभरेस्ट बोडिङ स्कुलमा पढ्दै आएका छन् ।

दृष्टिविहीन भएपनि उहाँ त समाजको एउटा उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । उहाँजस्तै उदाहरणीय पात्र विराटनगरमा धेरै छन् । अर्का उदाहरणीय पात्र हुनुहुन्छ विराटनगर–११ मा डेरा गरी बस्दै आउनुभएका ४८ वर्षीय राम लिम्बू । उहाँले विराटनगरको अस्पताल चोकमा साइकल मर्मत केन्द्र खोल्नुभएको छ ।

उज्यालो हुन नपाउँदै वैशाखीको सहारामा विराटनगरको अस्पताल चोक आइपुग्नु हुन्छ । बेलुका मर्मतका लागि आएका साइकल मर्मत गर्न थाल्नु हुन्छ । लिम्बूले यसरी मर्मत गरेर दैनिक ४/५ सय रुपैयाँ कमाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले सवारी दुर्घटनामा २० वर्ष अगाडि खुट्टा गुमाएर अपाङ्गता वरण गरेपछि सो मर्मत केन्द्र खोलेर जीवन चलाउँदै आउनुभएको छ ।

उहाँहरुमात्र होइन विराटनगरका अर्का चेतप्रसाद ढुङ्गाना अर्का अपाङ्गता वरण गर्नुभएका व्यक्ति हुनुहुन्छ । ढुङ्गानाले २०५८ सालमा सवारी दुर्घटनामा परेर खुट्टा गुमाएपछि विराटनगरमा चिया पसल खोल्नुभएको छ । वैशाखीको सहारामा उहाँ सबै काम गरेर सो पसलबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । उक्त चिया पसलको आम्दानीबाट बालबच्चालाई भरणपोषण गर्ने र शिक्षादिक्षा दिने काम गरिरहनुभएको छ । तर आत्मबल भएका उदाहरणीय व्यक्ति सपाङ्गभन्दा कम छैनन् ।

थलाहाका रामकृष्ण पराजुली र बाबुराम चौधरीजस्ता अपाङ्गता वरण गरेका तर कर्मठ व्यक्तिको दिनचर्या यस्तै प्रकारले बित्ने गरेको छ । उहाँहरु जस्ता धेरै अपाङ्ता भएका व्यक्ति सपाङ्गजस्तै हरेक क्षेत्रको काममा उत्तिकै दख्खल राख्ने गरेका पाइन्छन् ।

माथि उल्लेख गरिएका व्यक्ति अरु अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाका स्रोतको गतिलो उदाहरणको रुपमा प्रस्तुत हुनुभएको छ ।

प्रतिक्रिया