बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ११:४३
वासिङटन डिसी 01:58

आगामी कदम प्रगति र समृद्धिको हुने: सभामुख घर्ती

इनेप्लिज २०७२ चैत २० गते १६:१३ मा प्रकाशित

onsari-gharti-magar-finalसुरुङ्गा (झापा), २० चैत । सभामुख ओनसरी घर्ती मगरले अझै पनि देश सङ्क्रमणकालको चरणमा रहेकाले दलहरुबीचमा आपसी एकता कायम हुनुपर्ने बताउनुभएको छ ।

मधेसमा भइरहेको आन्दोलन अझै पनि किनारा लाग्न नसकेको बताउँदै सभामुख घर्तीले नेपाली–नेपालीबीचमा एकता र सद्भाव मुलुकको पहिलो आवश्यकता हो भन्नुभयो ।

अन्तरपार्टी महिला सञ्जाल झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘संविधानमा महिला सहभागिताको अवस्था, महिला अधिकार र स्थानीय निकायको निर्वाचन’ विषयक कार्यक्रममा बोल्दै उहाँले आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा वार्ता र संवादकै माध्यमबाट समस्याको निकास खोज्नुपर्ने बताउनुभयो ।

संविधान संशोधनको बाटो खुल्लै भएकाले मधेसमा देखिएका समस्या समाधानका लागि दलहरुबीच बार–बार वार्ता भइरहेकाले मुलुकले छिट्टै निकास पाउने आफूले विश्वास लिएको उहाँले बताउनुभयो । देशलाई चाहिएको पहिलो कुरा भनेको एकता हो भन्दै सभामुख घर्तीले भन्नुभयो –“सबै नेपाली एक भएर अघि बढे नेपालले छिट्टै विकास निर्माणमा फड्को मार्छ ।”

अहिले देशको विकास गर्न सबै दल एक ठाउँमा भएर अघि बढिरहेको हुँदा देश छिट्टै समृद्धिको बाटोमा जाने सभामुख घर्तीको भनाइ थियो । “आगामी हाम्रो कदम प्रगति र समृद्धिको हुनेछ”, सभामुख घर्तीले भन्नुभयो ।

अन्तरपार्टी महिला सञ्जाल झापाकी अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका बीच सभामुख घर्तीलाई नागरिक अभिनन्दनसमेत गरिएको थियो ।

समारोहमा सांसद रवीन कोइराला, अन्तरपार्टी महिला सञ्जाल झापाको भवन निर्माणार्थ जग्गा प्रदान गर्ने दाता टुङ्गबहादुर बस्नेत, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, एकीकृत नेकपा (माओवादी) झापाका इञ्चार्ज झलकसिंह दर्लामी ‘सन्देश’ सहित राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला विकास समिति झापा तथा बिर्तामोड र मेचीनगर नगरपालिकालाई पनि भवन निर्माणमा उल्लेख्य सहयोग पु¥याएको भन्दै सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया