बाबियाचौर (म्याग्दी), १४ चैत । म्याग्दीमा सञ्चालित छात्रावास, ट्युसन र कोचिङ सेन्टर कानुनी दायरामा आउन सकेका छैनन् । होटलका रुपमा दर्ता भएका छात्रावासमा शिक्षा कार्यालयको स्वीकृतिबिना ट्युसन, कोचिङ कक्षा सञ्चालन भएको हो ।
सम्बन्धित निकाय तथा सरोकारवालाहरुको बेवास्ता र सञ्चालकको लापर्बाहीका कारण शिक्षासम्बन्धी ऐन नियम विपरीत सञ्चालित छात्रावास, ट्युसन र कोचिङ सेन्टरको मनोमानी बढेको छ ।
कानुनी प्रक्रिया पूरा नगरीकन सदरमुकाम बेनीमा सञ्चालित छात्रावासले शैक्षिक क्षेत्रमा विकृति बढाउनुका साथै महँगो शुल्कका कारण विद्यार्थी र अभिभावक मर्कामा परेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।
अनुमतिबीना सञ्चालित छात्रावास, ट्युसन र कोचिङ सेन्टरको अनुगमन तथा नियमन गर्न माग गर्दै म्याग्दीमा क्रियाशील नेविसङ्घ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले चैत ३ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको पौडेलले बताउनुभयो ।
छात्रावास सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयमा रु दुई लाख घरौटी राखेर आवश्यक मापदण्ड पूरा गर्नुपर्ने नीतिगत व्यवस्था छ । यसैगरी ट्युसन तथा कोचिङ सेन्टर सञ्चालन गर्न पनि रु ५० हजार धरौटी राखेर शिक्षा कार्यालयको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।
जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले म्याग्दीमा कसैले पनि छात्रावास, ट्युसन र कोचिङ कक्षा सञ्चालन गर्न अनुमति नलिएको बताउनुभयो । सामुदायिक विद्यालयमा ट्युसन पढाउन नपाउने कानुनी व्यवस्था पनि पालना भएको छैन । जसले गर्दा शिक्षामा व्यवसायीकरण र बेथिति मौलाएको छ ।
बेनीमा रहेका चारवटा व्यावसायिक होस्टेलका साथै ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले सञ्चालन गरेका छात्रावास पनि कानुनी प्रक्रियामा आएका छैनन् । होस्टल सञ्चालकहरु भने स्पष्ट कानुनी व्यवस्था नभएको र जिल्ला शिक्षा कार्यालयले बेवास्ता गरेकाले पटक पटक प्रयास गरे पनि शिक्षा कार्यालयबाट अनुमति पाउन नसकेको गुनासो गर्छन् ।
स्थानीयवासीको पहलमा खेलमैदान निर्माण सुरु
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बासिन्दाको पहलमा अञ्चलस्तरीय खेलमैदान निर्माण कार्य सुरु भएको छ ।
रत्नेचौर घर भई हाल विश्वका विभिन्न देशमा रहेका तथा देशभित्र पेसा व्यवसाय गर्ने रत्नेचौरवासीको पहलमा स्थानीय बुढोचौर खेलमैदान स्तरवृद्धि गर्न लागिएको हो । हाल डोजर लगाएर खेलमैदान सम्माउने काम भइरहेको छ ।
खेलमैदान निर्माणका लागि नगद जुटाउन हाल नेपालमै रेस्टुराँ व्यवसाय सुरु गरेका रत्नेचौरका दिनेश रावलले जापानमा रहँदा र अमेरिकामा रहेका राजु बोगटीले मिसन बुढोचौर खेलमैदान अभियान चलाएका थिए ।
अभियानमार्फत हालसम्म रु नौ लाख सङ्कलन भएको र बेनी नगरपालिका वडा नं १ को भौतिक पूर्वाधारतर्फको रु पाँच लाख बजेट पनि खेलमैदानलाई नै छुट्याइएको रत्नेचौर फुटबल क्लबका उपाध्यक्ष शङ्कर महतले जानकारी दिनुभयो ।
प्रतिक्रिया