उपक्षेत्रीय अस्पतालमा सेवा विस्तार

इनेप्लिज २०७२ चैत २० गते ३:४९ मा प्रकाशित

डडेल्धुरा, २० चैत । उपक्षेत्रीय अस्पताल डडेल्धुराले छोटो समयमा आफ्ना सेवा विस्तार गरी उपचार सेवालाई प्रभावकारी बनाएको छ ।

अस्पताल व्यवस्थापन समिति गठन भएसँगै आठ महिनामा ५६ हजार ३५२ विभिन्न रोगका बिरामीको उपचार गरिएको अस्पतालले जनाएको छ ।

कुनै बेला समान्य रोगको पनि उपचार दिन नसक्ने अवस्थामा रहेको उक्त अस्पतालले हाल १८ चिकित्सकलगायत अन्य १०२ जना कर्मचारीले सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले बताउनुभयो ।

पहाडी छ वटा जिल्लाको एकमात्र क्षेत्रीय अस्पतालले दिने सेवा विस्तार भएसँगै यस क्षेत्रका बिरामी लाभाविन्त भएका छन् । उपक्षेत्रीय अस्पतालबाट भनेजस्तो सेवा पाएपछि सामान्य बिरामी उपचारका लागि धनगढी, नेपालगन्ज तथा भारत जानुपर्ने समस्याबाट मुक्त भएका छन् ।

अस्पतालमा हिजोका दिनमा भएको लापरबाही नदोहोरिने र बिरामीको उपचारलाई मध्यनजर गरेर दरबन्दीअनुसार शल्यचिकित्सक (सर्जन), कर्मचारी, थप दरबन्दी र चिकित्सकको व्यवस्था गरिने अध्यक्ष सिंहले बताउनुभयो ।

सरकारले करिब दुई वर्ष आगाडि यस अस्पताललाई उपक्षेत्रीय अस्पताल घोषणा गरेको थियो । तर लामो समयसम्म दरबन्दीअनुसार चिकित्सक हाजिर नहुँदा अस्पताल बोर्डमा मात्र सीमित रहेको थियो ।

वोर्डमा सिमित रहेको अवस्थामा नेपाल सरकारले गरेको निर्णयले उपक्षेत्रिय अस्पतालमा सुधार भईरहेको र विरामीले सेवा पाईरहेको अस्पतालका मेडिकल सुपरिडेन्ट डा. अनिल यादवले वताउनु भयो ।

उक्त अस्पतालमा १०० शय्या भएको भवन छिट्टै निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया