जलवायुको विषय कार्ययोजनामा समेटिनुपर्ने

इनेप्लिज २०७२ चैत १७ गते २:४२ मा प्रकाशित

नेपालगन्ज, १७ चैत । स्थानीय तहको योजना तर्जुमा गरिँदा जलवायु अनुकूलताको विषयलाई पनि कार्ययोजनामा समेट्नुपर्नेमा जोड दिइएको छ ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन समानुकूलन नमूना कार्यक्रमअन्तर्गत मङ्गलबार यहाँ आयोजित छदिने ‘जलवायु परिवर्तन र समुदायमा आधारित अनुकूलन योजना तर्जुमा’ विषयक तालिमका सहभागी वक्ताले जलवायुले पार्ने प्रतिकूल प्रभाव कम गर्न सरोकारवाला निकाय गम्भीर हुन जरुरी भएको धारणा राख्नुभयो ।

सामूहिक अभियानका मुख्य प्रशिक्षक दीपक श्रेष्ठका अनुसार समुदायमा जागरण, कार्यगत एकरुपता, जनवकालत र स्थानीय तहमा स्रोतव्यक्ति तयार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । तालिम अवधिभर सहभागीलाई जलवायु परिवर्तनको अवधारणा, जलवायुले पारेका असर, समाधानका लागि भएका प्रयास, अनुगमन, मूल्याङ्कन तथा स्थलगत अभ्यास सिकाइनेछ ।

बाँके जिल्लास्थित वन, पशु, कृषि, वनस्पति, खानेपानी, स्वास्थ्य, शिक्षा, महिला विकास कार्यालय, स्थानिय निकाय, पत्रकार र स्थानीय सञ्जालका गरी २८ जनाको तालिममा सहभागिता रहेको छ ।

तालिम शुभारम्भ समारोहमा स्थानीय विकास अधिकारी जीवलाल भुसालले मानवीय व्यवहारका कारण सङ्कटमा पर्दै गएको जलवायुलाई समुदाय अनुकूल बनाउन योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया