अटिजम भएको थाहा पाउन १५ वर्ष लाग्यो…

इनेप्लिज २०७२ चैत २१ गते १:४६ मा प्रकाशित

काठमाडौँ, २१ चैत । जन्मँदा सामान्य रुपमा जन्मिएको छोरा व्यवहार सामान्य बच्चाको जस्तो नहुँदा गोरखा ताप्ले गाविस–२ की निर्मला श्रेष्ठले निकै दुःख पाउनुभयो ।

के कारणले छोराको शारीरिक विकाससँगै बोली संवादको विकास नभएको हो भनी उहाँहरुलाई थाहा पाउन पनि कठिन भयो ।

अरु बच्चाले जस्तो दोहोरो संवाद नगर्ने, आफ्नो उमेर समूहका बालबालिकासँग नखेल्ने, घाउ, चोटपटक तथा दुःखाइप्रति वास्ता नगर्ने गरेपछि उहाँले उमेर बढ्दै गर्दा ठीक होला भनी बसेको सम्झनुहुन्छ ।

उहाँले भन्नुभयो – ‘‘बाबुको यस्तो व्यवहार के हो भनी थाहा पाउन हामीलाई १५ वर्ष लाग्यो । स्कुल भर्ना गरेपछि पनि उसको व्यवहार असामान्य भएपछि त्यहाँ भर्ना लिन मानेनन् । पछि हामीले टिचिङमा देखाएपछि अटिजम भएको पत्ता लागेको हो ।” अहिले उहाँको छोराको उमेर १८ वर्ष भएको छ ।

यस्तै भोगाइ छ अञ्जना महराको पनि । आफ्नो कान्छो बच्चाको उमेर वृद्धिसँगै हुनुपर्ने शारीरिक विकास भए पनि संवाद नगर्ने, एक्लै बस्ने, बोलाउँदा वास्ता नगर्ने भएपछि चिकित्सकलाई देखाउँदा अटिजम भएको पत्ता लागेको अनुभव सुनाउनुहुन्छ । तीन वर्षको हुँदा उहाँले छोरालाई अटिजम भएको थाहा पाएपछि विशेष ख्याल राखेको बताउनुभयो । हाल उहाँको छोराको उमेर १४ वर्षको छ ।

जापानमा बस्दा जन्मेको छोराको वृत्तिविकास नभएपछि सुनिता प्याकुरेल छोरालाई लिएर नेपाल फर्किएको अनुभव सुनाउनुहुन्छ । पेसाले नर्स भए पनि उहाँले बच्चाको अवस्थाकै कारण दिल्लीमा गएर यस्ता व्यक्तिलाई गरिने व्यवहारसम्बन्धी विशेष तालिम लिएर आउनुभयो । उहाँ अहिले समाजमै सहयोगी प्रशिक्षकका रुपमा काम गरिरहनुभएको छ ।

घरपरिवार, समाजले यस्ता व्यक्तिलाई गर्ने व्यवहारले निकै समस्या पारेको अटिजम भएका अभिभावकको भनाइ छ ।

कतै लिएर हिँड्न पनि समस्या छ । कतिले यस्ता व्यक्तिलाई पागल भनी भन्दा अभिभावकको मन निकै दुख्ने गरेको पनि अनुभव छ निर्मलाको ।

अटिजम स्नायु प्रणालीको असन्तुलनबाट उत्पन्न भएको विकासक्रम अवरोधसम्बन्धी जन्मजात रोग हो । अथवा अटिजम जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो ।

यसलाई मस्तिष्क विकासको विकार भनिन्छ । यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ । यो बच्चा तीन वर्षको हुँदा प्रष्ट रुपमा थाहा पाउन सकिन्छ र जीवनभर रहन्छ । यसका लक्षण फरक फरक किसिमका हुन्छन् ।

तर मुख्य तीन कारण भने बुझ्न र प्रयोग गर्न कठिनाइ, सामाजिक सीप बुझ्न र प्रयोग गर्न कठिनाइ र दोहो¥याएर गर्ने व्यावहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु हुन् । यसको कुनै मेडिकल उपचार नभएकाले विशेष थेरापी नै यसको उपचार विधि हो ।

अटिजम मानसिक र बौद्धिक अपाङ्गता नभए पनि ४० प्रतिशत अटिजम भएका व्यक्तिमा बौद्धिक कमजोरी भने देखिएको बताउनुुहन्छ अटिजम केयर नेपाल समाजका अध्यक्ष डा सुनिता मलेकु अमात्य ।

तर उनीहरुलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यकता भएको चिकित्सकको भनाइ छ ।

उहाँ भन्नुहुन्छ – ‘‘अटिजम भएका मानिसहरु असहज व्यवहारका कारण अटिजम रोगीहरु सामाजिक रुपमा सामान्य जीवन बिताउन सक्दैनन् । उनीहरुलाई विशेषखालको स्याहार र व्यवहारको खाँचो पर्दछ ।’’

अजिटम केयर नेपाल समाज यस्तै समस्या भएका बालबालिकाका अभिभावकद्वारा सञ्चालित एक क्रियाशील संस्था हो । यसले नेपालमा अटिजम भएका व्यक्ति र उनका अभिभावकलाई यसबारे विभिन्न तालिम, थेरापीबारे ज्ञान र जानकारी प्रदान गर्दै आएको छ ।

यस संस्थामा महिनामा ६० देखि ८० जनासम्म बालिबालिका थेरापीका लागि आउने गरेको अध्यक्ष डा अमात्यले बताउनु भयो ।

हालसम्म अटिजम रोकथामका लागि कुनै ठोस विधि पत्ता लागेको छैन । अटिजमको कुनै निदान नभए पनि सही थेरापीद्वारा उनीहरुको अवस्थामा धेरै सुधार ल्याउन सकिने बताउनुहुन्छ समाजका अभिभावक प्रशिक्षक कृपा श्रेष्ठ ।

अटिजमको कुनै आधिकारिक तथ्याङ्क नभए पनि नेपालमा सबै उमेर समूहका गरी तीन लाख अटिजम भएका व्यक्ति हुन सक्ने बताउनुुहुन्छ अध्यक्ष डा अमात्य ।

संयुक्त राष्ट्र सङ्घले सन् २००८ अप्रिल २ तारिखलाई ‘विश्व अटिजम जनचेतना दिवस’का रुपमा मनाउने निर्णय गरेको छ । यो सचेतना दिवस नेपालमा पनि मनाउने गरिएको छ ।

प्रतिक्रिया