बिस्केट जात्रा २७ गतेबाट, भैरव भद्रकालीको रथ निर्माण सुरु

इनेप्लिज २०७२ चैत १५ गते १२:२२ मा प्रकाशित

भक्तपुर, १५ चैत । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य तौमढीमा सुरु भएको छ ।

तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिनुभयो । भैरवसँगै भद्रकालीको रथ पनि अबको १० दिनभित्र निर्माण गरेर रङरोगन गरिसक्ने उहाँले उल्लेख गर्नु भयो ।

रथको चक्कालगायतका धेरै काठ पुराना भए पनि यस वर्ष सबै काठ फेर्न नसकिने हुनाले अत्यावश्यक केही काठ फेर्ने र अरु पुरानै काठलाई बलियो गरेर मर्मत गरिने प्रमुख सापकोटाले बताउनुभयो । रथ निर्माणका लागि यस वर्ष रु छ लाख लाग्ने जानकारी दिँदै सापकोटाले बिस्केट जात्राको लागि करिब रु २५ लाख खर्च हुने बताउनुभयो ।

लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको छ ।

भूकम्पका कारण रथ लैजाने रुटको धेरै घरमा टेको लगाइएको कारण यस वर्ष चैत २७ गतेबाट सुरु हुने बिस्केट जात्राको रथ लैजाने रुट छोट्याउनेबारे स्थानीय बासिन्दा, सरोकार निकाय र प्रशासनबीच छलफल भइरहेको छ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य गरी सुरुको दिन तौमढीमा रथ तान्ने, चैत्र मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहितको लिङ्गोे उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते तौमढीमा भैरवको रथ तानेर मनाउने गरिन्छ ।

विसंअनुसार सौरमासको आधारमा चल्ने बिस्केट जात्रा बिःसीतअर्थात् नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ । जात्रा वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भित्राएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ ।

प्रतिक्रिया